लगातार दोस्रो पटक जोकोभिचलाई हराउँदै अल्काराजले जिते विम्बल्डनको उपाधि
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
3.4k
Shares
काठमाडौँ । लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि स्पेनिश खेलाडी कार्लोस अल्काराजले जितेका छन् । अल्काराजले लगातार दोस्रो पटक नै सर्भियन खेलाडी नोभाक जोकोभिचलाई हराउँदै उपाधि जितेका हुन् । गत वर्ष अल्काराजले जोकोभिचलाई १–६, ७–६, ६–१, ३–६ र ६–४ ले हराएका थिए ।
त्यो फाइनल विम्बल्डनको इतिहासकै सबैभन्दा लामो ४ घण्टा ४२ मिनेट चलेको थियो । तर यसपालि भने अल्काराजले सोझो तीन सेटमा पराजति गर्दै लगातार दोस्रो वर्ष विम्बल्डनको उपाधि जितेका हुन् ।
२१ वर्षीय अल्काराजले ६–२, ६–२ र ७–६ को सोझो सेटमा जोकोभिचलाई पराजित गरेका हुन् । युवा खेलाडी अल्कारेजको यो चौथो ग्राण्ड स्लाम उपाधि हो । उनले दुई विम्बल्डनसहित यसै वर्ष फ्रेन्च ओपन र सन् २०२२ मा युएस ओपन जितेका थिए ।
त्यस्तै यसअघि सात पटक विम्बल्डन जितेका जोकोभिच लगातार दोस्रो वर्ष उपविजेता बनेका छन् । २०२३ मा अस्ट्रेलियन, फ्रेन्च र युएस ओपन जितेका जोकोभिच यस वर्ष भने उपाधिविहीन बनेका छन् ।
३७ वर्षे जोकोभिच खेलाडी जीवनको उत्तरार्धमा छन् ।
यता महिलातर्फको विम्बल्डनको उपाधि बार्बरा क्रेजसिकोभाले जितेकी छिन् । फाइनलमा जस्मिन पाओलिनीलाई पराजित गर्दै क्रेजसिकोभाले उपाधि जितेकी हुन् ।
उनले खेल ६–२, २–६ र ६–४ ले जितिन् । उनले दोस्रो ग्राण्डस्लाम जितेकी छिन् । यसअघि सन् २०२१ मा फ्रेन्च ओपन जितेकी थिइन् ।