arrow

देशभर ६९९ जना भन्सार एजेन्ट, ६७ जनाले गरेनन् नवीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
barshaman-pun-81-3-17.jpg

काठमाडौँ । देशभरका भन्सार कार्यालयहरुमा ६ सय ९९ जना भन्सार एजेन्टहरु क्रियाशील छन् । भन्सार विभागको अभिलेख अनुसार आर्थिक वर्ष २०७९/८० मा नियुक्त भएका र त्यसअघिकासमेत गरी सो संख्यामा भन्सार एजेन्ट रहेका हुन् । 

नयाँ भन्सार एजेन्टको परीक्षा खुलाएर लाइसेन्स दिनुअघि नेपालमा जम्मा १७३ जना मात्रै भन्सार एजेन्ट क्रियाशील रहेका थिए । नयाँ परीक्षापछि ६१८ जना नियुक्त भएका थिए । 

सोसमेत गरी कायम भएको ७ सय ९१ जनामध्ये २५ जनाले आफ्नो लाइसेन्स औपचारिक रुपमै खारेज गराएका छन् । बाँकीमध्ये ६७ जनाले चालु आवको अहिलेसम्म एजेन्टको लाइसेन्स नवीकरण नगरेको जनाइएको छ  ।

सोमबार प्रतिनिधि सभामा सांसद प्रेम सुवालले नेपालका भन्सार एजेन्टले भारतीय कम्पनीलाई सफ्टवेयर बेचेर भन्सारमा सामान घोषणा गराई करोडौँ कुम्ल्याइरहेको भन्दै अर्थमन्त्रीको जवाफ मागेका थिए । यो विषयमा भन्सार विभागमा कुनै सूचना तथा उजुरी नभएको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिए । 

त्यस्तै भन्सार एजेन्टलाई सम्बन्धित भन्सारमै बायोमेट्रिक हाजिरी गराउनु पर्ने र सामान घोषणाको कोटा प्रणाली लागू गर्नुपर्ने व्यवस्था नहुँदा दैनिक करोडौँ रुपैयाँ राजस्व चुहावट भइरहेको बताएका थिए । 

सो सम्बन्धमा पुनले भन्सार एजेन्टहरुको लागि बायोमेट्रिक हाजिरी गराउने कानूनी व्यवस्था नरहेको भन्दै भन्सार नियमावली, २०६४ ले भन्सार एजेन्टको इजाजत पत्रवालाले भन्सार कार्यालयमा आफैँ उपस्थित भई काम गर्नु पर्नेछ भन्ने कानूनी व्यवस्था भने रहेको बताए । 

उनले भन्सार जाँचपासको क्रममा मालवस्तुको गलत घोषणा गर्ने भन्सार एजेन्टलाई भन्सार अधिकृतले पच्चीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा एक महिनादेखि ६ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था रहे पनि एजेन्टहरुले आफ्नो अधिकार विदेशीलाई बिक्री गरेको सम्बन्धमा यस विभागमा कुनै जानकारी, सूचना तथा उजुरी प्राप्त नभएको बताए ।

भन्सार जाँचपासको क्रममा हुन सक्ने प्राविधिक समस्याहरुलाई समाधान गर्न आयात वा निर्यातकर्ता तथा भन्सारका कर्मचारीहरुको बीचमा बसेर भन्सार एजेन्टले काम गरिरहेको हुन्छ । 

एचएस कोड, सामानको मूल्यांकन तथा अन्य कागजातहरुको व्यवस्थापनको लागि भन्सार एजेन्टले वैदेशिक व्यापार गर्नेलाई सहयोग गरिरहेका हुन्छन् । यी एजेन्टहरुले आफ्नो लाइसेन्स विदेशीलाई प्रयोग गर्न दिएको आरोप सांसद सुवालको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ