arrow

महानगरद्वारा फार्मेसीलाई कारबाही गर्न पत्राचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले ‘पानोर्मा फार्मेसी’ लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई पत्र पठाएको छ । कामपा स्वास्थ्य विभागले कामपा–३, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल प्राङ्गणमा रहेको उक्त फार्मेसीको बारेमा गुनासो आएपछि अनुगमन गरी कारबाहीका लागि विभागलाई पत्राचार गरेको हो ।

विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार कामपाको स्वास्थ्य विभागले केही दिनअघि उक्त फार्मेसीमा अनुगमन गरेको थियो । अनुगमन टोलीले अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए । पसलमा म्याद सकिएका औषधि भेटिएको थियो । 

विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डिप फ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कायम राख्नुपर्ने चिकित्सकहरुको भनाइ छ । यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिन नै फार्मेसी बन्द गरिएको थियो । यो औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ विपरीतको अवस्था रहेको महर्जनको भनाई छ । 

विभागका निमित्त प्रमुख महर्जनका अनुसार कारबाहीका लागि लेखेर पठाइएको यो पहिलो पत्र हो । औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधि बेच्न, अरु सामानलाई औषधि भनेर बिक्रि गरेमा कसैको ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० वर्षसम्म वा जरिवाना हुनेछ । 

यस्तै शरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा पाँच वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । यसबाहेक ऐनमा लेखिएका व्यवस्थाको पालना नगर्नेलाई एक वर्षसम्म कैद वा रु पाँच हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको कामपाको स्वास्थ्य विभागले जनाएको छ । 

कामपाले औषधि पसलहरुको नियमित अनुगमन गर्दै आएको छ । मातहतका अस्पतालहरुमा कुहीने र नकुहीने फोहर वर्गीकरणको सवालमा पनि कामपाले अनुगमन गरिरहेको छ । 



नयाँ