arrow

प्रचण्डको भूमिका सकारात्मक, एमालेसँग तत्काल एकता असम्भव - नेपाल [ भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
madhav-nepal-02-26.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए । 

उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताए । उनले समाजवादी मोर्चाको पुनः गठन गरेर अघि बढ्ने सोच आफूहरूको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए ।

उनले भने, ‘मधेस प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ । केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौँ । त्यसैले हामीले सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौँ । परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ । कमरेड प्रचण्डको भूमिका सकारात्मक रूपमा लिएका छौँ । उहाँले मधेस प्रदेशको बारेमा एक जना मन्त्री थप्ने भूमिकामा, बागमतीमा पनि मन्त्रीलाई पोर्टफोलियो दिने कुरामा, सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री दिन उहाँले नै भन्नुभयो । उनले खेलेको भूमिका पोजेटिभ छ । मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईँको पनि यस्तै पोजेटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुरमुरिएर पनि होला । मुरमुरिने काम गर्नु हुँदैन । हिजोको कुरा पनि बिर्सौँ ठिक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि । अहिले के देखिएको छ भने सँगै जाऔँ भन्ने प्रस्ताव लिएर अहिले मोर्चा बनाउ र अघि जाऔँ भन्ने प्रस्ताव लिएर विभिन्न दलसँग कुरा भइरहेको छ । समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ । उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ । हामी छिटै अर्को समाजवादी मोर्चा समाजवादी मोर्चाको पुनः गठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ ।’

अध्यक्ष नेपालले राष्ट्रका आवश्यकताको पहिचान गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुन कुरामा पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छुटाउन जरुरी रहेको बताए । देश विकास हुने मार्गहरूको पहिचान गरी अघि बढ्न आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ