arrow

टाइगर प्यालेस रिसोर्टका श्रमिकले थाले अनिश्चितकालीन धर्ना

logo
नारायण वली,
प्रकाशित २०८१ साउन २० आइतबार
tiger-place- dharna 2.jpg

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १३ कोटिहवा स्थित रगेको टाइगर प्यालेस रिसोर्टबाट कोरोनाकालमा निकालिएका श्रमिकहरुले गत पुस १३ गते भएको सम्झौतालाई कार्यान्वयन नगरी पटक पटक वार्ता बसे पनि उपलब्धिमूलक नभएपछि श्रमिकहरु अनिश्चितकालीन शान्तिपूर्ण धर्नामा उत्रिएका छन् ।

श्रम अदालतमा परेको मुद्धामा प्यालेसले हारिसकेको र अदालतले दिएको आदेशलाईसमेत लत्याउँदै आएकाले आफूहरु न्यायिक लडाइँका लागि रिसोर्टको गेटमै पत्रकार सम्मेलन गरी शान्तिपूर्ण धर्नासहित आन्दोलनलाई शुरु गरिएको घोषणा गरेका छन् । 

पीडित श्रमिकहरुले गठन गरेको संघर्ष समितिका संयोजक चित्रबहादुर भण्डारीले भने कोरोनाकालमा रिसोर्टले एकैपटक मेलमार्फत झण्डै ४ सय जना कर्मचारीहरुलाई बिना जानकारी निकालेपछि आफूहरु श्रम अदालत गएको र अदालतले आफूहरुको पक्षमा फैसला गरेको बताउँदै अदालतको फैसलालाई कार्यान्वयन नगरी लत्याएर राजकुलो मिचेर संरचना बनाएको विषयमा जिल्ला अदालत रुपन्देहीबाट हारिसकेको विवादित रिसोर्टलाई नेपाल बाहिरबाटै बिक्री गरिएको थियो भने नयाँ व्यवस्थापनले निष्कासित श्रमिकहरुलाई पुनर्वहाली र बक्यौता दिन पन्छिरहेको छ ।

संयोजक भण्डारीले श्रम ऐनको २०७४ को दफा १४ अनुसार स्वामित्व परिवर्तन भए पनि रोजगार सम्बन्ध कायमै रहने व्यवस्था अनुसार कुनै रोजगारदाताको काम वा व्यवसाय सोको कुनै भाग कानून बमोजिम स्वामित्व परिवर्तन वा हस्तान्तरण भएमा वा त्यस्तो काम वा व्यवसाय सञ्चालन गर्न अरु सकैलाई दिएमा वा दुई वा दुईभन्दा बढी प्रतिष्ठान वा व्यवसाय आपसमा गाभिई नयाँ प्रतिष्ठान वा व्यवसाय सिर्जना भएमा स्वतः पुनर्बहाली दिने वा स्थानान्तरण गर्नुपर्ने स्पष्ट लेखिएको बताए ।

सम्झौतामा हस्ताक्षर गरेको रिसोर्टले क्यासिनो सञ्चालनको जिम्मा नयाँ क्यासिनो व्यवसायीलाई सञ्चालन गर्न दिएर श्रमिकहरुलाई पुर्नबहाली गर्नुपर्ने ऐन र २०८० पुस १३ भएको सम्झौताबाट जोगिने चर्तुर्याइँ गरेको छ । कम्पनीले जति चलाखी खेल खेलेपनि कानुनी न्यायिक लडाइँमा झुक्नै पर्छ । नयाँ व्यवस्थापनले सञ्चालन गरेको क्यासिनोको लाइसेन्स प्रक्रियामा अनुगमनमा आएका पर्यटन विभागका डिजीसहित चारजनाले विभागकै पत्रमा लेखिएको बुँदा न-४ लाई पाखा लगाएर यसअघि आफुले पाउने पैसा लिएर निस्किसकेकाहरुको नाम विवरण बुझाएर लाइसेन्स प्राप्तिमा फर्जी काम गरेको भण्डारीको भनाइ छ ।

ट्रेड युनियन कर्मचारी संगठन केन्द्रीय अध्यक्ष रोशन गुरुङले रिसोर्ट र क्यासिनो सञ्चालकले अदालतको आदेशलाई चुनौती दिँदै सम्झौतालाई खेलाँचीको रुपमा हेर्दै आएको भन्दै शान्तिपूर्ण धर्ना आन्दोलनलाई हल्का बनाउन खोजिए आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिए । श्रम अदालतमा मुद्दा हारेपछि रिसोर्टले पुनः सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हालसम्म विचाराधीन अवस्थामा छ ।

श्रम अदालतले गरेको फैसलामा यहाँ रहेका कर्मचारीलाई १२ देखि १५ लाखसम्म दिनुपर्ने फैसला गरेको छ, जुन श्रमिकहरुले बीचमा बन्द भएको अवस्थाको समेत सेवा पाउने पूर्णपाठमा खुलाईएको छ । संघर्ष समिति, ट्रेड युनियन र टाइगर वानबिच पटकपटक सम्झौता भए पनि कार्यान्वयनमा उदासीनता देखाउँदै आएको श्रमिकहरुले बताएका छन् ।

यसअघि सञ्चालन गरेको विदेशी कम्पनीले विदेशमै बिक्री गरेपछि बिक्री प्रक्रियामाथि वैधानिकताका विषयमा प्रश्न उठ्दै आएको छ । अहिले नयाँ व्यवस्थापन टिमको नेतृत्व गरेका चितवन घर भएका हाल अमेरिकामा बस्ने बुद्धिसागर सुवेदीको समूहले किनेको छ । पर्यटन विभागको पत्रमा उल्लेख भएअनुसार श्रमिकहरुको विषय  टुंगोमा नसुल्झाउँदासम्म नयाँ क्यासिनोको लाइसेन्स प्रक्रिया अगाडि नबढ्ने उल्लेख गरिएको छ ।

श्रम अदालतले गरेको फैसला अनुसार क्षतिपूर्तिसहित प्रतिव्यक्ति १२ देखि १५ लाखसम्म कम्पनीले दिनुपर्ने भए पनि कर्मचारीहरुले कम्पनीको अवस्थालाई हेर्दै नयाँ व्यवस्थापन टिम (अमेरिकामा रहेका गैरआवासीय नेपालीले खरिद गरेको हालका टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीको) सँग सम्झौता गर्दा प्रतिव्यक्ति राजीनामाको हकमा २ लाख ७० हजार र पुनर्बहालीको हकमा १ लाख ६५ हजार दिनुपर्ने सहमति गरिएको संघर्ष समितिले जनाएको छ ।

राजीनामा दिएकाहरुलाई तत्कालै भुक्तानी दिनुपर्ने र पुनर्बहाली नभएकाहरुलाई किस्ताबन्दीमा दिनुपर्ने उल्लेख भए पनि हालसम्म कम्पनीले सम्झौतालाई कार्यान्वयन गरेको छैन ।

कोरोनाको बेला निष्कासन गरिएकाहरुमध्ये क्यासिनोमा ४३ जना र होटलतर्फ २२ जनालाई पुनर्बहाली गरिएकोमा अझै क्यासिनोतर्फ १८ जना र होटलतर्फ चार जनालाई पुनर्बहाली गरिएको नगरिएको संघर्ष समितिका संयोजक भण्डारीले बताए । 

उनका अनुसार आफूहरु अन्याय हुँदा पनि कतैबाट साथ नपाएको अवस्था छ । बक्यौता रकम दिनुपर्ने र पुनर्बहाली गर्नुपर्ने लिखित रुपमा सम्झौता भए पनि श्रमिकहरुलाई विभिन्न बहाना बनाउँदै सम्झौता कार्यान्वयन नगरेको पीडित श्रमिकहरुले दुःखेसो पोखेका छन् । यता, सो बिषयमा स्थलगत समाचार संकलनमा पुगेका पत्रकारहरुले कम्पनीको तर्फबाट आफुहरुले प्रतिक्रिया सुन्ने र वास्तविक विवादबारे स्पष्ट पार्नका लागि रिसोर्टका सिईयो दीपक लेखक, क्यासिनो प्रमुख गिरीधारी टण्डनलाई पटकपटक फोन सम्पर्क गर्दा नउठाएपछि रिसोर्टका जिम्मेवार कर्मचारीलाई अनुमति माग्दा समेत पत्रकारहरुसँग भेट्न चाहेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ