arrow

प्रधानसेनापतिबारे प्रधानमन्त्रीको चासोः शर्मा अवकाशमा जाँदै सिग्देल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
kp-sharma-oli-pm-81.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नयाँ सरकार बने लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना र त्यसको वस्तुस्थितिको बारेमा चासो लिएका छन् । 

आउँदो साउन २५ गते प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा जानुअघिको बिदा बस्ने भएपछि प्रधानमन्त्री ओलीले चासो राखेका हुन् । 

खासगरी बुधबार साँझ यसअघिका रक्षामन्त्री हरि उप्रेती र अहिले नियुक्त भएका रक्षामन्त्री मानवीर राईलाई सँगै राखेर ओलीले नेपाली सेना र त्यसको संरचनाको बारेमा चासो चिन्ता प्रकट गरेका हुन् । 

बुधबार साँझ दुई घण्टा रक्षामन्त्री राई र उप्रेतीलाई सँगै राखेर हालका प्रधान सेनापतिको भूमिका र अब हुने बलाधिकृत रथी अशोकराज सिग्देलबारे चासो राखेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । 

त्यसैगरी रक्षा सचिव किरण शर्मा र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारको जिम्मेवारीमा रहेका शंकरदास बैरागीको बारेमा पनि चासो राखेको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्री ओली अहिले सेनाको संरचना चलाउने पक्षमा छैनन् । तर सेनामा देखिएको नक्कली शैक्षिण प्रमाणपत्रको भद्रगोलबारे भने पर्याप्त जानकारी राखिरहेका छन्, जसले गर्दा अघिल्लो पटक रक्षा मन्त्री उप्रेतीले बुझेको अवस्था र अहिले मानवीर राईले बुझ्न चाहेको अवस्थामा प्रधानमन्त्रीले चासो र सहजीकरण गरेका हुन्’, बालुवाटार स्रोतले भन्यो । 

सेनाजस्तो संवेदनशील पक्षलाई सरकारले चलाउने कुरा छैन तर त्यसको कमाण्ड गर्ने व्यक्ति खराब हुनुहुँदैन भन्ने पक्षमा प्रधानमन्त्री रहेको स्रोतले जनाएको छ ।

सैनिक ऐनअनुसार प्रधानसेनापतिको पदावधि तीन वर्षको हुन्छ र एक महिना पदावधि बाँकी छँदै बिदा बस्ने अभ्यास सेनामा स्थापित रहेकाले यही साउन २५ पछि बन्ने प्रधानसेनापतिबारे बजारमा आएका विषयवस्तुसँग पनि सरोकार राखिएको स्रोतको दाबी छ ।

अहिलेको अवस्थामा कुनै ठूलो उथलपुथल नभए त्यही दिन अर्थात् साउन २५ गते नै बलाधिकृत रथी अशोकराज सिग्देलले कायममुकायम प्रधानसेनापतिका रूपमा जंगी अड्डाको नेतृत्व सम्हाल्ने छन् । 

सरकारले सिग्देललाई कायममुकायम मुकरर गर्ने निर्णय त्यसअघि नै गरिसक्नेछ । उनले महारथीको दर्ज्यानीसहित तीन वर्षका लागि नेपाली सेनाको नेतृत्व सम्हाल्ने छन् । सेनाको आधुनिक इतिहासअनुसार सिग्देल ४५औँ प्रधानसेनापति हुनेछन् ।

त्यसो त २०८० असोज ३० गते जंगीअड्डाले उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गर्ने औपचारिक प्रक्रिया शुरू गरेको थियो । 

अनिवार्य अवकाशमा जान लागेका रथी सरोजप्रताप राणा बिदा बसेलगत्तै जंगी अड्डाले पाण्डेको बढुवा सिफारिस सम्बन्धी सात दिने सूचना निकालेको थियो । त्यसबेला प्रधानसेनापति शर्मा चीन भ्रमणमा जाँदै थिए । 

शर्मा चीनबाट फर्केलगत्तै बढुवा सिफारिस गर्न सजिलो हुनेगरी जंगी अड्डाले सूचना प्रकाशन गरेको थियो ।

 सबै कुरा ठीकठाक ढंगले अघि बढेको भए पाण्डे त्यहीबेला बढुवा भएर शर्मापछि प्रधानसेनापति बन्ने रोलक्रममा बस्थे । 

अर्का रथी सीताराम खड्काले उमेरहदका कारण पुस ३ गते अवकाश पाएपछि मात्र सिग्देल रथीमा बढुवा हुने थिए ।  

सात दिने सूचना प्रकाशन भएलगत्तै पाण्डेमाथि लागेका गम्भीर आरोप सञ्चारमाध्यममा छताछुल्ल भएपछि समस्या पर्यो । 

नैतिक हिसाबले हेर्ने हो भने सिफारिस गर्ने प्रधानसनापति र बचाउमा विज्ञप्ति निकाल्ने निकाय पनि समस्यामा परेको थियो ।

तर उनीहरुले नैतिकता देखाएनन् । पाण्डेले एसएलसी उत्तीर्ण गर्दाको शैक्षिक प्रमाणपत्र र क्याम्पसको शैक्षिक प्रमाणपत्रमा उल्लेख शुरूको जन्ममिति सच्याएर उमेर घटाएको दाबीसहितका कागजात बाहिर आएपछि जंगी अड्डा शुरूमा त पाण्डेको प्रतिरक्षामै ओर्लिए पनि पाण्डेले कार्तिकमा राजीनामा दिएर सेनाबाट बिदा भएका थिए । 

त्यसयता सेनामा एक प्रकारले नक्कली शैक्षिक प्रमाणपत्रको विवाद बाहिर आउने गरेको छ । 

यो विषयलाई प्रधानमन्त्रीले चासोको रुपमा लिएको स्रोतको दाबी छ । सेनामा नेतृत्वले आफ्ना उत्तराधिकारीलाई अन्योलमा राख्ने प्रयास कम हुने गरेको समयमा अहिले सिग्देल बालाधिकृत रथी भएकाले प्रधानसेनापति उनै हुन् भन्न अप्ठेरो छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ