महिला क्रिकेट खेलाडी बेगम निलम्बित, क्यानका उपाध्यक्षसहित तीनलाई स्पष्टीकरण
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
659
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी अप्सरी बेगमलाई सङ्घको आचारसंहिता उल्लङ्घन गरेको भन्दै निलम्बन गरेको छ ।
क्यानको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले टोली व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै बेगममाथि थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो ।
श्रीलङ्कामा यही जुलाई १९ देखि २८ तारिखसम्म हुने महिला टी–२० एसिया कपको तयारीका लागि नेपाली महिला क्रिकेट खेलाडीको बन्द प्रशिक्षण चलिरहेको छ । सोही क्रममा बेगमले टोली व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै क्यानले तत्कालका लागि निलम्बन गरेको जनाएको छ ।
यस्तै क्यानले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय विकेट लिन सफल भएकामा बधाई दिँदै उनलाई ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ । क्यानले उनलाई यही जुलाई १ देखि डिसेम्बर ३१ तारिखसम्म ‘ए’ ग्रेडमा अनुबन्धित गरिएको जनाएको छ ।
बैठकले क्यान उपाध्यक्ष रोशनकुमार सिंहसँगै केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
उनीहरूले अमेरिका र वेस्ट इण्डिजमा हालै सम्पन्न विश्वकप क्रिकेट प्रतियोगिताबारे आधारहीन विषयवस्तुको प्रचारप्रसार गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यसैगरी त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको ‘पिच’ पुनःनिर्माण गरी स्तरोन्नति गर्ने, प्रादेशिक क्रिकेट सङ्घसँग समन्वय गरी सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्फ विकेट निर्माण गर्ने, म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा गर्ने सम्बन्धमा सङ्घको अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिनेलगायतको निर्णय भएको क्यानका महासचिव पारस खड्काले जानकारी दिए ।