- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसको अवरोधबीच उनले विश्वासको मत लिएका हुन् ।
कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत बैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको थियो ।
नाराबाजीकै बीचमा सभामुखले बैठक अगाडि बढाएर विश्वासको मत लिइएको थियो । प्रधानमन्त्री प्रचण्डले विपक्षीले संसद अवरुद्ध गरेको भन्दै यसको मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।
यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
उनले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आएको बताए । छानबिन समिति नबनाएसम्म कांग्रेसले संसदको अवरोध नहटाउने बताए ।
प्रधानमन्त्रीले प्रतिकुल समयबीच जबरजस्ती विश्वासको मत लिएको भन्दै यसले लोकतन्त्रलाई नै झन् कमजोर बनाएको दाबी गरे ।
विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा १५८ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा १५७ मत परेको थियो । जसमा एमाले, माओवादी, रास्वपा, जनमत, जसपा र नाउपाका सांसदहरुले पक्षमा मत दिएका थिए ।
प्रस्तावमा मत दिन्न भन्ने पक्षमा एक मत परेको थियो । अन्य दलले भने विश्वासको मतको मतदानको प्रक्रियामा भाग लिएका थिएनन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको यो चौथो पटक हो । यसअघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरि गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।
यसअघि सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति गठन र कारबाहीको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको थियो ।
यता माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले कांग्रेसले विरोध गरेकाले त्यसको जवाफ प्रधानमन्त्रीले दिएको र यो संवैधानिक प्रक्रियाअनुसार नै विश्वासको मत लिएको बताए ।
उनले प्रधानमन्त्रीले विश्वासको मत लिँदा विपक्षीले अवरोध गर्नु गलत भएको बताए ।