arrow

अस्पतालमा पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने यसरी परे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
civil-hospital-waiting.JPG

काठमाडौँ ।  काठमाडौँको नयाँबानेश्वरबाट मोटरसाइकल चोरीमा सङ्लग्न दुई जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कोहल्वी नगरपालिका–२ ककडी घर भइ हाल काठमाडौँको कीर्तिपुर बस्ने २३ वर्षीय सुवास चौधरी र कोहल्वी नगरपालिका–५ घर भइ हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यमनारायण चौधरीलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वेराज खड्काले जानकारी दिए ।

गत मङ्गलबार काठमाडौँको सिभिल अस्पतालमा पार्किङ गरिराखेको बागमती प्रदेश ०२–०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल चोरी भएको भन्दै भक्तपुरका मनिषबहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

सिसिटिभी फुटेजका आधारमा नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु२२प ८५२० नम्बरको मोटरसाइकलसहित उनीहरु पक्राउ परेका खड्काले बताए । उनीहरुको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारसमेत बरामद भएको छ ।

चोरी गरेको बागमती प्रदेश ०२–०४३ प ०९९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । उनीहरुलाई थप कानुनी कारबाहीका लागि बिहीबारै प्रहरी वृत्त नयाँबानेश्वरमा बुझाइएको छ ।

कार्यालयले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस लकलगायत सुरक्षा साइरनहरू जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ । हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयं सजग हुनुपर्ने खड्काले बताए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ