arrow

काठमाडौँको सुरक्षाबारे गम्भीर प्रश्न, ओली र देउवाविरुद्ध नाराबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
oli-deuba-damaha-81-5-10.jpg

काठमाडौँ । सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वसाधारणले नाराबाजी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठेको छ । 

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौँबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि सुरक्षा व्यवस्थाबारे प्रश्न उठेको हो । 

प्रधानमन्त्री ओली र कांग्रेस सभापति कार्यक्रममा छोटो मन्तव्य राखेर फर्किएपछि यो विषयमा काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुखमाथि प्रश्न उठाइएको थियो । 

साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका जिम्मेवार अधिकारीहरुले पनि यो विषयमा गम्भीर समीक्षा गरेको स्रोतको दाबी छ । 

अहिले उपत्यका कार्यालयमा कृष्णहरी शर्मा पोखरेल निमित्त प्रमुख रहेका छन् । एआईजी किरण बज्राचार्य दक्षिण कोरिया गएपछि दुई दिन यता उपत्यका प्रहरी कार्यालयको प्रमुख डीआईजीको कमाण्डमा रहेको छ ।

सोमबार युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेको थिएन । 

मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भयो । आयोजकले शान्ति कायम राख्ने प्रयास गरे पनि युवाहरूले खैलाबैला मच्चाए । 

यो देखेर प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भने, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’ 

त्यसपछि बोलेका भीम रावलको खासै विरोध भएन । रावलपछि बोलेका देउवाले बोल्दा झनै नाराबाजी भयो । देउवा भने उनीहरुसँग रिसाएका थिए । यस्तो कहाँ सिकेको यही जानेको भन्दै देउवा रिसाएका थिए ।
 
सोमबार दिउँसो टँुडिखेलमा यस्तो अवस्था आएपछि गृह मन्त्रालयमा समेत शान्ति सुरक्षाको विषयलाई लिएर गम्भीर छलफल भएको थियो । 

सरकारले काठमाडौँ उपत्यकाको सुरक्षा र अपराध अनुसन्धान हेर्ने तीन मुख्य इकाईका प्रमुख फेर्ने तयारी गरिरहेको हल्लाका बीच मन्त्रालयमासमेत गम्भीर छलफल भएपछि काठमाडौँ उपत्यका कार्यालयमा सबै प्रमुखलाई परिवर्तन गर्ने कि भन्ने छलफल चलेको स्रोतको दाबी छ ।

गृह मन्त्रालयका एक जना उच्च अधिकारीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुर तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई काज सरुवा गर्नेगरी तयारी थालिएको छ ।

काठमाडौँ प्रहरी प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौर, ललितपुर प्रहरी प्रमुखमा तारादेवी थापा र अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी रमेशकुमार बस्नेतको काज सरुवा गर्नेगरी तयारी थालेको बेला काठमाडौँको सुरक्षा व्यवस्थाले पनि त्यसलाई सहयोग गरेको बताइएको छ । 

हाल काठमाडौँ प्रहरी प्रमुखमा वसन्त रजौरे, ललितपुरका शेखर खनाल र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराई प्रमुख रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ