arrow

बलान नदी बस्ती पस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
balan-river.jpg

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदी बस्तीमा पस्ने गरेको छ ।

चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगायतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् । 

“जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान नगरपालिका-२३ बसनपुरका गङ्गाप्रसाद यादवले भने । 

यादवको करिब १५ वर्षअघिसम्म तीन बिघा खेत थियो । बलान नदीले उर्वर जमिन बर्सेनि कटान गरेपछि अहिले उनको बिचल्ली भएको छ । आठ कठ्ठा आँपको बगैँचा रहेको जग्गा पछिल्लो दुई दिनमा बाढीले कटान गर्यो । 

बाढीले जग्गा कटान गरेपछि सञ्जयकुमार यादवको अवस्था पनि गङ्गाप्रसादको जस्तै छ । बाढीले १० बिघा जमिन कटान गरेको उनको भनाइ छ । 

बाढीले बाँकी रहेको घर जग्गा बगाउने उनले चिन्ता व्यक्त गरे । सञ्जय र गङ्गाप्रसादको जस्तै बलान नदी तटीय क्षेत्रका सयौँं परिवारको बिचल्नी छ । इटहर्वा, भगवानपुर, तिलेबोनालगायत गाउँ बलान नदीको बाढीको चपेटामा छन् । 

लहान नगरपालिका-३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका-३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेबोना तथा भगवानपुर गाउँपालिका-१, ३ र ४ वडामा पर्ने भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेका सखुवानन्कारकट्टी गाउँपालिकाका-४ का हरिलाल यदवले जानकारी दिए । 

बाढीले बसनपुरमा २२ बिघा, भगवतीपुर मौजीमा ५१ बिघा र सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ ।

चुरे दोहनका कारण नदीले धार परिवर्तन गरेको स्थानीय बताउँछन् । “जमिन कटानपछि बाढी गाउँ पस्ने गरेको छ”, स्थानीय मुशहरु यादवले भने । 

बलान नदी नियन्त्रणका लागि पहल भएपनि कटानको समस्या समाधान हुन नसकेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । “नगरपालिकाले चालु आर्थिक वर्षमा मात्र रु ५० लाखको तारजाली र ढुङ्गा बिछ्याएको छ, तर समस्या उस्तै छ”, उनले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ