arrow

केरा मासेर मकै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
makai-corn-maize.jpg
फाइल तस्बिर

मोरङ । कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३दशमलव९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

प्रदेशमा गतवर्ष नौ लाख ७२ हजार ७३ मेट्रिकटन मकै उत्पादन भएकामा यस वर्ष ११ लाख ३४ हजार ८२६ दशमलव ९५ मेट्रिकटन उत्पादन भएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको दुई लाख ८४ हजार तीन सय ४० हेक्टरमा मकैखेती गरिएको थियो भने आव २०८०/८१ मा दुई लाख ७५ हजार नौ सय ५१ हेक्टरमा मकैखेती गरिएको निर्देशनालयले जनाएको छ ।

क्षेत्रफल घट्दा पनि उत्पादनमा भने वृद्धि भएको देखिन्छ । अघिल्लो आवमा प्रति हेक्टर ३ दशमलव ४२ मेट्रिकटन मकै उत्पादन भएकोमा पछिल्लो वर्ष प्रति हेक्टर ४ दशमलव ११ मेट्रिकटन मकै उत्पादन भएको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए । 

उनका अनुसार प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा कम खोटाङमा प्रति हेक्टर १ दशमलव ८३ मेट्रिकटन र सबैभन्दा धेरै झापामा प्रति हेक्टर ७दशमलव८७ मेट्रिकटन मकै उत्पादन भएको छ ।

मकैको उत्पादन बढेसँगै किसान खुसी छन्  । मोरङ बेलबारी १० भाउन्नेकी हिरा अधिकारीले केरा खेती मासेर व्यवसायीक मकै खेती गर्दै आएको बताइन् ।

उनी मौसममा डेड बिघा जमिनमा मकै खेती गरेता पनि बेमौसममा आठदेखि १० कठ्ठा जमिनमा छवर्षदेखि मकै खेती गर्दै आएकी छिन् । उनले भने, “गत वर्ष सात कठ्ठा जमिनमा लगाएको मकै ९० हजारमा विक्री भयो ।”

किसान अधिकारी जस्तै बेलबारी-८ राधानगरका महेन्द्र तामाङले १४ कठ्ठा जमिनमा मकै लगाउने गरेका छन् । किसानको घरदैलोमै आएर व्यापारीले आकर्षक मूल्यमा मकै खरिद गर्न थालेपछि खुसी भएको उनी बताउँछन् ।

खाद्यान्न बालीका रुपमा लिइने मकै बाली पछिल्लो समय तराईका जिल्लामा बाह्रै महिना उत्पादन गर्न थालेसँगै नगदे बालीको रुपमा परिणत हुँदै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन् ।  

 

सुकेको मकैभन्दा हरियो मकै बेच्न सक्दा राम्रो आम्दानी हुने गरेको उनले बताए। मकैको माग अत्यधिक रहेको छ, यसलाई फिड बनाएर बेच्न सक्दा अझ राम्रो आम्दानी हुने प्रमुख डाँगी बताउँछन् ।

परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि तराई क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रुपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन् ।

तराईमा विशेषगरी हाइब्रिडअन्तर्गत पर्ने पाइजियर एक्स टि, रामपुर र पहाडमा विशेषगरी उन्नत जातमा रामपुर कम्पोजिट, मनकामना, गणेश साथै स्थानीय जातका मकै रोप्ने चलन रहेको निर्देशनालयका योजना शाखा अधिकृत काजिमान प्रधानले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ