जीबी राईसहित सहकारी रकम अपचलन गरेर फरार १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
790
Shares
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भइ विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
बैठकपछि सञ्चार कर्मीहरूलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए । उनले विदेश फरार रहेका व्यक्तिहरू संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको बताए ।
उनले बचतकर्ताहरूको बचत दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुच्छ गर्न आवश्यक भएको बताए । उनले विदेशमा रहेका १८ जनालाई पनि समितिको छानबिनको दायरामा आउन जरुरी रहेको बताए ।
उनले सानुपाइला,सहारा,सूर्यदर्शन,स्वर्णलक्ष्मी,हाम्रो नयाँ कृषि,सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई,सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन,राजमाया महर्जन,सचिन महर्जन र सरला महर्जन,सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन,थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई,तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम,इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल,साना पाइलाका तस्विरण खातुन र असरफ अली,सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास के.सी, कान्तिर सहकारीका प्रेमध्वज लामा,मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको बताए ।
उनले १८ जना अमेरिका,बेलायत,मेलेसिया,युरोप लगायत भारत र कतिको अज्ञात रहेकाले बचत कर्ताहरूको गुनासो रहेको बताए ।
उनले भने,‘सहकारी पीडितहरूले बचत अपचलन दुरुपयोग र ठगी गरेको भनेर गुनासो गरेका १८ जना व्यक्तिहरू विदेशमा रहेको र संसदमा पनि कुरा उठ्ने गरेको छ । विदेशमा रहेका व्यक्तिहरू संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहेको छ । यो सन्दर्भलाई बिचार गरेर समितिले गृहमन्त्रीलाई आमन्त्रित गरेर आग्रह गरेको छ । उनीहरूलाई समितिको छानबिनको निम्ति देशभित्र ल्याउने वातावरण बनाइदिनुस् । भनेका छौं । देशभित्र ल्याई दिनुस् । उनीहरूलाई नेपाल ल्याएर सोधपुछ गर्न जरुरी भयो । बचतकर्ताहरूको बचत दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिमा के भन्नुहुन्छ भन्ने कुरा जरुरी भयो । सहकारी ठगी प्रकरणमा परेका धेरै बाहिर रहेका छन् । उनीहरूलाई नेपालमा ल्याउन कानूनी पक्षमा के छ सरकारले गर्ने हो । पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्नुपर्ने छ वा के छ । नेपाल सरकार र सम्बन्धित देशबिच गर्नु पर्ने काम हो । उनहरु समितिको छानबिनको दायरामा आउन जरुरी छ । १८ जनाको नाम गृह मन्त्रालयलाई दिएका छौं । त्यसमा जीबी राई छन् । उनी सानुपाइला,सहारा,सूर्यदर्शन,स्वर्णलक्ष्मी,हाम्रो नयाँ कृषि,सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा हुनुहुन्छ । सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन,राजमाया महर्जन,सचिन महर्जन र सरला महर्जनको विषयमा पनि सहकारी पीडितहरूले देश छाडेर बाहिर गएको गुनासो गर्नुभएको छ । सुर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन अमेरिकामा गएको गुनासो आएको छ । थानबहादुर बुढा मगर सूर्यदर्शनको पछिल्लो सञ्चालक समिति अध्यक्ष । शिवशिखर सहकारीका भूपेन्द्र राई,तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम,इमेज सहकारीका देवकुमार नेपाली , क्षेदा नेपाली र दीपक पौडेल ,साना पाइलाका तस्विरण खातुन र असरफ अली,सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास के.सी, कान्तिर सहकारीको प्रेमध्वज लामा,मेगाडिम सहकारीको महाशंकर रेग्मी गरी १८ जना अमेरिका,बेलायत,मेलेसिया,युरोप लगायत भारत र कतिको अज्ञात रहेकाले उनहरुलाई खोज्न, स्वदेश फर्काएर उनीहरूलाई छानबिन समितिको सम्पर्कमा ल्याएर छानबिन प्रक्रियामा सहभागी गराउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । नेपाल सरकारले व्यवस्था मिलाओस् भनेर आग्रह गरेका छौं । उनीहरूलाई छानबिन प्रक्रियामा ल्याएपछि मात्रै समिति निष्कर्षमा पुग्न सक्छ ।’
उनले सहकारी ठगी गरेका आरोपमा विराटनगर, कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्ने बताए । उनले सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको पनि बताए । उनले समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको बताए । उनले बैठकमा गुण कोअप्रेटिभका सञ्चालक राजेन्द्र शाक्यले बचतकर्ताको रकम फिर्ता गरेको जनाकारी दिएको पनि सभापति थापाले जानकारी दिए ।