arrow

चिसापानीः एक रमणीय पर्यटक स्थल         

logo
शीतल गिरी,
प्रकाशित २०८१ जेठ २६ शनिबार
sheetal-giri-81-2-26.jpg

काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोकको सीमानामा रहेको चिसापानीमा हामीले २०७४ मंसिर १ गते रात बिताएका थियौँ । काठमाडौँको शान्ती शाहको दरबारमा लामो समय रहेकी फरासिली एकल महिला अन्जु गुरुङ भेटेका थियौँ । त्यहाँको गाउँ घरको बारे धेरै जानकारी लिएका थियौं । चिसापानीको बारेमा धेरै सुनेको थिएँ, त्यसअघि पुगेको थिइन ।         

चिसापानी हिमाल आरोहण, अवलोकन गर्ने बाटोमा पर्दो रहेछ । नुवाकोट र सिन्धुपाल्चोकको पानी ढलो डाँडो रहेछ । ७२ सालको भुइँचालोले नराम्ररी तर्साएको रहेछ । पदयात्रा गर्दै त्यहाँ पुगेकालाई हृदय ओछ्याएर स्वागत गर्दो रहेछ ।     

पदयात्रामा रमाउनेहरू डा.धनप्रसाद सुवेदी, लीलाराज दाहाल, डा.नेत्र एटम, डिल्लीरमण सुवेदी, शीतल गिरी, डिल्लीराज अर्याल, जसध्वज गुरुङ, प्रमोद प्याकुरेल, श्रीओम श्रेष्ठ रोदन, राजेश खनाल, प्रवेश हाङसोङ, दामोदर सापकोटा र हरि गौतम फूलचोकी डाँडो काटेर, पसिनै पसिना भएर पदयात्राको आनन्द मनमा साँचेर चिसापानी पुगेका थियौँ ।     
    
सुन्दरीजलको उकालो ......         
तामाङ गाउँ काटेपछिको ठाडो उकालो .....         

पदयात्रामा रमाउने पदयात्रीहरूका लागि यस्ता उकाला जीवनको अंग बनिसकेको छ । पाइताला उपत्यका वरपरको डाँडामा पुगिसकेको छ । तर मलाई लाग्छ, चिसापानी नगरकोटभन्दा अझ शौन्दर्यशाली र महान् छ ।

प्राकृतिक शौन्दर्यलाई सन्तुलित ढङ्गले अभिव्यक्त गर्न, नगरकोटबाट एकदिनको बाटोमा चिसापानी बसेको छ । नगर सभ्यताको नजिक रहेको कारण नगरकोट व्यापक प्रचार भयो भने चिसापानीको भर्जिन शौन्दर्य पदयात्री मार्फत विश्वभर फैलिएको छ । 

पर्यटकका अनुसार पदयात्राको अनुभूतिले जीवन इतिहासमा हलचल ल्याइदिएको छ । भन्न पाइने भए म भन्थेँ— टिनएजरलाई मुग्ध बनाउने नगरकोटले चिसापानीको शौन्दर्य र सूर्योदय देख्न पाएको भए, तेलकोटमा गएर लुक्दो हो ।         

मंसिरको जाडो भए पनि सुन्दरीजलको उकालो चढ्न थालेपछि सहभागी धेरै पसिनै पसिना भएका थिए । पदयात्राले मौका जुराएको हुँदा चिसापानी जाने यात्रा गरियो । सो दिन बालाचतुदर्शी भएकोले बसपार्कबाट हिँडेको हाम्रो बस गौशाला नपुग्दै मानिसको भीडले जाममा परिसकेको थियो ।

बस एकदमै सुस्त गतिमा गुडिरहेको हुँदा चाबहिल चोकमा राजेश खनालले धेरैबेर कुर्नुपरेको थियो । प्रत्येक महिनाको पहिलो शुक्रबार हामी उपत्यकाका डाँडाहरूको पदयात्रा गर्दै आएका छौँ । मलाई लाग्छ— सुन्दरीजलको बसपार्कमा नास्ता गरेपछि हामीले एक–एक बोतल पानी पनि आ–आफ्नो झोलामा राखेका थियौँ । स्रष्टा पदयात्राको तेह्रौँ श्रृङ्खलामा हामी तेह्र जना अगाडि बढ्दै थियौँ— आपसमा गफिँदै रमाउँदै । 

यात्रामा सबैले सबैलाई देखिने दूरीमा मात्र हिँड्ने नियम बनाएका त हौँ हिँड्दै जाँदा नियममा बस्न नसकेर कोही निकै अगाडि त कोही निकै पछाडि पर्न गएको थियो । यस यात्रामा पहिलो पटक सहभागी पदयात्री— प्रमोद प्याकुरेल, राजेश खनाल, प्रवेश हाङसोङ, दामोदर सापकोटा र हरि गौतम हुनुहुन्छ ।     
    
सुन्दरीजल प्राकृतिक दृष्टिले अत्यन्तै सुन्दर स्थल हो । मलाई त यहाँका डाँडाकाँडा, जङ्गल, झरना प्रेम गर्ने जोडीको प्रेम बढाउने ठाउँ झैँ लाग्छ ।     
बाटोमा पिकनिक मनाउन आएका रमाइरहेका विद्यार्थीहरू भेटेका थियौं ।     
चिसापानी जान सहडेका ललितपुर लामाटारका विद्यार्थीहरूका अनुहारमा थकाईको कुनै चिन्ह नै थिएन, बरु उत्साहले मुस्कुराइरहेका पाएका थियौं ।         
बाटोमा ठाउँ ठाउँमा बस्न मिल्ने चौतारी छन्— त्यहाँ आरामले बस्दा निधारमा रसाएको पसिना पुछ्दा, सीर सीर चलेको हावाको मिठो स्पशैले शीतलबनाउँदाको आनन्द नै अर्कै छ ।         
आजको पदयात्रामा नारी स्रष्टाहरूको सहभागी नरहेको हुँदा यात्रामा गफ अलि खुकुलो भएको छ ।         
हिँड्दै जाँदा हामी मूलखर्कको सजिलो बाटो जाने टुङ्गोमा पुग्यौँ— ढिलो भए पनि लामै बाटो जान तयार भयौं । एघार बजि सकेको थियो— खोजेको जस्तो पानी भएको ठाउँ, घमाइलो चउर भेटेकोले खाना खान बस्यौं । आलुपरौठा, पुलाउ, चना तरकारी, आलुको अचार, पुरानो अचार, च्याउको पकौडा— विविध स्वाद र परिकार खाएर तृप्त भयौँ । स्रष्टा पदयात्राको एउटा विशेषता नै हो बाँडेर खाने— वनभोज, सहभोज यस्तै आनन्दको चलन ।     

टन्न पेट भरिएपछि हिँड्न थाल्छौँ र सानोधाप भन्ने ठाउँमा पुग्छौँ । चिसापानी जाने र नगरकोट जाने बाटो यहाँबाट छुटिन्छ । पैदलयात्रीहरूलाई आराम गर्नको लागि बनाएको पाटी जस्तो स्थानमा हामी आराम गर्छौं । एक छेउँमा एउटी महिला डङ्रङ्ग पल्टिएर मस्त निदाइरहेकी छिन्, कोदाको रसको कमाल जस्तो लाग्छ । एक छेउँमा अलिकति चुरोट, अलिकति चाउचाउ, बिस्कुट, चुइगम, सूर्तिका पाकेटहरू बेच्नका लागि राखिएका छन् ।     

नेत्र एटमका विद्यार्थी प्रवेश र दामोदरले ल्याएका जुस हाम्रो हात हातमा थमाउँछन् । थाकेका हामी जुस पिएपछि फूर्तिलो भएको महसुस गर्छौं । मूलखर्क छाडेपछिको बाटो त्यति अप्ठेरो छैन । सानो धापपछि चिसो हावा चल्न थालेको हुँदा केही पदयात्रीले यात्राका क्रममा फुकालेको ज्याकेट लगाउँछन् । यहाँको प्राकृतिक शौन्दर्य हेर्दा अचम्म लाग्दछ । चिसापानी यात्रामा नआइएको भए प्रकृतिलाई यति नजिकबाट आत्मसात् गर्न पाउने सुन्दर मौका गुम्ने रहेछ ।     

गफको सुरमा हामी ठूलोधाम आइपुग्यौँ । त्यहाँ बसेर फोटो खिचायौँ र खाजा खायौँ । चिसो हावा चलिरहेकाले हामी सबैलाई हिँड्नका लागि आनन्द छर्दै गरेको जस्तो लाग्यो ।     

चिसापानीमा बाक्लै सङ्ख्यामा विदेशीहरू भेट्यौँ, पदयात्रामा विदेशी देखेपछि आनन्द लाग्छ ।

स्रष्टा पदयात्राको उद्देश्य पनि उपत्यका वरिपरिका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूमा पुगेर अध्ययन, भ्रमण गरी सिर्जनाका माध्यमबाट प्रचार गर्ने नै हो । हो, चिसापानीको बजार ठूलो छैन तर चटक्क मिलेको भने छ ।         

अँध्यारोले सबैतिर छोप्दै गएपछि चिसापानीको चिसो हटाउन चाहनेहरू बास बसेकै होटेलमा एकै ठाउँमा जम्मा हुन्छौँ । भोलिपल्ट बिहान सूर्योदयको अवर्णिय मजा लियौँ, यानी चिसापानी आएको सार्थक बनायौँ । 

अब हाम्रो काम भनेको काठमाडौँ नै फर्किनु थियो । हो, त्यसैले बिहान हिँड्न त्यति गाह्रो नहुने भएकोले हामी निकै फूर्तिफार्ती गर्दै ओरालो ओर्लिन थाल्छौँ । घाम राम्रोसँग लागिसकेको छैन । हामी दहपोखरी पुग्छौँ— यही भएर जोरपाटी जाँदो रहेछ बस । बस नछुटोस् भनेर समय भन्दा केही अघि आएर सडकमा बसको प्रतिक्षा गरिरहेका छौँ ।          

हो, अञ्जु गुरुङ दरबारिया शब्द प्रयोग गरी असाध्य नै बोल्नुपर्ने रसिक रहिछिन् । बैकुण्ठे डाँडामा अञ्जुले पकाएको तातो कफी सुर्कदै त्यो भन्दा पनि तातो गफ र तिनले गाएको गीतको आनन्द मनभरी साँचेर यो यात्रा सफल बनायौँ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ