arrow

त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसका यात्रुहरूको खोजीलाई तीव्रता दिइएको छ-प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
prachanda-03-28.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गए राति पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री दाहालले सो विषयमा आफूले चितवन जिल्ला प्रशासन कार्यालय र त्यहाँको स्थानीय निकायलाई सचेत गराउँदै खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको बताए । 

उनले जनतालाई विपद्बाट जोगाउन आफूले गृह प्रशासन र सम्बन्धित निकायलाई पनि तयारी अवस्था रहन सचेत गराएको बताए । प्रधानमन्त्री दाहालले मुलुक विपद्मा परेका बेला आफूलाई हटाउने दुःखद प्रयास भएको पनि बताए । 

उनले भने, ‘अविरल वर्षा, बाढी, पहिरोको कारण चितवन नारायणघाट मुग्लिनको बीचमा, कास्की, म्याग्दीलगायतका स्थानमा ठूलो धनजनको क्षति भएको छ । त्यसै गरी चट्याङबाट पनि यत्रो बाढी, पहिरो, चट्याङका कारण ठूलो धनजनको क्षति भइराखेको बेलामा हामी सरकार परिवर्तनको जो प्रक्रिया भित्र प्रवेश गर्‍यौँ र , प्रतिपक्षका साथीहरूले राजीनामाको कुरा उठाई राख्नु भयो । मैले खालि यति जानकारी गराउन कर्तव्य ठानेको छु । यस्तो बेलामा पनि मैले नेपाली सेना, गृह प्रशासन, विपद् व्यवस्थापन, अनि सेक्युरिटी अङ्गका सबै प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर बाढी पहिरोबाट भएको क्षति सम्भावित क्षतिको न्यूनीकरण, रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारेमा यो प्रक्रिया सुरु भएपछि पनि पहल गरिएको तथ्यमा यहाँहरूको ध्यानाकर्षण गराउन चाहन्छु । दोस्रो त्यसको दुई दिन पछि फेरी विपद् व्यवस्थापनमा गृहमन्त्री स्वयम भएर देशभरिको क्षतिको स्थिति, अनि कहाँ कहाँ बढी बाढी पहिरोको खतरा बढी छ । त्यसको चिन्हित गर्ने र त्यसको रोकथामको निम्ति के गर्न सकिन्छ भन्ने विषयमा म स्वयम पनि सहभागी भएर त्यसको निम्ति प्रयास गरिएको पनि जानकारी गराउन चाहन्छु । तर पनि यो वर्ष जुन रूपमा मनसुन आक्रामक रूपमा प्रस्तुत भएको छ । र, अहिले पनि मौसम पूर्वानुमान अनुसार अर्को हप्तासम्म पनि जो वर्षा जारी रहने कुरा गरिएको छ । त्यसको निम्ति आज मात्रै पनि गृह प्रशासन र सम्बन्धित निकायहरूलाई उच्च सतर्कता र हुनसक्ने जति तयारी गर्न निर्देशन गरेको छु । मुग्लिन नारायणघाटको बीचमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएपछि मैले चितवन जिल्ला प्रशासनसँग, त्यहाँको महानगरपालिकासँग बिहान मात्रै कुरा गरेर स्थिति के छ, खोजी र उद्धारको निम्ति तदारुकताका साथ खोजी गर्न निर्देशन दिएको छु ।’

प्रधानमन्त्री दाहालले आफूले वर्षातका कारण थप जोखिम हुन नदिन उच्च सतर्कता अपनाउन पनि आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ