- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । स्पेनिश टेनिस स्टार खेलाडी रफाइल नदालले टेनिसलाई बिदाइ गरेका छन् । पुरुष एकल विधामा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने दोस्रो खेलाडी नदाललाई विश्वकै उत्कृष्ट खेलाडीमा गनिन्छ । डेभिस कपको फाइनलमा हार बेहोरेपछि ३८ वर्षीय नदालले यो आफ्नो अन्तिम खेल भएको बताएका हुन् ।
२२ ग्राण्डस्लाम जितेका नदालले खेलपछि आफूले देखेको सपनाभन्दा पनि धेरै हासिल गरेको बताएका छन् । नदालले टेनिसमा उनका प्रतिद्वन्द्वी सर्बियन खेलाडी नोभाक जोकोभिकपछि दोस्रो धेरै ग्राण्डस्लाम जितेका छन् ।
उनले फ्रेन्च ओपनको उपाधि रेकर्ड १४ पटक जितेका छन् । त्यस्तै उनले चार पटक यूएस ओपन जितेका छन् भने अस्ट्रेलियन ओपन र विम्बल्डन २–२ पटक जितेका छन् । त्यस्तै उनले ओलम्पिकमा सिंगल र डबल स्वर्ण पदकसमेत जितेका छन् ।
संन्यासअघि वर्षौंसम्म नदालविरुद्ध खेलेका स्वीस खेलाडी रोजर फेडेररले उनको लागि भावनात्मक सन्देश दिएका छन् । नदालका साथी तथा प्रतिद्वन्द्वी फेडेररले नदालले आफूलाई टेनिसमा थप रमाइलो बनाएको बताएका छन् ।
४० खेल र १५ वर्षसम्म चलेको यी दुईबीचको प्रतिद्वन्द्वी टेनिस फ्यानका लागि आकर्षणको केन्द्र बनेको फेडेररले बताएका छन् ।
फेडेररले सामाजिक सञ्जालमा नदाललाई भावुक सन्देशमा लेखेका छन्, ‘तिमीले टेनिसबाट ग्रेजुएट हुने तयारी गरिरहँदा म धेरै भावुक हुनुभन्दा पहिले केही कुरा साझा गर्न चाहन्छु । अरू कसैले मलाई चुनौती दिएको भन्दा धेरै पटक तिमीले मलाई हराएका छौ । क्ले कोर्टमा जब म तिमीविरुद्ध खेल्थेँ, मलाई तिम्रो घरको आँगनमा खेलेको जस्तो लाग्थ्यो । तिमीले मलाई यहाँ सोचेभन्दा बढी संघर्ष गर्नुपर्ने बनायौ । तिमीसँग कस्तो अचम्मको कीर्तिमान छ, १४ फ्रेन्च ओपन उपाधि ऐतिहासिक छ । तिमीले स्पेन र टेनिसको सम्पूर्ण विश्वलाई गौरवान्वित बनाएका छौ ।’