- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अवकाशको मुखमा रहेका दुई डीआईजी सीमा क्षेत्रका चौकी इन्चार्ज परिवर्तन गर्न लागेका छन् । जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका चौकी इन्चार्जलाई प्रदेशमा प्रमुखका रुपमा रहेका डीआईजीले हस्तक्षेप गरी परिवर्तन गर्न थालेका हुन् ।
चौकी इन्चार्ज परिवर्तन गर्दा अतिरिक्त आम्दानी हुने भएकाले इन्चार्जमा जान चाहनेलाई डीआईजीको प्रदेश कार्यालयमै बोलाएर मोलमोलाइ गरी परिवर्तन गर्न लागेका हुन् ।
सीमा चौकीमा नेपाल प्रहरीको वरिष्ठ सई र सई दर्जाले कमाण्ड गर्ने गरेको छ । खासगरी मधेस प्रदेशमा रहेका डीआईजी यज्ञविनोद पोखरेल र लुम्बिनी प्रदेशको कमाण्ड गरिरहेका कुवेर कडायत यो धन्दामा लागेको स्रोतको दाबी छ ।
मधेस प्रदेशमा पुगेका डीआईजी पोखरेल शुरुमा नेपाली कांग्रेस पृष्ठभूमिका हुन् । उनको परिवार सबै कांग्रेसमै आवद्ध रहेको छ ।
यद्यपि उनी पछिल्लो समय नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुपुत्री गंगा दाहालसँग निकट सम्बन्ध बनाएर मधेस प्रदेश पुग्न सफल भएका हुन् ।
असोजमा घर जान लागेका पोखरेलले मधेस प्रदेमा रहेका जिल्लाहरूमा हस्तक्षेप गर्दै आएका छन् । पोखरेल खासगरी प्रचण्डकी सुपुत्री गंगा दाहाललाई रिझाएर मधेस प्रदेश पुगेका थिए ।
सीआईबीमा रहेका बेला क्रिप्टो करेन्सीलाई बढुवा दिएको आरोप लागेका पोखरेलले मधेस प्रदेशको इन्चार्ज भएपछि घुमुवा राखेरै लाइन चलाउन लागेको स्रोतको दाबी छ ।
मधेसमा ६–६ महिनामा लाइन इन्चार्ज फेरिने गरेको छ । विभिन्न जिल्लामा लामो समय काम गरेका सादा पोशाकका १० घुमुवालाई पहाडी जिल्लामा काज सरुवा गरिएको भए पनि उनका आफन्त पूर्व एसएसपी अजय द्विवेदीमार्फत सबैलाई रोकेर सीमा क्षेत्रबाट असुली गरिरहेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ ।
काज सरुवा गरिएका मध्येका घुमुवालाई डीआईजी पोखरेलले रमाना नदिएर गत बैशाखबाटै घुमुवाका रुपमा परिचालन गरेका थिए ।
जुनियर अधिकृतदेखि सिपाही हवल्दार गरी मधेसबाट सरुवा गरिएकामध्ये १० जना काज खटाएको स्थानमा गइसकेका छन् ।
असई श्याम साह सोनारले पहाडी जिल्लामा काज गरेपछि राजीनामा दिएका थिए । वरिष्ठ हवल्दार अजय पटेललाई मधेस प्रदेशका डीआईजी पोखरेलले नै रमाना नदिई बारा र पर्साको घुमुवाका रुपमा अतिरिक्त कमाईका लागि खटाएका थिए ।
पटेललाई सोलु सरुवा गरिएको थियो । उनी अहिले त्यतै घुमुवाको रुपमा परिचालित भएका छन् । पोखरेलले बारा, पर्सा, महोत्तरी, धनुषा, सिराह, सप्तरीमा रहेका चौकी इन्चार्जहरू परिवर्तन गरिसकेका छन् । एउटा चौकी इन्चार्ज गएको ५ लाख दर रेट तोकेको एक वरिष्ठ सइले जानकारी दिए ।
‘डीआईजीले चौकी इन्चार्ज पठाउँदा आफ्नो दर रेट राखेका छन्’, ती सईले भने, ‘मैले भनेको बुझाउन सक्दिन भने सिनियर र रोलक्रममा भए पनि चौकी इन्चार्ज जान पाइन ।’
त्यसैगरी लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालिरहेका डीआईजी कडायतले पनि चौकी इन्चार्ज सरुवा गरिसकेका छन् । उनले पनि जिल्लाका एसपीलाई तर्साएर आफू अनुकुलका चौकी इन्चार्ज पठाएको स्रोतले जनाएको छ ।
लुम्बिनी प्रदेशमा रहेका तराईका ६ वटा जिल्ला भारतको सीमासँग जोडिएका छन् । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया भारतसँग सीमा जोडिएका जिल्लाहरूमा भारतसँगको खुला सीमा भएका कारण तस्करी ह्वात्तै बढेको छ ।
रुपन्देहीको भैरहवा (सुनौली), बाँकेको जमुनाह (रुपेडिया), कपिलवस्तुको कृष्णनगर ठूलो नाकाका रुपमा रहेका छन् भने पश्चिम नवलपरासीको महेशपुर, दाङको कोइलावास, बर्दियाको सुरजपुरलगायत अन्य साना नाकाहरू रहेका छन् ।
रुपन्देहीको भैरहवा (सुनौली), बाँकेको जमुनाह नाकामा डीआईजी कठायतको मूख्य ध्यान गएको स्रोतको दाबी छ ।
रुपन्देहीको भैरहवा नाका वीरगन्जपछिको दोस्रो ठूलो नाकाको रुपमा परिचित छ । गृह मन्त्रालयले सीमा क्षेत्रमा कडाई गर्न निर्देशन दिए पनि सबै सीमा क्षेत्र खुला भएका कारण तस्करी रोकिएको छैन ।
अझ रमेश लेखकले मन्त्रालय सम्हालेपछि सुदूुरपश्चिम घर भएका प्रहरी कर्मचारीहरूले नाकामा आफैँ घुमुवा खटाएर तस्करीको लाइन खुला गरेको स्रोतको दाबी छ ।
भारतबाट नेपाल भित्रने कपिलवस्तुका बढनी, मर्जादपुर, चाकरचौडा, सुठौली लगायत ८३ किलोमिटर खुल्ला सीमानाबाट निर्वाध रुपमा तस्करी भैरहेको छ ।