arrow

खोजी सम्मानको

जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो- प्रचण्ड [भिडियो]

नयाँ दलले पुराना राजनीतिक दलहरूलाई सम्मान गरेनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
prachanda-03-07-2.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीवनको उत्तरार्द्धतिर पनि आफू जनयुद्धकलाको भन्दा बढी खटेर काम गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताए । प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्ने गरी काम गरिरहेको जिकिर गरे । 

प्रचण्डले भने, ‘तपाईँ हामी कताकति पहिलाको जस्तो सक्रियता जीवन देख्ने पार्टी, आन्दोलन देख्ने लोकतन्त्रमा त्यसमा कमी आएकै छ । त्यो हामीले आत्म समीक्षा गर्नुपर्छ । निराश हुनु हुँदैन । कयौँ साथीहरूलाई लाग्छ, पार्टी नेतृत्वको हैसियतले नेतृत्वले के गरिरहेको छ ? पहिलाको जस्तै छ की अर्कै छ की ? बिग्रियो की, साँच्चै हो की होइन भन्ने खालले विभिन्न रूपमा तपाईँहरूको मनमा पनि मुख्य नेतृत्वप्रति पनि प्रश्न उठ्छन् होला । बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ होला । जीवनको उत्तरार्द्धतिर त लागिएकै छ । किनभने ७० तिरबाट अघि बढ्नु उत्तरार्द्ध नै हो । तर म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु । बरु जनयुद्धमा मेरो जीवन सरल थियो । अहिले अझ बढी खट्नुपर्ने । विभिन्न राजनीतिक दलहरू कहिले यता, कहिले उता पनि भन्छन् । तर मैले पार्टी आन्दोलन देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरू, बाहिर र सदन भित्र भएकाहरूलाई पनि संयोजन गर्ने कुरा गरिरहेको छु । कहिले कहीँ त मलाई यस्तो लाग्छ, मैले नेपाली काँग्रेस, नेकपा एमालेलाई पनि अरू पार्टीलाई पनि संयोजन गर्ने, उनहरु भित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्ने जस्तो गरी मैले काम गर्नु परिरहेको छ । मैले गरिरहेको पनि छु ।’

उनले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताए । उनले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए । उनले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको बताए । 

उनले भने, ‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरू कोही पनि ठिक छैनन् । त्यसकारण नेपालमा बस्नु भन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोसिस भइरहेको छ । सच्चाइ त्यही बिलकुल होइन । सच्चाइ त्यसको ठिक उल्टो छ । नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरूले नै हो । र अहिले केही नयाँ नयाँ मानिसहरू हामी नयाँ, हामीले गर्छौँ भन्ने ठाउँ दिएको पनि तिनै ठुला पार्टीहरूको त्याग, तपस्या र बलिदान हो । इमानदारिता यही हुन्छ की, नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन । नयाँ आएर बोल्नेहरूको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरूले लामो सङ्घर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लोकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरू आउने वातावरण बन्न सम्भव थियो त ? बिलकुल थिएन । उनीहरूले त पुरानाहरूलाई सम्मान गर्नुपर्ने, तपाईँहरूको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायाँै भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि । आमा बाउलाई त बूढाबूढीलाई त सम्मान पो गर्नुपर्छ । तिनलाई अपमान गर्ने प्रवृत्ति देखापर्न खोजेको छ, यो प्रतिकात्मक रूपमा मैले भनेको हुँ । यसको सारतत्व वर्गीय नै छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ