arrow

७८ वर्षयताकै सर्वाधिक वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
kathmandu-rain-80-11-.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको छ ।

यही असार २४ गते बिहान ०८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६२४ दशमलव० मिलिमिटर, हनुमान नगरमा ५७३दशमलव६ मिलिमिटर तथा सुन्दरपुरमा ५५५दशमलव८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

यस वर्ष गत जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिमको कञ्चनपुरमा असार २३ र २४ गते भारी वर्षा भएको थियो ।

वायुमण्डलिय तथ्याङ्क, भूउपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिमको दक्षिण भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली विकसित भएको थियो ।

साथै उपल्लो वायुमण्डल पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट जाउने जलवायुयुक्त हावा सो स्थानमा समिश्रण भई भारी वर्षा भएको विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि २०७४ साउन २९ गते मकवानपुरको हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६दशमलव२ मिलिमिटर वर्षा मापन गरिएको थियो भने भूसंरक्षण विभागको तथ्याङ्कअनुसार २०५० साउन ५ गते (सन् १९९३ जुलाई २०) मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमा ५४०दशमलव० मिलिमिटर वर्षा मापन गरिएको थियो ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार दुई दिनअघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा सक्रिय मनसुन अहिले कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सक्रिय रहेकाले ती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

“आज राति र बुधबार राति कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशमा पनि भारी वर्षाको सम्भावना देखिन्छ”, उनले भनिन् ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा तुलनात्मक रुपमा कम वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाले हरेक तीन दिन विशेष मौसम बुलेटिन निकालेर मौसम पूर्वानुमानसम्बन्धी अध्यावधिक गरिरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ