arrow

सुनको खेल

मूल्य नघट्ने देखिएपछि व्यवसायीले नै बढाउन थाले सुनचाँदीको स्टक

बजारमा छैन चहलपहल, बैंकबाट धमाधम बिक्री हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने सम्भावना नदेखिएपछि सुनचाँदी व्यवसायीहरुले नै सुनको स्टक बढाउन थालेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले पछिल्लो समय वाणिज्य बैंकबाट धमाधम सुन किनिरहेका छन् । जबकि बजारमा सुन किन्न ग्राहकको चहलपहल भने ज्यादै कम छ ।

बैशाख दोस्रो हप्तापछि बिहेको लगन सकिएको छ । मूल्य बढेर सिजनमै कारोबार घटेको सुनको बजार अहिले ठप्पप्रायः छ । अहिले दैनिक ५ किलो सुन पनि बिक्री हुने अवस्था नरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।  

त्यसको विपरीत वाणिज्य बैंकहरुबाट भने राष्ट्र बैंकले तोकिदिएको कोटाकै हाराहारीमा सुनको बिक्री भइरहेको छ । नेपाल बैंकर्स संघका अनुसार अहिले दैनिक औसत १५ किलो दरले वाणिज्य बैंकहरुबाट सुन बिक्री भइरहेको छ । यो राष्ट्र बैंकले तोकेको कोटाको तीन चौथाइ बराबर हो ।

नेपाल राष्ट्र बैंकले अहिले वाणिज्य बैंकहरुलाई दैनिक २० किलोसम्म सुन आयात गर्न पाउनेगरी कोटा तोकिदिएको छ । सुन किन्ने नाममा विदेशी मुद्राको भण्डारण नघटोस् भन्ने उद्देश्यले सुनमा कोटा निर्धारण गरिएको हो । 

महासंघका अध्यक्ष शाक्य मूल्य बढ्ने अपेक्षा हुँदा माग हुनु स्वभाविक भएको बताउँछन् । पैसा हुने व्यवसायीले अहिले नै सुन किनेर राखेको हुनसक्ने बताउँछन् । अहिले व्यवसायीहरुसँग कति सुन छ भनेर एकीन गर्न भने नसकिने उनको भनाइ छ ।   

सुनको लगानीमा मुद्दतीभन्दा ५ गुणा बढी प्रतिफल

पछिल्लो तीन महिनाको अवस्था हेर्दा बैंकको मुद्दती खाताको ब्याजदर भन्दा सुनको लगानी झण्डै ८ गुणा बढी फाइदाजनक देखिएको छ । फागुन महिनाका लागि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती खाताको औसत ब्याजदर वार्षिक ७.७१ प्रतिशत थियो । यो भनेको तीन महिनामा २.५७ प्रतिशतको प्रतिफल हो । 

तर, सुनको मूल्य भने पछिल्लो तीन महिनाको बीचमा लोभलाग्दो तरिकाले बढिरहेको देखिन्छ । महासंघको तथ्यांक अनुसार फागुन १ गते प्रतितोला सुनको मूल्य १ लाख १७ हजार ७ सय रुपैयाँ तोकिएको थियो । तीन महिनापछि आइपुग्दा अहिले यो मूल्य प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ । यस अनुसार फागुनमै सुनमा लगानी गर्नेले १७ प्रतिशत भन्दा बढी आम्दानी गरिसकेका छन् । यसले बैंकमा पैसा राख्नुभन्दा सुनको लगानी ५.६१ गुणा भन्दा धेरै प्रतिफल प्राप्त भएको देखिन्छ । 

अझै संस्थागत मुद्दती वा बचत खाता भन्दा दशौँ गुणा बढी प्रतिफल प्राप्त भएको देखिन्छ । बैंकहरुले संस्थागत मुद्दती निक्षेपमा करिब १ प्रतिशत विन्दुले कम र बचत खातामा मुद्दती भन्दा ५ प्रतिशत विन्दुसम्मले कम ब्याजदर प्रदान गर्दै आएका छन् । 

अहिले बचत खाताको ब्याजदर त झनै ३ प्रतिशत नजिक झरिसकेको छ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल ब्याजदर दिन नपाउने व्यवस्था गरेका कारण मात्रै यो ब्याजदर कायम छ । नत्र ब्याजदर २ प्रतिशतभन्दा कममा झर्ने अवस्था थियो ।

यस्तो अवस्थामा तुलनात्मक रुपमा सरक्षित मानिने सुनमा व्यवसायीहरुले लगानी बढाएका हुन् । सर्वसाधारणले भने काँचो सुन किन्न नपाउने भएका कारण प्रत्यक्ष रुपमा लगानी गर्न पाइरहेका छैनन् । योबेला सुन किन्नैपर्नेले पनि महँगो महशुस गरेर कम खपत गरिरहेको व्यवसायीहरुको बुझाइ छ ।

कहिलेसम्म बढ्छ मूल्य ? 

अहिले उदीयमान अर्थतन्त्र भएका मुलुकहरुको केन्द्रीय बैंकहरुले डलर घटाएर सुनको भण्डारण बढाउँदै लगेका छन् । खासगरी ब्रिक्स अलाइन्समा आवद्ध मुलुकहरु अहिले डलरको विकल्प खोज्न भन्दै डिमोनिटाइजेसनको नीति अनुसार अघि बढेका छन् । 

विश्वबाट डलरको प्रभाव घटाएर यसलाई अन्तर्राष्ट्रिय विनिमयको क्षमता कमजो बनाउने ती राष्ट्रहरुको लक्ष्य छ । यसका लागि मुद्राको प्रतिस्थापनको लागि यनीहरुले सुनको भण्डारण बढाउँदै लगेका हुन् । 

यही कारणले सुनको आकाशिदै गएको अध्यक्ष शाक्य बताउँछन् । ती केन्द्रीय बैंकहरुले सुनको मूल्य महँगो भयो ठानेर थप भण्डारण नरोकेसम्म मूल्य बढ्न नछोड्ने उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दिनप्रतिदिन बढ्न थालेको जनवरीपछि हो । त्यो बेलामा मूल्य प्रतिऔंस २ हजार डलर हाराहारीमा थियो । अहिले यो मूल्य प्रतिऔंस २ हजार ३ सय ६० अमेरिकी डलर पुगेको छ । 

यो करिब १८ प्रतिशतको वृद्धि हो । केन्द्रीय बैंकहरुले ५० प्रतिशत मूल्यवृद्धि हुँदासम्म भण्डारण बढाउन नरोक्ने अनुमान अन्तराष्ट्रिय मिडियाहरुको छ । सोही कारण सुन तीन हजार डलर पुग्नसक्ने अनुमान गरिएको हो । 

नेपालमा सुनको मूल्य निर्धारणमा यसअघि डलर वृद्धि समेत कारक बन्थ्यो । तर, पछिल्लो केही महिनादेखि डलरको भाउ स्थिरजस्तै छ । यसले गर्दा मूल्यमा दोहोरो प्रभाव भने परेको छैन ।



नयाँ