arrow

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रचण्डलाई एमालेको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
uml-yogesh.jpg

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका हुन् । उनले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताए । उनले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे । 

उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईँको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? भनि प्रश्न गरे । उनले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरु कहाँ छन् ? भनेर पनि प्रश्न गरे । उनले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि देशको राष्ट्रियतलाई उधिन्ने काम नगर्न पनि चेतावनी दिए । 

उनले भने – ‘संविधानमाथि कतिपय ठाउँबाट हमला भइराखेको छ । हामीले संविधानमाथि पुनरावलोकन गर्ने, समीक्षा गर्ने भनेका छौँ । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, उनलाई आश्वस्त गर्न चाहन्छु, र यो संसद्मार्फत सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई हामी आश्वस्त गर्न चाहन्छौँ, संविधानको पुनरावलोकन अर्थात् संविधान संशोधन ०७२ सालको संविधानको अग्रमगनको लागि हो । पश्चगमनको लागि होइन । पछाडि फर्किनको लागि होइन । जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित, महिला आज झलझली प्रधानमन्त्रीजीलाई याद भयो । तपाईँको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईका लागि हतियार बोकेका तमाम दलित युवाहरु आज कहाँ छन् ? खोज्नुभयो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु यो संसदमा कमै सिट होला तर प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित प्रतिनिधि सभा सदस्य कोही छ भने त्यो एमालेको छ । सिट कम होला तर प्रत्यक्ष जितेर आउने महिला प्रतिनिधि सभा सदस्य एमालेको बढी छ । कम छ त्यसलाई बढाउनुपर्छ थाहा छ । म भन्न चाहन्छु दलितको नाममा, महिलाको नाममा, मधेशको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने यदि दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन । त्यो सफल हुने छैन । यो देश जाति जातिको सहअस्तित्वबाट राष्ट्र बनेको हो यो कुरा ख्याल गर्नुहोला । जाति जातिको, मधेसीहरूको, पहाडीहरूको, महिलाहरूको, थारु, मुस्लिमहरुको सहकार्य, सहअस्तित्वबाट यो देशको राष्ट्रियता बनेको हो । आज फेरी त्यसलाई आफ्नो स्वार्थ सिद्ध गर्नका लागि उधिन्ने काम नहोस् । संविधान संशोधन केमा गर्ने छलफल गरौँला । संविधान संशोधन गर्दा हामी पुष्पकमल दाहाल प्रचण्डको सहयोग चाहन्छौँ । सहभागिता चाहन्छौँ । तपाईँको सहयोग र सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौँ । एमाले काँग्रेसको यो खुला कुरा हो । तपाईँलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्छु, विद्रोह हुन्छ । अब सम्भव छैन । त्यो बाटो छैन अब ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ