- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपुर । गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु २ लाख आम्दानी गर्दै आएका छन् । उनले ३ वर्षअघि गैँडाकोट-५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन शुरु गरेका हुन् ।
एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी ३ वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताए । पछिल्लो २ महिनामा रु ३ लाख ६० हजार आम्दानी भएको उनले जानकारी दिए ।
एउटा ब्याडमा गँड्यौला राखेको २ महिनामा मल तयार हुने भन्दै प्रतिब्याड रु ३० हजार आम्दानी भइरहेको रिमालले उल्लेख गरे । प्रतिब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङका लागि प्लास्टिकसहित करिब रु १५ हजार लागनी हुने जनाउँदै दुई महिनाभित्र प्रतिब्याडबाट १२ क्विन्टलसम्म मल उत्पादन हुने गरेको उनी बताउँछन् ।
रिमालका अनुसार प्रतिकिलो रु २५ का दरले गँड्यौलाको मल बिक्री हुन्छ । “मैले दुई किलो र पाँच किलोको ‘प्याकेट’ बनाएर प्रतिकिलो रु २५ का दरले बिक्री गर्दै आएको छु”, उनले भने, “त्यसबाहेक खुला मल २५ किलो र ५० किलोको बोरामा राखेर बिक्री गरिरहेको छु ।”
गैँडाकोटमा उत्पादित गँड्यौलाको मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको भन्दै केही गोरखा र चितवन जिल्लामा बिक्री गर्दै आएको किसान रिमालले बताए । उत्पादन भएको एक वर्षसम्म गँड्यौलाको मलमा विभिन्न १६ प्रकारका तत्व रहने भन्दै कृषकले एक वर्षसम्म उक्त मल प्रयोग गर्न सक्ने उनी बताउँछन् ।
“किसानले गँड्यौलाको मलको महत्व नबुझेकाले आफैँले गाडीमा राखेर पसलमा पुर्याउने गरेको छु”, रिमालले भने, “गँड्यौलापालनबाट जीविकोपार्जनमा सहज भएको छ । मेहनत गरेअनुसार आम्दानी पनि भइरहेकाले खेतबारीमा काम गर्न रमाइलो लाग्छ ।” गँड्यौलापालन भएको ठाउँमा टनेल निर्माण गरिएको भन्दै मनसुन सकिएपछि टनेल बाहिरसमेत गँड्यौला पाल्ने योजना बनाएको उनले बताएका छन् ,
“अहिले हरेक १० दिनमा १२ क्विन्टल मल तयार हुने गरेको छ”, उनले भने, “उत्पादित मल प्याकिङ गरेपछि आफैँले गाडीमा राखेर बिक्रीका लागि बजारमा लैजाने गरेको छु ।” पशुपालक किसानको फार्मबाट गाईको मल ल्याएर राखेको छ दिनसम्म मललाई बाहिर चिसो बनाइसकेपछि ब्याडमा राखी त्यसमाथि गँड्यौला राखेपछि मल तयार हुने उनले उल्लेख गरेका छन् ।
“ब्याडमा प्लास्टिक राखेपछि त्यसमाथि बाहिर चिसो बनाएको मल मिलाएर राख्नुपर्छ”, रिमालले भने, “मल राखेपछि माथिबाट गँड्यौला राखेर जुटको बोराले छोप्नुपर्छ । बेलाबेलामा पानी छम्किँदै गएपछि मल तयार हुन सुरु हुन्छ ।” ब्याडमा मल राखेको ३० दिनपछि मल निकाल्न सुरु गरिने उल्लेख गर्दै उनले ६० दिनमा ब्याडको सबै मल निकालेर बिक्री गर्न तयार हुने जानकारी दिए ।
ब्याडबाट निकालिएको तयारी मललाई कृषि ज्ञान केन्द्र नवलपुरले ७५ प्रतिशत अनुदानमा दिएको मेसिनले छानेर प्याकिङ गरेपछि बजारमा पठाउँदै आएको रिमालको भनाइ छ । पोखराबाट ल्याएको ३ किलो गँड्यौलाबाट व्यावसाय सुरु गरेको स्मरण गर्दै उनले कुनै औपचारिक तालिम नलिएको बताए ।
रिमालले भन्छिन्, “३ वर्ष अघि प्रतिकिलो रु २ हजार ५ सयका दरले गँड्यौला किनेर ल्याएको थिएँ । तालिम वा कुनै व्यावसायिक ज्ञान थिएन । युट्युब हेर्दै गँड्यौलापालनलाई अगाडि बढाएँ ।”
अहिले गँड्यौलापालन गर्न इच्छुक कृषकलाई प्रतिकिलो रु १ हजार ५ सयमा उपलब्ध गराउँदै आएको उनले जनाएका छन् । साथै कृषकलाई गँड्यौलापालनसम्बन्धी तालिम निःशुल्क प्रदान गर्दै आएको बताए ।
फार्मबाट उत्पादित गँड्यौलाको मललाई प्रयोगशालामा परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फसफोरस, पोटास, कपरसहित विभिन्न १६ तत्व भएको प्रमाणित भएपछि बजारमा पठाउन सुरु गरेको रिमालले जानकारी दिए ।
यहाँका कृषक तथा सङ्घसंस्थालाई गँड्यौलाको मलबारे प्रशिक्षण दिएपछि गैँडाकोट इङ्लिस स्कुल, हुप्सेकोट गाउँपालिकाको झ्यालबास, मौलाकालिका मन्दिरलगायत स्थानमा व्यावसायिक गँड्यौलापालन सुरु भएको उनले उल्लेख गरेका छन् ,
गाईको गोबरबाट मात्रै नभई भान्साबाट निस्कने कुहिने फोहरबाटसमेत गँड्यौलाको मल तयार पार्न सकिने भन्दै रिमालले यसबाट फोहर उत्सर्जनमा कमी आउने बताए ।
स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्न सकिने भएकाले गँड्यौलापालन, पशुपालन, तरकारीखेतीलगायत क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए । रासस