arrow

आगलागी प्रकरणमा नौ अधिकृतलाई कारबाही गर्दा डीआईजी थापा सुरक्षित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
apf-store-room-fire-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सशस्त्र प्रहरी बलको स्टोरमा आगलागी भएको विषयमा डीआईजी पुरुषोत्तम थापालाई कारबाहीको सिफारिस भए पनि उनलाई जोगाएर अन्य नौ जनालाई मात्र कारबाहीको निर्णय भएको छ । 

सशस्त्र प्रहरी मुख्यालयले आफ्नो तर्फबाट ९ जना अधिकृतहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । साथै डीआईजीलाई मुख्यालयको तर्फबाट सचेतमात्र गराउन सक्ने भएकाले कारबाही निर्णय मन्त्रालयबाटै गर्नुपर्ने भएकाले रोकिएको स्रोतको दाबी छ ।

‘डीआईजीलाई कारबाहीको सिफारिस भएको छ तर गृह मन्त्रालयबाटै निर्णय गर्नुपर्ने भएकाले समय लागेको हो’, स्रोतले भन्यो ।

आगलागीबाट कम्तीमा पनि ६ करोडमाथिको क्षति व्यहोरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ९ जनालाई विभागीय कारबाही गर्ने निर्णय गरेको हो । 

सशस्त्रको गोदाममा भएको आगलागीमा कमजोरी देखिएको भन्दै ९ जनालाई कारबाही गर्ने निर्णय गरेको मुख्यालयले जनाएको छ । 

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले २ जना एसपी, १ डीएसपी, २ इन्सपेक्टर, १ सई, २ असई र एक जवानलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिएका छन् । 

शुरुमा डीआईजी पुरुषोत्तम थापाको पनि कमाण्ड कन्ट्रोलमा कमजोरी देखिएको भन्दै प्रश्न उठाइएको भए पनि कारबाहीको निर्णय भने नभएको मुख्यालयले जनाएको छ ।  

बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र रहेको गोदाममा २०८० चैत २६ गते आगलागी भएको थियो । सशस्त्रको भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र पशुपति बाहिनीका डियुटी इन्चार्ज एसपी अर्जुन खत्रीलाई कारबाही गर्ने निर्णय भएको छ । 

श्रेष्ठको चार वर्ष बढुवा रोक्का गर्ने र खत्रीलाई नसियत दिने निर्णय गरिएको  छ । डीएसपी नारायण सेढाई, इन्सपेक्टर गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेसहित ७ जनालाई पनि नसियत दिने निर्णय भएको छ । उनीहरुको पनि एक वर्ष बढुवा रोक्का हुनेछ । ‘उनीहरुको डिउटीमा कमजोरी देखियो’, डीआईजी न्यौपानेले भने ।

आगलागीपछि सशस्त्र प्रहरीले कार्य विभागका एआईजी वंशिराज दाहाल नेतृत्वमा ९ सदस्यीय छानसबिन समिति बनेको थियो । समितिले भण्डारण शाखादेखि बाहिनीका एसपीसम्मलाई हेडक्वार्टरमा तानेर छानबिन शुरु गरेको थियो । 

भण्डारण शाखाका एसपी श्रेष्ठसहित ७ जनासँग हेडक्र्वाटर तानेको थियो । केन्द्रीय गोदाम नं. ९ पशुपति बाहिनीको कम्पाण्डमा रहेकाले बाहिनीका एसपी सहितको टोलीलाई पनि हेडक्र्वाटर तानिएको थियो । 

घटना भएको समयमा ड्युटीमा रहेका बाहिनीका एसपी अर्जुन खत्रीसहित ११ जनालाई हेडक्र्वाटर तानिएको थियो ।

त्यसपछि उक्त घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा समिति बनाएको थियो । 

समितिले यी सुरक्षा अधिकारीहरुको लापरबाही देखिएको निस्कर्ष निकालेको थियो । समितिको सिफारिसपछि सशस्त्र प्रहरीले स्पष्टीकरण सोध्दै कारबाहीको निर्णय गरेको हो । 

आगलागीमा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्यागलगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए । नष्ट भएका सामानको ठेकेदारले भुक्तानी पाएका छैनन् । 

सशस्त्र प्रहरीको गोदामको बीमासमेत गरिएको छैन । साथै सम्बन्धित कार्यालयमा पठाइहाल्नु पर्ने सामान पनि गोदाममै राखिएको थियो । 

कम्तीमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेर नष्ट भएका थिए । विद्युत शर्ट भएर वा गोदामभित्र सानो आगोको झिल्को परेर गोदामभरि फैलिएको प्रतिवेदनमा औँल्याइएको छ ।

गृह मन्त्रालयले बनाएको छानवीन समितिले गोदाम तथा भण्डारणमा विपदबाट जोगिनका लागि सुरक्षा व्यवस्था कमजोर रहेको, सीसीटीभी सर्भिलेन्स नभएको र भण्डारण सुरक्षाका लागि आधिकारिक कुनै व्यक्ति नतोकेको जनाइएको छ ।

‘भण्डारण स्थल र व्यवस्थापन हेर्ने जिम्मेवार निकायबीचको दूरी टाढा रहेको र भण्डारण व्यवस्थापनको जिम्मेवारी पाएको नौ नम्बर बाहिनीले राम्रोसँग नहेरेको पाइयो’, प्रतिवेदनमा भनिएको छ, ‘के कारणले आगलागी भएको हो भन्न सक्ने अवस्था स्पष्ट हुन सकेन ।’  

प्रतिवेदनमा सशस्त्र प्रहरीले सामान्य सतर्कता मात्रै अपनाएको भए कम क्षति हुने निष्कर्ष निकालिएको थियो । 

‘आगलागी हुनुको कारण तथ्य प्रमाण फेला पार्न नसके पनि बिजुली शर्ट भएर वा हावाहुरीको सिजन भएकाले कतैबाट आगोको झिल्को पुगेर आगलागी भएको हुनसक्ने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सामान भण्डारण गर्दा ज्वलनशील र अज्वलनशील वस्तुहरू एकै ठाउँमा राख्दा आगलागीबाट धेरै क्षति व्यहोर्नुपरेको देखिन्छ ।’ 

प्रतिवेदनमा कम्तीमा ६ देखि ७ करोड रुपैयाँ बराबरको क्षति हुन पुगेको निष्कर्ष निकालिएको थियो । 

भूकम्पअघिसम्म सशस्त्र मुख्यालय हल्चोक र मुख्यालय नजिकैको विशेष कार्यदल बंगलामुखी गणमा सामान भण्डारण गर्ने गरिएको थियो । 

बाराको पथलैयास्थित छिन्नमस्ता बाहिनी मुख्यालमा पनि सामान सशस्त्रले सामान भण्डारण गर्दै आएको थियो । त्यो मुख्यालय शिक्षालयमा परिणत भएपछि बलम्बुमा सामान भण्डारण गर्न थालिएको थियो ।
 
आगलागीको भोलिपल्ट सशस्त्रको प्रबन्ध शाखा, भण्डारण शाखा र कानून शाखाका कर्मचारी गएर घटनाको अवलोकन गरेका थिए । 

बन्दोबस्तीका सामान खरिदको सम्पूर्ण काम प्रबन्धले नै गर्छ । प्रबन्ध शाखाको प्रमुखमा एसएसपी दीपेन्द्र कुँवर छन् । 

उनलाई भने यो विषयमा कही कतै उल्लेख गरिएको छैन । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनीज्वाइँ हुन् । देउवाकै आडमा सशस्त्रभित्र सबैभन्दा बढी लाभ लिने अधिकृतमध्ये एक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ