arrow

कमला नदीमाथि पुल निर्माणको माग गर्दै इन्जिनियर नै प्रदर्शनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
kamala-bridge.jpg

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाको सदरमुकाममा बिहीबार  प्रदर्शन भयो । कमला पुल निर्माण सङ्घर्ष समितिको आह्वानमा  प्रदर्शन भएको यो पहिलो पटक होइन । यहाँ पटकपटक यस्तै आन्दोलन तथा प्रदर्शन भइरहेका छन् ।

यसपटक प्रदर्शनमा सहभागीहरूले पटकपटक गरिएका प्रदर्शन र विरोध सुनिदिने राज्यको निकायमा कोही छ र ? भनि आफैँसँग प्रतिप्रश्न गरिरहेका थिए । “भासिएको कमला पुल राष्ट्रिय गौरवको आयोजना किन राज्यले अड्काएर राखेको ? यो कस्तो नीति हो, एउटा पुलको केही भाग बनाउन पनि बर्सौ लाग्ने ?”, सिरहाका ललित यादवले प्रश्न गर्दै भने,“१४ वर्षमा एउटा पुल बनाई जनतालाई हस्तान्तरण गर्न नसक्ने कुरै भएन ।  यहाँ इच्छाशक्तिको कमी वा नेतृत्वको नियतमा खोट भएकाले हामी प्रदर्शन गर्न बाध्य छौँ तर सुनिदिने कसले ?”

भासिएको पुल निर्माणका लागि स्थानीयले शुरूदेखि नै विभिन्न माध्यमबाट ध्यानाकर्षण गराइरहेका छन् । “पुल नहुँदा हामीले वर्षौँदेखि सास्ती खेप्दै आएका छौँ, सरकारले आफैँ सोच्नुपथ्र्याे तर हामीले आन्दोलन गर्दा पनि सुनुवाइ भएको छैन, यो दुर्भाग्य हो”, सङ्घर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवले भने । पटकपटक माग सुनुवाइ नभएपछि अब निर्णायक सङ्घर्षमा उत्रिनुपर्ने अवस्था आएको उनको भनाइ छ । “बिहीबार जिल्लामा प्रदर्शन गर्‍यौँ, अब आइतबार  सिरहाको बसबिट्टाबाट धनुषाको जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुससहित सरोकारवाला निकायलाई झकझक्याउन जाँदैछौँ”, संयोजक यादवले भने,“हाम्रो आवाज कसले सुन्ने हो ? नजिकको सरकार त प्रदेश नै हो, त्यसैले त्यहाँ ध्यानाकर्षण गर्छौं । त्यसपछि थप रणनीति बनाउँछौँ ।” 

कमला नदीमा बनेको पुल उद्घाटनका लागि ठिक्क पारेका बेला बाढीले विसं २०७८ असार १७ गते पुलको पाया भासिएको थियो । तीन वर्ष बितिसक्दा पनि त्यसको पुनःनिर्माण हुनसकेको छैन ।  यहाँ चार सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी रु २४ करोड ९१ लाखमा विसं २०६८ मङ्सिरमा पुलको शिलान्यास भएको थियो ।

विसं २०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक सङ्घर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट ठेक्का खोसेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई २०७८ असार १३ भित्र काम सक्नेगरी जिम्मा लगाएको थियो । पटकपटक म्याद थपेर अन्तिम चरणमा पुगेको बेला पुल भासिएपछि हालसम्म निर्माण हुनसकेको छैन ।

यसपटक पुल निर्माणका लागि सिरहाका सरकारी निकायमा कार्यरत इन्जिनियरहरूले नै सङ्घर्ष शुरू गरेका छन् । यहाँका इन्जिनियरहरूले नेपाल इन्जिनियरिङ एशोसिएनको चुनाव पनि बहिष्कार गर्दै दबाब बढाउने  निर्णय गरेका छन् । हुलाकी सडकखण्डमा सप्तरी, सिरहा र धनुषातर्फ सडक कालोपत्र भई सञ्चालनमा रहे पनि कमला पुल बन्न नसक्दा समस्या भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ