arrow

सहकारी ठगी प्रकरणः रवि लामेछानेको बयान लिँदै संसदीय समिति 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
ravi-lamichhane-81-2-32.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिँदैछ ।

समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौँ व्यक्तिहरुको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका विभिन्न निकायका अधिकारीहरुसँग पनि छलफल गरेको छ । 

समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सूर्य थापाले बताएका छन् ।

रवि लामिछानेमाथि विभिन्न सहकारीबाट बचत रकम दुरुपयोग गरेको आरोप छ । उनीमाथि आफू गृहमन्त्री हुँदा प्रमाण नष्ट गर्न भूमिका खेलेकोसमेत आरोप छ । 

विभिन्न आरोपबीच पनि उनी सम्बन्धित मन्त्रालय नै सम्हालेर बसेका थिए । 

उनी समितिको कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो २ बजे बयान दिन जाने भएका हुन् ।

गोरखा मिडिया प्रालिमा हुँदा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, सानोपाइला, काठमाडौँको स्वर्णलक्ष्मी लगायतका सहकारीबाट लामिछानेको नाममा ऋण जारी भएको र त्यो दाखिला नभएको विषयमा सहकारी छानवीन समितिले बयान लिने भएको छ ।

‘सम्भवतः आज समितिको कार्यालयमा उहाँको उपस्थिति हुनेछ’, समितिका एक सदस्यले भने ।

बुटवलको सुप्रिम सहकारीमा भएको ठगीविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा परेपछि लामिछानेलाई सहकारी ठगीको विषय पेचिलो बन्दै गएको छ । 

सहकारीमा बचत गरेको रकम फिर्ता नपाई ठगिएका एक हजार ८३१ जनाको जाहेरीपछि प्रहरीले अनुसन्धान टुंग्याएर सरकारी वकील कार्यालयले फौजदारी अभियोगपत्र दायर गरेको थियो । 

सुप्रिम सहकारीका संस्थापक जीबी राई, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुनसहित २८ जना विरुद्ध मुद्दा चलाइएको थियो ।

तर लामिछाने मात्रै गृहमन्त्री भएका कारण बचेका थिए । सहकारीबाट ऋण लिएका तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । 

प्रहरीको अनुसन्धानमा सुप्रिम सहकारीको ठगी प्रकरणमा रवि लामिछाने पनि जोडिएको देखिएको छ । 

मुद्दाको अनुसन्धान गरेको प्रहरीले गृहमन्त्री लामिछानेले सहकारीबाट ऋण लिएको उल्लेख गरेको छ । 

गोर्खा मिडिया नेटवर्कको नाममा २०७८ पुस ७ गते शेयर सदस्य जीबी राईले रु.१० करोड २० लाख र रवि लामिछानेले रु.एक करोड ८० लाख लिएका थिए । 

लामिछाने र राई गोर्खा मिडिया ग्रुप (ग्यालेक्सी टेलिभिजन) मा व्यापारिक साझेदार हुन । 

सहकारीबाट रकम लिएर राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपले सञ्चालन गरेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशक थिए । 

सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा लगिएको कुल रु.१३ करोड ६ लाख अहिलेसम्म तिरिएको छैन । 

सहकारीबाट गोर्खा मिडियाले रकम लिंदा गोर्खा मिडियामा जीबी राईको १० लाख २० हजार कित्ता र रवि लामिछानेको एक लाख ८० हजार कित्ता शेयर थियो । 

सो अभियोगपत्रमा लामिछानेको नाममा सहकारीबाट व्यक्तिगत कर्जा समेत प्रवाह भएको उल्लेख छ । उनका नाममा रु.दुई करोडको ऋण खडा गरी गोर्खा मिडियाको नाममा रहेको ग्लोबल आईएमई ब्यांकको खातामा रकम हालिएको उल्लेख छ । 

अभियोगपत्रमा भनिएको छ, ‘रवि लामिछानेका नाममा (रु.दुई करोडको) ऋण खडा गरी २०७७ चैत १२ गते ग्लोबल आइएमई ब्यांकको खातामा रकम जम्मा गरेको देखिएको छ ।’ 

रु.दुई करोड ऋण बापत रु.चार लाख सेवाशुल्क कट्टा गरेर रु.एक करोड ९६ लाख जम्मा गरिएको पत्रमा उल्लेख छ । 

प्रहरी अनुसन्धानले सहकारीका सदस्य रवि लामिछानेको नाममा ऋण प्रवाह हुँदा प्रक्रिया पूरा नभएको पनि उल्लेख गरेको छ । 

लामिछानेले लिएको रु. दुई करोड ऋण बापतको किस्ता सुप्रिम सहकारीकै बचत रकम प्रयोग गरेर दुई पटक तिरिएको छ । 

२०७८ असार २२ मा कुमार रम्तेलको नामबाट सुप्रिम सहकारीबाटै रु.एक करोड ९० लाख निकालेर छविलाल जोशीको किस्ता बापत रु.१५ लाख ८० हजार, रवि लामिछानेको कर्जाको किस्ता बापत रु. सात लाख र उनको ऋण बापत रु.५९ लाख ९३ हजार भुक्तान गरेको देखिएको छ । 

त्यस्तै सहकारीकै व्यवस्थापक सागर केसीबाट २०७८ पुस २८ मा रवि लामिछानेको खातामा रु.११ लाख ६७ हजार जम्मा गरेर ऋणको किस्ता तिरिएको छ । 

यसले लामिछानेको ऋण तिर्न सहकारीकै रकम दोस्रो व्यक्तिलाई ऋणका रूपमा दिएर उक्त रकम प्रयोग भएको देखिन्छ ।

सुप्रिम सहकारीमा करिब १० हजार बचतकर्ताको रु.एक अर्ब ३१ करोड हिनामिना भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो । यसपछि प्रहरीले बचतकर्ताको जाहेरी दरखास्त, बचत पासबूकहरू, बरामद भएका दस्तावेज, लेखापरीक्षण प्रतिवेदन, ब्यांक तथा वित्तीय संस्थाका कारोबार विवरण, प्रतिवादीहरूको बयानका आधारमा अनुसन्धान टुंग्याएर ठगीको कसूरमा मुद्दा चलाएको थियो । 

तर यो मुद्दामा सीधै जोडिए पनि गृहमन्त्री लामिछानेलाई प्रहरीले अनुसन्धानमा तान्न सकेको थिएन । 

त्यस्तै सूर्यदर्शन र सानो पाइला सहकारीबाट पनि लामिछानेको नाममा ऋण प्रवाह भएको विवरणहरु सार्वजनिक भएका छन् । 

स्वर्णलक्ष्ममी सहकारीबाट पनि लामिछानेको नाममा ऋण प्रवाह भएको देखिएको छ । ‘समितिले सबै विषयमाथि अनुसन्धान गरिरहेको छ’, समितिका सभापति सूर्य थापाले भने ।
 
थापाका अनुसार बिहीबार सहकारी ठगी प्रकरणमा मुछिएका पाँच जनासँग सोधपुछ गरेको छ । 

समितिले बिहीबार मितेरी वचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष ८१ बर्षीय कुम्मराज गुरूङ, आर्जन वचत तथा ऋण सहकारी संस्था सामाखुशीका अध्यक्ष दलबहादुर आले, सोसाइटल वचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डे, लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर तामाङ र हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेललाई बोलाएर बयान लिएको थियो ।  

बिहीबार बिहान ११ बजेबाट शुरु भएको बैठक राति १० बजेसम्म बसेको थियो । 

बैठकमा आलेलाई केन्द्रीय कारागार र  पाण्डेलाई मोरङबाट बोलाएर सोधपुछ गरिएको समितिका सभापति थापाले जानकारी दिएका छन् । 

यसअघि समितिले दजनौँ व्यक्तिसँग बयान लिइसकेको छ । समितिको म्याद भदौ १५ गतेसम्म रहेको छ । 

जसले गर्दा समितिलाई प्रतिवेदन लेख्ने कार्य पनि सँगै गरिरहेको सभापति थापाले बताए । ‘प्रतिवेदन लेखनको कार्य पनि सँगै भएकाले समयभित्रै काम सकिनेछ’, उनले भने । उनका अनुसार सकेसम्म यो समितिको म्याद थप हुँदैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ