ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन्- सुमना श्रेष्ठ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
732
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाएकी छन् । सो प्रतिष्ठानको दीक्षान्त समारोह भाद्र २३ गतेका लागि तय गरिएको थियो । तर सबै विद्यार्थीहरू दीक्षित हुनका लागि त्यहाँ पुगेपछि प्रधानमन्त्री ओलीले कुलपतिको हैसियतले कार्य व्यस्तताको कारण देखाउँदै सो दीक्षान्त समारोह स्थगित गरेको भन्दै उनले आपत्ति जनाइन् ।
सांसद श्रेष्ठले समय मिलाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको कार्य क्षमतामाथि नै प्रश्न उठेको जिकिर समेत गरिन्। उनले विद्यार्थीहरूको दीक्षित हुने अधिकार ओली सरकारले कटौती गर्न नमिल्ने तर्क समेत गरिन्। सांसद श्रेष्ठले सो प्रतिष्ठानको दीक्षान्त समारोह र कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा कहिलेबाट शुरु हुन्छ ? भनी सरकारलाई प्रश्न समेत गरिन् ।
उनले भनिन्, ‘विद्यार्थीहरूको दीक्षान्त समारोह पनि रोकि दिन्छौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दीक्षान्त समारोह रोकियो । आइतबार हुनुपर्ने दीक्षान्त समारोह सबै जना विद्यार्थीहरू अब त दीक्षित भइन्छ भनेर गए । प्रमज्यूले, कुलपतिज्यूले राति म आउन सक्दिन कार्य व्यस्तता भनिदिनु भयो । कार्य व्यस्तता मिलाउन नसक्ने कस्तो कार्यक्षमतामाथि नै पटक पटक प्रश्न उठन थाल्यो । विद्यार्थीहरूको दीक्षित हुने राइट होइन त्यो ? हक अधिकार होइन ? सभामुख महोदय, म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु–विद्यार्थीहरूको जीवनमा यस्तो जाँचमा खेलबाड नगरियोस् । बरु राणा शासनमा एउटा विद्यार्थीलाई पढ्नका लागि व्यवस्था थियो भन्छन् । यो ओली शासनमा चाहिँ इतिहासले कसरी लेख्छ । यो चाहिँ हेर्नुपर्नेछ । ओली शासनमा यो एएफयुको जाँच कहिले हुन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह कहिले हुन्छ ? सभामुख महोदय । ’