arrow

अर्थसचिव बन्ने लहडले आईआरडी छिरेका रितेशलाई नफापेको त्यो चार महिना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
ritesh-shakya-finance-minis.jpg

काठमाडौँ । भ्रष्टाचारको आरोपमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसहित ११ जनालाई प्रतिवादी बनाएर भ्रष्द्धार मुद्दा दायर भयो । दायर मुद्दा दायर भएकाहरुमा अर्याललाई तत्कालीन अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको रुपमा थिए । 

त्यस्तै रितेश शाक्य आन्तरिक राजस्व विभागका महानिर्देशक थिए भने टंक पाण्डे उपमहानिर्देशक थिए । त्यस्तै आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेल छन् । 

त्यस्तै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, शाखा अधिकृत हरिबल्लब घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम, खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ, प्रिन्टसेल  प्राली ललितपुरका निर्देशक परामर्शदाता केशव शर्मा रहेका छन् । 

उनीहरुले नेपालमै छपाइ हुन सक्ने अन्तः शुल्क स्टिकर छपाई भारतीय कम्पनीलाई छाप्न जिम्मा दिएर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । उनीहरुविरुद्ध ३८ करोड रुपैयाँ बराबरको बिगो र त्यति नै बराबरको जरिबाना माग दाबी र कैद सजाय गरिएको छ । 

यो प्रकरणले इतिहासमै पहिलोपटक मुख्यसचिव भ्रष्टाचार मुद्दामा निलम्बित भएर बस्नुपर्ने अवस्था त आएको छ नै त्योसँगै अर्को एक जना महत्वाकांक्षी सहसचिवको योजनामा समेत धक्का लाग्ने देखिएको छ, उनी हुन् रितेश शाक्य । 

शाक्य शाखा अधिकृत र उपसचिव हुँदासम्म लेखा समूहका कर्मचारी थिए । उनले राजश्व तथा प्रशासन समूहमा काम गरेको अनुभव उनीसँग थिएन । उनले कहिलै पनि आन्तरिक राजश्व विभाग र भन्सार विभाग आवद्ध संस्थामा उनले कहिल्यै काम गरेनन् । सहसचिव भएपछि पनि शुरुमा उनी खानेपानी मन्त्रालयमा थिए । 

जनार्दन शर्मा अर्थमन्त्री भएपछि उनी एकाएक अर्थ मन्त्रालयमा आएका थिए । अर्थमा छिरेपछि उनलाई कुनै समयमा अर्थसचिव बन्छु भन्ने महत्वकांक्षा जाग्यो । तर अर्थसचिव बन्न राजश्व र अर्थअन्तर्गतका निकायहरु चलाएको पोर्टफोलियो बनाउन भन्दै उनी तत्कालीन अर्थमन्त्री शर्मा र तत्कालीन राजश्व सचिव कृष्णहरि पुस्करसँग कुरा मिलाएर आन्तरिक राजश्व विभागजस्तो शक्तिशाली विभागमा महानिर्देशक बन्न पुगेका थिए । 

शाक्यको पब्लिक एक्पोजर भने खानेपानी मन्त्रालयको प्रवक्ता बढेको हो । अर्थ मन्त्रालयमा हुँदा समेत प्रवक्ताको समेत जिम्मेवारीमा पुगेपछि उनले यस्तो एक्पोजर थप बढाएका थिए । विभागमा सरुवा हुँदा भने उनलाई जुनियर भनेर व्यापक विरोध भएको थियो । 

यद्यपि चार महिना नपुग्दै उनलाई अर्थ मन्त्रालयमा तानियो । अहिले अन्तशुल्क छपाइ प्रकरणमा भएको भ्रष्टाचारको त्यही चार महिनाभित्रकै हो । यो चार महिना उनको प्रशासनिक जीवनमा कालो धब्बा बनेको छ । 

शाक्य अहिलेसम्म पनि अर्थ मन्त्रालयका पावरफूल सचिवमध्ये एक मानिन्थे । अहिले समेत मन्त्रालयको बजेट महाशाखाको जिम्मेवारीमा रहेका उनले आर्थिक वर्ष २०८१–८२ को बजेट निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । 

यसरी राजश्वदेखि बजेट निर्माणसम्मको काममा सहभागी हुनुको उनको एउटै उद्देश्य अर्थसचिव बन्नु थियो । यसका लागि  प्रधानमन्त्री, मुख्यसचिव, मन्त्रीदेखि सचिव तहसम्म उनको राम्रो सम्बन्ध थियो । 

अहिले भ्रष्टाचार मुद्दा चलेसँगै उनी निलम्बनमा परेका छन् । अब अन्तिम किनारा नलागेसम्म उनी निलम्बित हुनेछन् । भ्रष्टाचारको मुद्दामा दोषी पाइएमा उनको यो महत्वकांक्षा सदाको लागि बन्द हुनेछ । यसमा सफाइ पाएको अवस्थामा भने अहिलेको निलम्बनले अनुभव बाहेक अरु असर गर्ने छैन । 

त्यसो त भ्रष्टाचारको मुद्दा लागेका मधु मरासिनी भ्रष्टाचार मुद्दामा सफाइ पाएर फेरि अर्थसचिव बनेका छन् । उनी दोस्रोपटकसमेत बजेट बनाउन पाउने भाग्यमानी अर्थसचिवसमेत बने । 

यद्यपि भ्रष्टाचार मुद्दा लागेको र शुरु निकायको महानिर्देशक भएका कारणले उनको मुद्दा मरासिनीको जत्तिको सरल नभएको मन्त्रालयका अधिकारीहरुको विश्लेषण छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ