arrow

गाउँ र यार्सा लुट्ने समूह पक्राउ र अनुसन्धान गर्ने प्रहरी सम्मानित

logo
नृपेन्द्रबहादुर मल्ल,  
प्रकाशित २०८१ साउन ३ बिहिबार
police-reward-mugu-81-4-3.jpg

मुगु । मुगुस्थित मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १ मा रहेको डोल्फु गाउँका २४ घर, १ सार्वजनिक गुम्वा र यार्सा लुट्ने समुहलाई अनुसन्धानमा खटिइ पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिकाले सम्मान गरेको छ ।

गत जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गर्न पाटनतिर गएको मौका छोपी लुटेरा आठ जनाको  हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो । 

एक महिना लामो अनुसन्धान, खोजतलासपछि नेपाल प्रहरीले लुटेरा समूहका ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । अझै ५ जना फरार रहेका छन् ।

उच्च हिमाल, हिमपात, विकट, जङ्गल, पाटन चाहार्दै नेपाल प्रहरीले लुटेराहरुको पहिचान गरी लुटेका सामानहरुमध्ये केही सामानसहित ३ जनालाइ पक्रन सफल भएको भन्दै मुगुम कार्मारोङ्ग गाउँपालिकाले नेपाल प्रहरीलाई सम्मान गर्ने निर्णय गरे बमोजिम गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापा र प्रहरी संगठनलाई बिहीबार सम्मान गर्नुका साथै सम्मान पत्रहरु  हस्तान्तरण गरेका थिए । 

सम्मान कार्यक्रममा बोल्दै प्रनाउ थापाले दिनरात नभनी जनताको सुरक्षामा खटिने प्रहरिहरुको कामलाइ उच्च मूल्यांकन गर्दै जनस्तरबाट हुने यस्ता खालका सम्मान कार्यक्रमले प्रहरीको मनोबल बढ्नुका साथै गरिरहेका काममा अझ निखार ल्याउन ऊर्जा प्राप्त हुने बताए ।

प्रहरी नायब उपरिक्षक मार्फत डोल्फु घटनामा प्रत्यक्ष,अप्रत्यक्ष  खटिएका सबै प्रहरीलाई गरिएको सम्मानले जनस्तरमा प्रहरीप्रति रहेको विश्वास अझ प्रगाढ बनाएको र यस्ता जटिल खालका घटनामा प्रहरीलाई  अनुसन्धान गर्न मनोबल बढाउने भएकाले जनताका सरकारहरुले ज्यानको बाजी राखी अपराधमा संलग्नहरुमाथि अनुसन्धान गर्ने, पक्राउ गर्ने प्रहरीहरुलाई सहयोग र सम्मान गर्न पनि जान्नुपर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । 

‘जिल्लाकै विकट गाउँ सदरमुकामबाट पुग्नै पैदल ३ दिन लाग्ने ठाउँमा भएको यस्तो घटनामा संलग्नहरुको खोजी तथा पक्राउ गर्न प्रहरी सफल होला भनेर हामीले विश्वास नै गरेका थिएनौँ । त्यत्रो भूगोलमा लुटेराहरु कता भागे कता लुके सोचेका थियौँ तर प्रहरीले के चमत्कार गरी लुटेराहरुलाई पक्रियो आफूहरुलाई अचम्म लागेको र प्रहरीको यस्तो कार्यले फरार अन्य व्यक्तिहरु पनि छिट्टै पक्राउ पर्ने विश्वास आफुहरुलार्इ लागेको छ’, मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्यापने लामाले बताए ।

उनले भने, ‘डोल्फु घटनामा प्रहरीले खेलेको भूमिकाले नेपाल प्रहरीले पानी भित्र लुकेको अपराधीलाई पनि छोडदैन रैछ भन्ने सन्देश जनता माझ पुगेको छ । यस्तो प्रहरी संगठन र मातहतका विभिन्न दर्जाका प्रहरीलाई सम्मान गर्न पाउनु सिङो गाउँपालिकाकै गर्वको विषय हो ।’

गत वर्ष पनि प्रनाउ विरेन्द्र थापाको नेतृत्वमा रहेको प्रहरीले एकै परिवारका आमासहित ४ जना छोरा छोरीको हत्या भएको घटनाको सफलतापूर्वक अनुसन्धान गरी घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको थियो । 

कुशलता र शान्तिपूर्ण रुपमा मन्दु घटनामा संलग्नहरुको खोजी र अनुसन्धान गर्न प्रहरी सफल भएको भन्दै त्यो बेला पनि प्रनाउ विरेन्द्र थापासहित अनुसन्धानमा खटिएका सबै प्रहरी सहित उच्चदर्जाका प्रहरीहरुलाइ नगरपालिका, समन्वय समिति, नागरिक संघ संस्था र नागरिक स्तरबाट सम्मान गरिएको थियो ।

डोल्फु घटनामा लुटेरा समूहले गाउँका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानियहरुले प्रहरीमा जाहेरी दिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ