arrow

राजनैतिक स्वतन्त्रता

जेठ पहिलो सातासम्म सत्ता छाड्ने तयारी गर्दै नेकपा एस

प्रचण्ड र ओलीको पेलाइ खाएर बस्न नसकिने बहुमत सांसदहरुको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सत्ता छाड्ने तयारी गरेको छ । बहुमत सांसदहरूले सत्ता गठबन्धनबाट बाहिर निस्कन पार्टी अध्यक्ष माधवकुमार नेपालाई दबाब दिएपछि सत्ता छाड्ने तयारी गरेको हो ।

‘सम्भवत हामी जेठको पहिलो साता यो सरकारबाट बाहिर निस्कन्छौ होला’, नेकपा एसका एक पदाधिकारीले भने । 

सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको सो पार्टीको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले सत्ता गठबन्धनबाट निस्कनुपर्ने सुझाव दिएका थिए । 

‘सरकारमा बसिरहनुपर्छ भन्ने छैन’, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने ‘अहिलेको अवस्थामा नेकपा एसलाई हेपिएको छ, यो राम्रो होइन भनेर हामीले पार्टी नेतृत्वलाई भनेका छाँै, सांसदहरुले पनि यही सुझाव दिनुभएको छ ।’

झण्डै चार घण्टा लामो बैठकमा पार्टीका सबै सांसदलाई धारणा राख्न समय दिइएको थियो । एकीकृत समाजवादीका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी १८ सांसद रहेका छन् ।

आफ्नो धारणा राख्ने क्रममा उपाध्यक्षसमेत रहेका राजेन्द्र पाण्डेले अहिलेको सत्ता गठबन्धनमा रहन नहुने धारणा राखेका थिए । उनी शुरुदेखिनै यो सरकारको विपक्षमा रहेका छन् ।

स्रोतका अनुसार मेटमणि चौधरी, प्रेम आले लगायतका सांसदहरूले पनि उपाध्यक्ष पाण्डेको भनाइमा समर्थन जनाएका थिए । 

सांसद आलेले सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्थाप्रति संकेत गर्दै यही गठबन्धनले सहयोग नगर्ने भएपछि सुदूरपश्चिममा कांग्रेसको साथ लिनुपर्ने बताएका थिए । 

सबै सांसदहरूको धारणा सुनेपछि अध्यक्ष नेपालले पनि सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नभएको निष्कर्ष सुनाएका थिए । 

एकीकृत समाजवादीको बैठकमा जसपा विभाजनबारेसमेत चर्चा भएको थियो । संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी गरेको विज्ञप्तिमा संसदीय दलमा कुनै समस्या नभएको बताएका छन् । 

‘यसबिचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’, विज्ञप्तिमा उल्लेख छ । 

कांग्रेससहितको वैकल्पिक गठबन्धन रोक्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाइदिएपछि नेकपा एसले अहिलेको गठबन्धनमा रहिरहन नसक्ने निष्कर्ष निकालेको छ । 

जसपा नेपालबाट फुटेको अशोक राईको जसपा पार्टीलाई निर्वाचन आयोगले मान्यतासमेत दिइसकेको छ । 

एस पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले कसको डिजाइनमा किन जसपा विभाजन गरियो, त्यसमा देशी विदेशी शक्तिको स्वार्थ के छ भन्ने कुरा समयक्रममा खुल्दै जाने बताउँदै एकीकृत समाजवादीले सरकारमा रहने वा नरहने विषयमा निर्णय लिन बैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो बैठक बोलाएको छ ।  

बैशाख ३१ गते र जेठ १ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकले भावी रणनीति तय गर्दै सरकारबाट बाहिरिने निर्णय गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ