arrow
ADVERTISEMENT

दानाकै हजार भन्दा बढी पर्ने स्याउ हाम्रै नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
badri-ojha-81-5-29.jpg

विश्वमा करिब सात हजार पाँच सय किसिमका स्याउ उत्पादन गरिन्छ । तीमध्ये सबैभन्दा महँगो स्याउ सेकाइ इचि स्याउ हो । 

यसको खेती जापानमा गरिन्छ । प्रतिगोटा २० देखि ३० अमेरिकी डलरमा बिक्री हुन्छ । यसैगरी दोस्रो महँगो स्याउ बार्डसे एपल हो, जो बेलायतबाट शुरु भएको हो । यसको औसत मूल्य १७ देखि २० डलर पर्दछ । 

तेस्रो महँगो स्याउ नेपाल र चीनमा उत्पादन हुन्छ । यसको मूल्य सातदेखि २० डलरसम्म पर्छ । यसलाई ब्ल्याक डाइमन्ड एप्पल भनिन्छ । ब्ल्याक भनिए पनि खासमा यो बैजनी रङको हुन्छ । 

नेपालको माथिल्लो हिमाली भाग र तिब्बतमा उत्पादन हुने यो स्याउ दिउँसो गर्मी हुञ्जेल घाम लाग्ने र राति बेसरी चिसो हुने ठाउँमा मात्र फल्छ । 

यस्ता ठाउँमा दिनमा सूर्यबाट पाराबैजनी किरण प्राप्त हुन्छ र राति बेसरी जाडो हुन्छ । यसैका कारण यसको छालाको रङ बैजनी हुन्छ भने भित्री भाग सेतो हुन्छ । खास गरी तीन हजार मिटरको हाराहारीमा रहेका खोंचमा यो स्याउ फल्छ । 


यसको वृद्धि पनि निकै ढिलो हुन्छ । अरु स्याउको बिरुवा तीन वर्षमा फल्न तयार हुन्छ भने ब्ल्याक डाइमन्ड स्याउ आठ वर्षदेखि मात्र फल्छ । 

यो स्याउ अक्टोबर महिनामा मात्र पाक्छ । धेरै नफल्ने हुनाले दुई महिनामै सकिन्छ । यसको व्यावसायिक उत्पादन चीनको स्वशासित क्षेत्र तिब्बतको लिन्जी क्षेत्रमा शुुरु गरिएको छ । 

यो स्याउ नेपालको माथिल्लो हिमाली खोंचहरुहरुमा फल्छ । तिब्बतमा नेपालबाट नै बिरुवा सारिएको बताइन्छ तर नेपालको कुन ठाउँबाट लगियो भन्ने कतै जानकारी भटिएको छैन । 

त्यसो त किवी फलको पनि शुरूआत नेपालबाट भएको मानिन्छ । हाम्रो पूर्वी पहाडमा पाइने ठेकी फललाई किवीको पुर्खा मानिन्छ । 

पूर्वी पहाडमा पाइने भुईँ ऐंसेलु, यतातिर भुइँ काफल भनिने ऐसेलु नै स्ट्रबेरीको पुर्खा हो । यस्ता विषयमा हामीकहाँ उति अनुसन्धान भएका छनैन् ।  

बैजनी स्याउको सेवनले मानिसमा रोगसँग लड्ने क्षमता वृद्धि हुने अनुसन्धानहरुले देखाएका छन् । यस स्याउमा पाइने एपटाकिन तत्वले शरीरमा रक्त सञ्चार र कोलेस्टेरोल व्यवस्थापनमा सहयोग गर्दछ । 

तर यसको उत्पादन चक्र छोटो भएकाले उति पोषणयुक्त नहुने पनि एक पक्षको तर्क छ । 

यसमा पाइने भिटामिन सी, रेसा, खनिज र एन्टिअक्सिडेन्ट तत्वले शरीरमा विभिन्न किसिमका लाभ प्रदान गर्ने अध्ययनहरुले देखाएका छन् । 

बुढौलीपन कम देखिने, मुटुको स्वास्थ्यमा सुधार, पाचनक्रिया, हाड बलियो पार्ने तथा हाडको क्यान्सरको जोखिम कम पार्ने आदि यसका गुण हुन् । 

यसैगरी छाला सफा राख्ने, आँखाको दृष्टि बढाउने आदि यसका मुख्य गुण हुन् । 

आउनुहोस्, यस्तो गुणकारी फल माथिल्ला खोंचहरुमा खेती गरौं र विदेशी मुद्रा आर्जन गर्ने अवसरको लाभ लिऔं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ