arrow

सवारी दुर्घटना न्यूनीकरण हुने गरी काम गर्न सम्बन्धित निकायलाई गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
ramesh-lekhak-05-13.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण हुने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सरोकारवाला पक्षसँगको छलफलमा सो निर्देशन दिएका हुन् । 

आउने २-३ महिना भित्र सवारी दुर्घटनामा कमी आएको देखिने गरी सम्बद्ध पक्षले परिणाममुखी काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उनले गृह मन्त्रालय पनि सवारी दुर्घटनामा तानिने भएकाले आफूले सम्बद्ध पक्षलाई त्यसो हुन नदिन सचेत गराउनुपरेको पनि स्पष्ट पारे । 

सवारी दुर्घटना हुन नदिनका लागि हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसका लागि यातायात व्यवस्था परिषद्को फोकल प्वाइन्ट रूपमा काम गर्नुपर्ने पनि बताए । सम्बद्ध पक्षबीच दैनिक हुने छलफलले सडक दुर्घटना न्यूनीकरणमा कमी ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उनले स्मरण गराए । 

गृहमन्त्री लेखकले भने,‘सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्‍यो । र सवारी दुर्घटना न्यूनीकरण गर्नुपर्‍यो । यसमा सबैले अहिलेको काउन्सिल पनि स्थापना भएको छ । विपद्को प्राधिकरण स्थापना भएको छ । मैले त अथोरिटी नै स्थापना गर्ने भनेको हो । यातायात व्यवस्था प्राधिकरण स्थापना गरौँ । र त्यसैलाई यो दुर्घटना न्यूनीकरणको पनि जिम्मा दिऊँ भनेको । त्यहाँबाट यो कुरा शुरु भएको हो । अहिले परिषद् भएछ । जे होस् गठन भयो । अब यसले फोकल प्वाइन्टको रूपमा काम गर्नुपर्‍यो । अब यातायात व्यवस्था विभागले लाइसेन्सको व्यवस्था गर्छ । गाडीको टेस्ट गर्छ । ट्राफिक पुलिसले चेकजाँच गर्छ । यो सबैको फोकल प्वाइन्टको रूपमा हेर्नुपर्‍यो परिषद्ले । यस्ता मिटिङहरू निरन्तर बसाई राख्नुपर्‍यो । छलफल गर्नुपर्‍यो । कहाँ कसको कमजोरी देखिन्छ ? हेर्नुपर्‍यो । र त्यो परिणाममा देखिनुपर्‍यो । त्यसकारण यो एकदमै बढ्यो । त्यो ठिक भएन । यतिका मानिसको दुर्घटनाबाट ज्यान जाने भनेको यो एकदमै भएन । यसलाई जसरी हुन्छ, यो दुर्घटना न्यूनीकरणमा तपाईँहरू लाग्नुस् । आउने २-३ महिना भित्र यो दुर्घटनामा कमी आएको देखिनुपर्छ, हुनुपर्छ । अब गृह मन्त्रालयको जोडिहाल्दो रहेछ । अब बस खस्यो । पुलिस रेस्क्यु गर्न जानुपर्छ । सशस्त्र पुलिस जानुपर्छ । नेपाली सेना जानुपर्छ । त्यसकारण यो दुर्घटना हुने बित्तिकै हाम्रो सरोकार जोडिन्छ । विपद्को सरोकार जोडिन्छ हाम्रो । त्यसो भएको हुनाले यसलाई नियन्त्रण गर्नु पर्छ ।’

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बजार मूल्यको वृद्धि अनुसार सार्वजनिक यातायातको भाडाको समायोजन गर्नुपर्ने, यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० लाई यथाशीघ्र कार्यान्वयन गराउनका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातको भाडा दर बजार मूल्य वृद्धिको आधारमा समायोजन गर्नका लागि पहल गरिदिन गृहमन्त्री लेखकको ध्यानाकर्षण गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ