arrow

तीनैजना प्रतिस्पर्धीको बहिस्कारपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न विकल्प खोजिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
dhitopatra-bord.jpeg

काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका लागि दोस्रो दिनको सूचनामा पनि तीनैजना अनुपस्थित भएका छन् । अध्यक्ष छनोट गर्न गठित समितिले आइतबार बोलाएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएका तीनै जना बुधबार दोस्रो पटकसमेत अनुपस्थित भएका हुन् । 

यसरी अनुपस्थित हुनेहरुमा चिरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की र नवराज अधिकारी हुन् । मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको भने आइतबार नै अन्तर्वार्ता र प्रस्तुतीकरण सकिएको छ । 

दोस्रो दिन पनि अन्तर्वार्तामा तीनैजना अनुपस्थित भएपछि अब कसरी अघि बढ्ने भन्नेबारे समितिमा छलफल भएको थियो । यसमा तीनवटा विकल्पबारे छलफल भएको थियो । पहिलो उपस्थित दुई जनाको मात्रै नाम सिफारिस गर्ने, दोस्रो अनुपस्थित तीन जनामध्ये योग्यता र अनुभवमा धेरै नम्बर पाएकामध्ये एकलाई सिफारिस गर्ने र तेस्रो प्रक्रिया रद्द गरी फेरि अर्को आवेदन खुलाउने ।  

यी विकल्पमध्ये पनि दुई जनाको मात्रै नाम सिफारिस गरेर पठाउने कि प्रक्रिया नै रद्द गर्ने भन्नेबारे समितिमा एकमत हुन सकेको छैन । दुई जनामात्रै सिफारिस गर्दा नियुक्तिविरुद्ध अदालतमा मुद्दा पर्न सक्ने र प्रक्रिया झनै लम्बिन सक्ने तथा अख्तियारको क्षेत्राधिकार समेत आकर्षिक हुनसक्ने आँकलन गरिएको छ ।

त्यसैले प्रक्रिया नै रद्द गर्नुपर्ने मत बलियो छ । तर प्रधानमन्त्री स्तरबाटै जसरी पनि सिफारिस गर्न दबाब आएकोले समिति अनिर्णित बनेको छ । 

त्यस्तै अर्को एक जनाको नाम थपेर पठाउने कुरा पनि बैठकमा उठेको थियो । बोर्डको अध्यक्षको लागि योग्यता र अनुभवलाई ५२ नम्बर र कार्ययोजना र प्रस्तुतिका लागि ४८ नम्बर तोकिएको छ । योग्यता र अनुभवको आधारमा धेरै अंक प्राप्त गरेकाको नाम थपेर सिफारिस गर्नेबारे कुरा उठे पनि भए पनि त्यो उपाय झनै कानूनी रुपमा जटिल हुने भएको त्यसमा गम्भीर छलफल नभएको स्रोतको भनाइ छ । 

यो अवस्थामा सबैभन्दा सजिलो विकल्प प्रक्रिया रद्द नै हो । यसबारे समितिका लगभग सबै सदस्य एकमत छन् । तर समितिलाई जसरी पनि सिफारिस गर्नैपर्ने दबाब भएकोले महान्यायाधिवक्ताको कार्यालयको सुझावपछि निर्णय हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ