arrow

यार्सा पाटनमा मृत्यु र पीडितका परिवारलाई टेवाको सहयोग

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ साउन २ बुधबार
teba-yarsha-81-4-1.jpg

मुगु । यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेको बेला बिरामी परेका र लेख लागेर मृत्यु भएकाहरुको परिवारलाई टेवाले राहत स्वरुप आवश्यक सामग्रीहरु सहयोग गरेको छ । 

गत बैशाखदेखि असार मसान्तसम्म यार्सा टिप्न गएका बेला बिरामी भएर मृत्यु भएका ४ जनाको परिवार र बिरामी परेका २७ जनाको घरपरिवारलाई दैनिक उपभोग्य, लत्ता कपडा लगायतका राहत सामग्री सहयोग गरेको टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रकी अध्यक्ष सुकमाया शाहीले जानकारी गराइन् ।

यार्सा पाटनमा छायाँनाथ रारा नगरपालिका वडा नं १० का १ जना र वडा नं १२ का ३ जना युवाहरुको मृत्यु भएको थियो भने २७ जना परिवारका युवा सदस्यहरु बिरामी भएका थिए ।

यार्सा टिप्न जाँदा उच्च पाटनसम्म पुग्नुपर्ने, हिमाल चढ्नु पर्ने भएकाले प्रायः युवा, युवती यार्सा टिप्न जाने गर्छन् । एक सिजनमा एउटा परिवारले यार्सा बेचेरै कम्तीमा ३ लाखसम्म आम्दानी गर्ने गर्छन् ।
 
१५ देखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च पुग्ने भएकाले गाउँ गाउँबाट घर नै खाली गरेर युवा शक्ति पाटन पुग्ने गर्दछन् । 

घरका कमाउने युवा शक्तिको मृत्यु र बिरामी हुँदा यो सिजनमा प्रभावित परिवार यार्सा टिप्न र आर्थिक कमाउनबाट बन्चित भएकाले उनीहरुलाई थोरै भए पनि राहत होस् भनेर टेवाको आर्थिक सहयोगमा राहत उपलब्ध गराइएको अध्यक्ष शाहीले बताइन् ।
 
उनका अनुसार राहतमा चामल ५० केजी, १ केजी दाल, खानेतेल १ लिटर, नुन ४ केजी, चिउरा १ केजी, फाइबर सिरक, डसना, तन्ना, सिरानी एक एक सेट सामान र मृतकका परिवारलाई दैनिक उपभोग्य वस्तुहरु अन्य प्रभावित परिवार भन्दा डबलका साथै प्रतिपरिवारलाई १२ हजार नगद सहयोग गरिएको छ ।

बाढी, पहिरो, आगलागी, सवारी दुर्घटना, लेक लागेर मृत्यु भएका, बिरामी परेका, धनजनको क्षति भएका प्रभावित परिवारलाई राज्यको उपस्थिति नहुँदै राहत लिएर विगत लामो समयदेखि टेवा मुगाली पीडितहरुको घर आगनमा पुगी मलम लगाउँदै आएको छ ।

यार्सा पाटनमा मृत्यु भएर र बिरामी परेर प्रभावित भएका परिवारले अहिलेसम्म कहीँ कतैबाट राहत सहयोग नपाएको र टेवामात्र पहिलो सहयोगीको रुपमा गाउँमै राहत लिएर आएको छायाँनाथ रारा नगरपालिका वडा नं १० का पीडित सिर्जना कुमाइले बताइन् ।

उनले आँखाभरी आँसु निकाल्दै मलिन स्वरमा भनिन्, ‘यार्सा टिप्न गएका बेला श्रीमान देवराज बुढाको पाटन मै मृत्यु भयो । कमाउने घरमा उहाँ मात्र हुनुहुन्थ्यो अब हामी कसरी पालिने होला ? घरखर्च कसरी जुटाउने होला ? हामी कसको भरमा बसौँ ?’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ