- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगञ्ज । पर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ५५ दशमलव ५० प्रतिशत उजुरी टुङ्गाइएको छ ।
साहुकर र अनुचित लेनदेनपीडितबीच जिल्लाभरिमा नौ सय ५८ वटा उजुरी टुङ्गो लागेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अझै एक हजार एक सय ९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले पाँच सय सात वटा उजुरी टुङ्ग्याएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयले आफू मातहत उजुरी आउन थालेपछि पनि सात सय ३१ वटा उजुरीलाई टुङ्गो लगाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले साहुकर र अनुचित लेनदेन पीडितबीच मेलमिलापका माध्यमबाट अधिंकाश मुद्दा टुङ्ग्याउँदै आइरहेको बताए ।
“जिल्ला प्रशासन कार्यालयबाट अनुचित लेनदेनसँग सम्बन्धित उजुरी पर्सा प्रहरीमा आएसँगै सात सय ३१ वटा उजुरी टुङ्गो लगाएका छौँ”, उनले भने, “दिनहुँजसो दुवैपक्षसँग छलफल गरेर उजुरीलाई टुङ्गोमा पुर्याउने काम भइरहेको छ ।”
गत माघ १७ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट एक हजार छ सय ५५ वटा अनुचित लेनदेनसँग सम्बन्धित उजुरी प्रहरीमा आएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयमा पनि थप चार सय ९८ वटा उजुरी परेको थियो । प्रहरीले गत माघ २४ गतेदेखि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी लिन थालेको थियो ।
नायब उपरीक्षक भारतीले मिटरब्याजसँग सम्बन्धित विषय सामाजिक अपराध भएकाले पनि प्रहरीले दुवै पक्षलाई राखेर सकेसम्म मेलमिलापबाटै उजुरीलाई टुङ्गो लगाउँदै आइरहेको बताए ।
“वर्षांैदेखि झेलिँदै आइरहेको समस्या भएकाले पनि साहुकर र अनुचित लेनदेन पीडितबीच पटकपटकको छलफलपछि मात्रै यस्ता किसिमका उजुरीलाई टुङ्गो लगाउन सकिएको छ”, उनले भने ।
साहुकरले ऋणीबाट रु २४ करोड ७६ लाख ९६ हजार आठ सय ३० बराबरको रकम बिगो दाबी गरेका छन् । तीमध्ये पर्सा प्रहरीका अनुसार मेलमिलापबाट रु १३ करोड ४३ लाख ७६ हजार एक सय ३९ रकमको बिगो टुङ्गो लागेको छ ।
अनुचित लेनदेनसँग सम्बन्धित पाँच वटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई १५ बिघा १६ कट्ठा २४ धुर जग्गा फिर्ता गराएको छ । रासस