arrow

प्रचण्डको पालामा एक वर्षमा सरकारले लियो थप ३५८ अर्ब ऋण, १३४ अर्बको भार थपियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
pm-office-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एक वर्षमा देशको सार्वजनिक ऋण १ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो असार मसान्तदेखि यो असार मसान्तसम्ममा सो बराबरको सार्वजनिक ऋण बढेको हो । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अघिल्लो वर्षको असा मसान्तसम्म देशको कुल ऋणको आकार २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो । २०८१ असार मसान्तसम्म यस्तो ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । असारको एक महिनामा मात्रै झण्डै ३३ अर्ब ऋण थपिँदा ऋणको आकार सो बराबर पुगेको हो । 

अहिलेसम्मको ऋणमध्ये ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण रहेको छ भने १२ खर्ब ५२ अर्ब ३३ करोड रुपैयाँ बराबरको बाह्य ऋण रहेको छ । अघिल्लो असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड र बाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड रुपैयाँ रहेको विभागको तथ्यांक छ । 

यो अनुसार एक वर्षको अवधिमा आन्तरिकतर्फ झण्डै ५१ अर्ब र बाह्यतर्फ ८२ अर्ब रुपैयाँ बराबरको ऋण थपिएको छ । यो पाकेको तर सम्झौता अनुसार भुक्तानी गर्न बाँकी ब्याज समेतको रकम हो । 

आर्थिक वर्ष २०८०–८१ मा सरकारले ४ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । त्यसमध्ये बाह्यतर्फ २ खर्ब १२ अर्ब तथा आन्तरिकतर्फ २ खर्ब ४० अर्ब ऋण परिचालनको लक्ष्य रहेको थियो । 

आर्थिक वर्ष सकिँदासम्म ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण प्राप्ती भएको विभागको तथ्यांक छ । यसमध्ये बाह्यतर्फ १ खर्ब २३ अर्ब तथा आन्तरिकतर्फ २ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको ऋण प्राप्ती भएको छ । यो क्रमशः ९७.६८ प्रतिशत र ५८.१० प्रतिशत बराबरको प्रगति हो । 

यो वर्ष ब्याज भु्क्तानीका लागि मात्रै १ खर्ब १२ अर्ब रुपैयाँ खर्च गरिएको छ । यसमध्ये आन्तरिक ऋणको भुक्तानीका लागि ७२ अर्ब रुपैयाँ र बाह्य ऋणको भुक्तानीका लागि ४० अर्ब रुपैयाँ खर्च गरिएको छ । 

अहिलेको ऋणको आकारका आधारमा प्रतिव्यक्ति सार्वजनिक ऋण ८३ हजार नाघेको छ  । यसमध्ये झण्डै ४० हजार ५ सय तथा बाह्यतर्फ ४८ हजार ९ सय हाराहारी हुन आउँछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ