arrow
ADVERTISEMENT

लाखौँका हाइमास्ट लाइट, बिलको स्वामित्व निश्चित नहुँदा जडान अलपत्र

logo
नारायण वली,
प्रकाशित २०८१ भदौ ३१ सोमबार
highmast light-2.jpg

लुम्बिनी । बजार क्षेत्रमा बढ्दै गएको चोरी र आपराधिक घटनालाई न्यूनीकरण एवं पहिचान गर्नका लागि दाङको तुलसीपुर उपमहानगरका चार वटा स्थानमा राखिएका हाइमास्ट लाइटमा विद्युत विस्तार नहुँदा अलपत्र जस्तै बनेका छन् ।

तुलसीपुर उपमहानगररभित्र जडान गरिएका हाइमास्ट लाइट निर्माणकार्य सकिएको तीन महिना बितिसक्दासमेत विद्युत् जडान नहुँदा बल्न सकेका छैनन् । 

लुम्बिनी प्रदेश सरकारको ५२ लाख रुपैयाँको लागतमा तुलसीपुरको हात्तीखौवा चोक, गुम्राह चोक, वीरेन्द्र चोक र बिजौरी बजार क्षेत्रमा गत असार महिनामा जडान भएका हाइमास्ट लाइटहरुमा लाइन जोड्ने काम नहुँदा चार वटा हाइमास्ट सञ्चालनमा नआएको स्थानीय माधव खड्काले बताएका छन् । 

उनी भन्छन्, 'तुलसीपुरको विगत हेर्ने हो भने दिउँसै लुटपाट र हतियार प्रयोग भएका निर्मम घटना भएका उदाहरण धेरै छन् । पहिलेभन्दा अहिले कम छ । सडकमा सीसी क्यामरा जडान गरेपछि धेरै कम भएको छ तर ती क्यामराले खिचिचएका भिडियोहरु लाइट नहुँदा स्पष्ट हुँदैनन् । जसले गर्दा प्रहरीलाई अपराधी पहिचान गर्न गाह्रो भएको छ । त्यसैले निर्माण भएका लाइटहरु चालु गर्न स्थानीय पालिकाले ध्यान दिनुपर्छ ।' 

प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट तुलसीपुर उद्योग वाणिज्य संघले ती हाइमास्ट निर्माण गरेको संघले बताएको छ । तर उपमहानगरपालिकाले ती हाइमास्ट लाइटमा विद्युत् जडान गर्ने सन्दर्भमा चासो नदिँदा ढिलाइ भएको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले बताए । 'उपमहानगरपालिकाले चासो दिनुपर्ने हो तर उपमहानगरपालिकाले चासो देखाएको छैन', उनले भने,'अब हामी उद्योग वाणिज्य संघले नै ब्यहोर्ने गरी जडान गर्नुपर्ने अवस्था आएको छ ।'

उपमहानगरका चार स्थानमा जडान भएका हाइमास्ट लाइटले शान्ति सुरक्षामा सहयोग हुने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए ।

'हाइमास्ट लाइट भए शान्ति सुरक्षामा सहज हुन्थ्यो', उनले भने, 'लाइट गतिलो नहुँदा क्यामेरालेसमेत मान्छे चिन्न सक्ने अवस्था छैन । वीरेन्द्र चोकमा जडान गरिएको हाइमास्ट लाइट ३६ सय र गुम्राह चोक, हात्तीखौवा र बिजौरी बजारमा जडान गरिएका लाइट १८ सय वाटका रहेका छन् ।'

उपमहानगरपालिकाले भने तत्काल हाइमास्ट जोड्ने प्रक्रिया अघि बढेको बताएको छ । त्यसका लागि विद्युत् प्राधिकरण तुलसीपुर कार्यालयलाई पत्र पठाइएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताएका छन् । 

'कुन पावरको ट्रान्समिटर राख्ने हो, त्यो खालको स्टिमेट पठाइदिनु त्यही अनुसार भुक्तानीको सहमति हुन्छ, भनेर पत्र पठाएका छौँ', उनले भने, 'तर त्यो अनुसार स्टिमेट आएको छैन । त्यो आएपछि बाल्ने प्रक्रिया अघि बढ्छ ।'

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशालीले भने हाइमास्ट लाइटको बिल कसले भुक्तानी गर्ने भन्ने निश्चित नभएको बताए । पत्र आए पनि कसले बिल तिर्ने भन्ने कुरा नआएको उनले जानकारी दिए । 

त्यसले गर्दा पनि तत्काल जोड्न नसकिएको उनले जनाए । उपमहानगरपालिकाले विगतमा विद्युतको बिल नतिरेकाले हाइमास्ट लाइटमा विद्युत् जडान गर्न समस्या भएको उनले बताए । 

उपमहानगरपाकिाको एक करोड ४२ लाख रुपैयाँ विद्युत बक्यौता रहेको प्रमुख गोशालीले बताए । उपमहानगरपालिका प्रमुख खड्काले भने देशभर धेरै सरकारी कार्यालयको बक्यौता तिर्न बाँकी रहेको भन्दै बाँकी बक्यौता तिर्ने सन्दर्भमा छलफल गरिने प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ