arrow
ADVERTISEMENT

दृष्टिविहीनहरुले सञ्चालन गरेको सिइङ् ह्यान्डस्ले देखाइरहेको मर्यादित पेशाको बाटो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
seeing-hands-nepal-blind-me.jpg

काठमाडौँ । सबै विशेष कुराहरु आँखाले नदेखिन सक्छन् । कतिपय कुराहरू अनुभव र अनुभूतिपछि मात्रै विशेष देखिन्छन् । आँखाले राम्रो देखेका व्यक्ति वा विषय पनि केही समयपछि फिक्का लाग्छ सक्छ, तर अनुभव र अनुभूतिहरुद्वारा राम्रो भएकाहरु अनन्तकालसम्मै विशेष हुन्छन् । अनुभव र अनुभूतिद्वारा विशेष बनेको त्यस्तै एउटा संस्था हो ‘सिइङ् ह्यान्डस्’ । 

काठमाडौँको ज्याठामा मुख्य कार्यालय र पकनाजोलमा शाखा कार्यालयको रुपमा चलिरहेको एउटा मसाज सेन्टर हो ‘सिइङ् ह्यान्डस्’ । पर्यटकहरुको राजधानी मानिने ठमेलको सराउन्डिङमा खुलेका स्पा तथा मसाज सेन्टरहरुको भीडमा झुलुक्क हेर्दा यो खास लाग्दैन, तर यसको सामाजिक उत्तरदायित्व र सेवाको मर्यादा एवं गुणस्तरलाई विचार गर्दा भने यसले देशकै एउटा उत्कृष्ठमध्ये एउटा व्यवसायिक संस्थाको रुपमा स्थान बनाउनेमा द्विविधा छैन ।

२०१० सालमा स्थापना भएको यो क्लिनिकमा अहिले १७ जना कर्मचारी छन् । त्यसमध्ये १२ जना दृष्टिविहीन छन् । उक्त कम्पनीका सञ्चालक चिरन पौडेल आफैँमा दृष्टिविहीन हुन् । तर, दृष्टिविहीनतालाई भजाएर उनी आफ्नो मार्केटिङ गर्न चाहँदैनन् । उनी भन्छन्, ‘हामी क्वालिटी एस्योरेन्स गर्छौं, काठमाडौँमा भएका अरु सेन्टरहरुभन्दा गुणस्तरमा हामी अगाडी छौं, हामीसँग अनुभवी र योग्य टीम छ, त्यसैको बलमा हामी आजसम्म चलिरहेका छौं ।’

यसरी शुरु भयो सिइङ् ह्यान्डस्

कपिलबस्तुमा जन्मिएका चिरण पौडेलले अध्ययनका लाति बागलुङ गएका थिए । त्यतिबेला दृष्टिविहीनहरुको विद्यालय देशभरमा थोरै मात्र भएकोले उनले सबैभन्दा नजिकको स्कुल नै छानेका थिए । त्यहाँबाट एसएलसी उत्तीर्ण भएपछि उनी पोखरा गए । बागलुङबाट सबैभन्दा नजिकको बजार पोखरा नै थियो । त्यहाँ उनी कामको खोजीमा गएका थिए । 

उनलाई लाग्थ्यो शिक्षक नै आफ्नो भविष्यको पेशा हो । किनकि त्यतिबेला दृष्टिविहीनका लागि कम विद्यालय मात्रै भएको र देशभर नयाँ विद्यालय खुल्ने क्रममा रहेका कारण उनीहरुका लागि त्यसको राम्रो अवसर पनि थियो । पौडेल भन्छन्, ‘पोखरा जानेबित्तिकै मलाई केही न केही काम चाहिएको थियो, त्यसबेला पहिलोपटक मलाई यही अफर आयो, शुरु गरेपछि यसैलाई निरन्तरता दिएँ । 

बेलायतका एकजना जोडी आएर पोखरामा स्पा तथा मसाज सेन्टर सञ्चालन गर्न लागेकोमा उनलाई मसाज थेपापिस्टको रुपमा अफर गरिएको थियो । उनले त्यही बसेर सिकेका थिए । करिब ५ वर्षपछि उनले ती जोडीलाई आफू काठमाडौँ गएर अर्को मसाज सेन्टर खोल्ने बताए । चिरन भन्छन्, ‘यो सुन्दा उहाँहरु पनि पनि खुसी नै हुनुभयो । उहाँहरुकै सहयोगमा मैले यहाँ यो संस्था खोलेको हुँ ।’

कोभिड हुनु अघिसम्म यो संस्थाले काठमाडौँको बौद्ध र ललितपुरको पाटनमा समेत शाखा खोलिसकेको थियो । तर, कोभिड महामारीसँगै पर्यटक आगमन ठप्प हुँदा थी दुई आउटलेटहरु बन्द गरिएको पौडmे सुनाउँछन् । तर, अहिले अवस्था सहज हुँदै गएकोले उपत्यका बाहिर तथा देशबाहिर समेत एक–एक वटा आउटलेट खोल्ने योजना रहेको उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ

अहिले सिइङ ह्यान्डसले आफूलाई चाहिने कर्मचारीको उत्पादन आफैँ गरिरहेको छ । यसका लागि बेलायतको लन्डन स्कुल अफ स्पोर्टस् मसाजसँग सम्बन्धन लिएर यो सेन्टरले ट्रेनिङ दिइरहेको छ । त्यसमा एक वर्षको कोर्स हुन्छ । करिब ७० प्रतिशत कोर्स पौडेल आफैँले पढाउँछन् । बाँकी ३० प्रतिशतका लागि भने बेलायतकै व्यक्तिहरु आएर पढाउने र इन्टर्नसिप गराउने गरिएको छ । 

यसरी विद्यार्थीहरु तयार गरेपछि सिइङ् ह्यान्डस्ले नै रोजगारीको ग्यारेन्टी गर्छ । रोजगारीको ग्यारेन्टी मात्रै गर्दैन सस्टेनिबिलिटीको ग्यारेन्टी समेत गर्छ । पौडेल भन्छन्, ‘यहाँ जब ग्यारेन्टीको कुरा त धेरै सुनिन्छ, तर मान्छेलाई जब ग्यारेन्टीले मात्रै पुग्दैन, यही काममा लामो समयसम्म टिक्नसक्ने अवस्था नहुने हो भने त्यसको अर्थ हुँदैन । त्यसैले हामीकहाँ पढेकाहरुको जागिरको सस्टेनेबिलिटीपछि मात्रै हामी नयाँ विद्यार्थी लिन्छौं । 

उनले आफूहरुले सेलिक्टिभ विद्यार्थी मात्रै लिने गरेको र त्यस्ता विद्यार्थीलाई तालिम अवधिभरको खाना, आवास र केही व्यक्तिगत खर्चको व्यवस्था गर्ने गरेको समेत बताए । आफूले भर्ना गरेका लगभग शतप्रतिशत विद्यार्थीहरु सफल भएको र सस्टेन गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार यो पेशामा काम गर्नेले गलत क्रियाकलापबिनै ५०–६० हजार रुपैयाँसम्म कमाउन सक्छन्, यो कामबाट हुने कमाइभन्दा बढी हो । पिक सिजनमा यो कमाइ अझै धेरै हुने उनीहरुको भनाइ छ । यद्यपि यसमा लागि कहिलेकाहीँ १२ घण्टासम्म पनि खटिनुपर्छ । सामान्यतया भने बिहान १० देखि बेलुकी ८ बजेसम्म सेवा दिने गरेको उनी बताउँछन् । 

नकारात्मक धारणा चिर्ने प्रयास

त्यसो त, स्पा तथा मसाज सेन्टरलाई समाजमा नकारात्मक रुपमा हेर्ने चलन छ । यस्ता सेन्टरहरु भन्नेबित्तिकै यहाँ यौनधन्दा हुन्छ भन्ने मानसिकता बोकिन्छ । तर, सिइङ् ह्यान्डस् यो मामिलामा त्योभन्दा धेरै फरक छ । उक्त संस्थामा विगत ५ वर्षदेखि का मगर्दै आएका कमल सिंह भन्छन्, ‘हामीकहाँ लेडिज–टू–लेडिज र जेन्स–टू–जेन्स मसाज मात्रै हुन्छ । कुनै गलत मनसाय लिएर आउन चाहनेहरुलाई यहाँ त्यस्तो वातावरण छैन । त्यो पनि हाम्रो एउटा मुख्य विशेषता हो ।’ समाजमा धारणा राम्रो नभए पनि असल ढंगले का मगर्नेलाई काम र कमाइको आधारमा यो पेशा राम्रो रहेको उनको भनाइ छ । 

संस्थाका सञ्चालक पौडेल आफूकहाँ २०१० देखि अहिलेसम्म एउटै व्यक्तिलाई १५० देखि २०० पटकसम्म सेवा दिएको बताउँछन् । उनका अनुसार वास्तविक रुपमै मसाजका लागि आउनेहरु दोहोर्याएर अन्त जाने अवस्था आफूहरुले नबनाउने बताउँछन् । 

‘मसाज मुख्यतया दुई प्रयोजनको लागि गरिन्छ । पहिलो, इञ्जुरीको रिमेडियल मसाज र दोस्रो स्वीडिस मसाज भनिन्छ । रिमेडियल मसाज खास समस्यामा केन्द्रित भएर गर्ने मसाज हो । यसले हड्डी, नसा तथा कुनै विशेष भागहरुमा भएका दुखाईलाई हटाउने काम गर्छ । अर्को स्वीडिस मसाजले भने रक्तसञ्चारको अवस्थालाई मिलाएर तनाव कम गर्ने काम गर्छ । आफूकहाँ आउने ९५ प्रतिशत ग्राहकहरु रिमेडियल मसाजकै प्रयोजनको लागि आउने गरेको उनी सुनाउँछन् । दुखाईलाई रिलिज गर्ने सन्दर्भमा सिइङ् ह्यान्डस्को सेवा उपत्यकाकै उत्कृष्ठ रहेको उनको भनाइ छ ।

यो सेन्टरले अहिले स्पा सेवा भने दिएको छैन । मसाज स्पाको एउटा अंश भए पनि स्पाले शारीरिक सौन्दर्यताको केयर धेरै गर्ने पौडेलको भनाइ छ ।  पौडेल भन्छन्, ‘स्पाले मेडिकेयर, पेडिकेयर, फेसियल, नेल आर्ट लगायत शारीरिक सौन्दर्यसँग सम्बन्धित सबै कुरालाई समेत कभर गर्छ । हामी चाहिँ मेडिकेयर सेवा मात्रै दिन्छौं ।’

कति थियो लगानी, कति हुन्छ कमाइ ? 

चिरनले १४ वर्षअघि करिब ८ लाख लगानी गरेर सिइङ् ह्यान्डस् शुरु गरेको सञ्चालक पौडेल बताउँछन् । तर संस्थाले गर्ने आम्दानीबारे भने उनी खुल्न चाहेनन् ।

उनले आफूहरुले सन् २०१८ को मूल्यमा अहिले पनि सेवा दिइरहेको भन्दै उत्कृष्ठ नाफाको अवस्था नरहेको बताउँछन् । यद्यपि अब मूल्य समायोजन गर्ने तयारी गरिरहेको उनको भनाइ छ । 

अहिले उक्त संस्थाले एकदेखि दुई घण्टा अवधिको सेवा दिइरहेको छ । समय अनुसार एक पटकका लागि २ हजार रुपैयाँदेखि तीन हजार ८ सय रुपैयाँसम्म शुल्क लिने गरेको छ । दिनमा औसत ५०/६० जनाले सेवा लिने गरेको पौडेल सुनाउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ