arrow

पन्ध्र गुणाले बढ्यो प्रभु बैंकको नाफा, लाभांश बाँड्ने क्षमता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
prabhu-bank.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रभु बैंक लिमिटेडको नाफा झण्डै १५ गुणाले वृद्धि भएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण अनुसार सो बैंकले यो अवधिमा ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

अघिल्लो वर्ष बैंकको खुद नाफा २८ करोड मात्रै थियो । बैंकले कमाएको उक्त नाफा हाल रहेको २३ अर्ब ५४ करोड चुक्ता पूँजीको आधारमा यो नाफा प्रतिशेयर १९.०३ रुपैयाँ हो । 

यो वर्ष बैंकको सबै प्रकारका आम्दानी बढ्नु र इम्पेरिमेन्ट चार्जमा गिरावट आउनुले नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष १० अर्ब ६ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १२ अर्ब २ करोड आम्दानी गरेको छ । त्यस्तै शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्ष १ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब ९१ करोड पुगेको देखिन्छ । 

आम्दानीसँगै यो वर्ष बैंकको खर्च पनि बढेको छ । अघिल्लो वर्ष ३ अर्ब २८ करोड रहेको कर्मचारी खर्च बढेर ४ अर्ब ७६ करोडमा पुगेको छ । त्यस्तै अघिल्लो वर्ष १ अर्ब ४८ करोड रहेको सञ्चालन खर्च बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

यो वर्ष नाफामा उल्लेख्य सुधार आएको बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ रुपैयाँ बराबर रहेको छ । यो भनेको प्रतिशेयर ५.२० प्रतिशत बराबर हो । अघिल्लो वर्ष यो रकम नकारात्मक अवस्थामा रहेको थियो ।

वर्षको अन्त्यमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.७८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ४.९८ प्रतिशत थियो । त्यस्तै, पूँजीकोष अनुपात १३.५५ प्रतिशत, कस्ट अफ फण्ड ५.७७ प्रतिशत, बेसरेट ८.०२ प्रतिशत र ब्याजको स्प्रेडदर ३.९७ प्रतिशत रहेको देखिन्छ । 

बैंकले यो अवधिमा ३ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष निक्षेप र कर्जाको रकम क्रमशः २ खर्ब ८९ अर्ब र २ खर्ब ३४ अर्ब रुपैयाँ थियो । 

अहिले बैंकको रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । यो रिजर्भ चुक्ता पूँजी तथा रिटेन्र्ड अर्निङ समेतको आधारमा बैंकको प्रतिशेयर नेटवर्थ १५४.७६ रुपैयाँ रहेको देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ