arrow

कास्कीमा विपद्का घटना : १४ जनाको मृत्यु, चार करोड बढीको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
pahiro-pokhara27.jpg
फाइल तस्बिर

पोखरा । यस वर्षको मनसुन सुरू भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ ।

घटनामा छजना घाइते भएका छन् । यसबीचमा जिल्लामा बाढीपहिराका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकानुसार विपद्मा परेर पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुईजनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका-१९ पुरुनचौर तल्लाकोटका गत असार २७ गतेको पहिरामा परी स्थानीय कुलबहादुर परियारको परिवारका छसहित सात जनाको ज्यान गएको थियो ।

पहिरामा परेर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी ५६ वर्षीया राधिका परियारको मृत्यु भएको थियो ।

यसैगरी सोही रात पोखरा महानगरपालिका-३२ चैनपुरस्थित बाह्रविसेमा ४० वर्षीया आरती ओझोको घर पहिरामा पुरिदा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र नौ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको थियो ।

यसैगरी असार २७ गते राति मादी गाउँपालिका-११ ताप्लेमा गएको पहिरामा परेर ८० वर्षीया माइतीकुमारी गुरुङको ज्यान गएको थियो ।

गत असार २६ गते पोखरा महानगरपालिका-२७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरामा परेर निधन भएको थियो ।

गत असार १२ गते रातिको घटनामा कास्कीको मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको थियो ।

सोही दिनको घटनामा पोखरा महानगरपालिका-२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरामा परेर ज्यान गएको थियो । यसैगरी अविरल वर्षाका कारण दुईजना घाइते भएका छन् ।

प्रहरीकानुसार पहिराका कारण जिल्लामा १४ वटा घर पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको छ । पहिराका कारण एकवटा चौपाया मरेका र चार वटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

यस्तै वर्षाका कारण पाँचवटा चौपायाको मरेका, दुईवटा घाइते तथा एक हजार नौ सय २० वटा पंक्षी मरेका पनि शर्माले जानकारी दिए ।

विपद्बाट जिल्लामा अन्दाजी रु चार करोड आठ लाख ८१ हजारभन्दा बढीको सम्पत्तिमा क्षति भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ