arrow
ADVERTISEMENT

सफलताको कथा

उद्योग गर्ने वातावरण सहज होस्, रोजगारी सहितको खुशी हामी बाँड्ने छौँ

logo
दुर्गाप्रसाद भट्टराई, 
प्रकाशित २०८१ भदौ ३० आइतबार
durgaprasad-bhattarai-81-5-.jpg

सानो छँदा ठूलो भए पछि के बन्ने विचार छ भन्ने प्रश्नहरु धेरै सुनेँ । त्यतिबेला मसँग यही गर्छु भन्ने सरल जवाफ तयार थिएन । केही न केही त गर्छु नै भन्ने जवाफमात्र थियो । 

गुल्मी जिल्लामा जन्मिएर विद्यालय स्तरको अध्ययन पूरा गरे पश्चात् नजिकका साथीभाइ र परिवारको सल्लाह अनुसार वैदेशिक रोजगारीका लागि धेरै नेपालीको रोजाइमा परेको देश दक्षिण कोरिया जाने उद्धेश्य लिएँ । 

कोरिया जान कोरियाली भाषा परीक्षामा सफल भएमा कम लगानीमा जान पाईने बारेमा बुझेकोले भाषा अध्ययनलाई जोड दिएं र भाषा परीक्षा पास गरेर रोजगार अनुमति प्रणाली मार्फत शुरूआती चरण सन् २००८ को अन्त्यमा कोरिया जाने अवसर मिल्यो ।

कोरियाको छनान् भन्ने स्थानमा प्लास्टिकजन्य बस्तु उत्पादन गर्ने कम्पनीमा ४ वर्ष १० महिना काम गर्दा भविष्यमा प्लास्टिकजन्य बस्तु उत्पादन गर्ने उद्योग गर्न सक्छु भन्ने प्रेरण मिल्यो ।

कोरियामा कार्यरत रहेको बेला महिना बिते पश्चात् प्राप्त हुने राम्रो पारिश्रमिक, काम गर्ने संस्कार, आवश्यक सीपलगायत साधारण जीवन जीउनका लागि आवश्यक हुने सबै चिज प्राप्त गर्ने अवसर मिल्यो । 
 
सन् २०१३ मा नेपाल फर्किएर यहाँको बजार अध्ययन गरी कोरियाको अनुभव नेपालमा सदुपयोग गर्ने आँट गरेँ । कोरियामा रोजगार अनुमति प्रणाली मार्फत् रोजगार गरेर फर्किएका साथीसँग मिलेर सत्यम पोलिफर्म नामक कम्पनी दर्ता गरी प्लास्टिकजन्य बस्तु उत्पादन थालेँ । मेरो उद्धेश्य विदेशमा सिकेको सीप नेपालमा सदुपयोग गर्दै रोजगारी सृजना गर्ने भन्ने थियो र त्यसले आज सार्थकता पाउँदा खुशी मिलेको छ ।

व्यवसाय गर्दा भोगेको नमिठो अनुभव साट्नु पर्दा नेपालको सरकारी पक्षबाट हामीलाई उद्योग दर्ता गर्ने बेलाबाट नै कम्पनी सञ्चालनमा आउनु भन्दा अगाडि विभिन्न किसिमका प्रशासनिक झन्झटहरु व्यहोर्नु परेकाले नेपालमा व्यवसाय गर्न सजिलो छैन भन्ने लागेर धेरै नै दुःखी हुनु परेको सम्झना ताजै छ । न त उद्योग दर्ता गर्न सजिलो छ, न कुनै प्रोत्साहन मिल्छ, न कुनै कर सहुलियत मिल्छ । 

नेपालमा व्यवसाय गर्नका लागि कुनै एक पक्ष राम्रो छ भनेर देखाउन सरकारसँग आग्रह गर्दछु । मेरो बुझाइमा उत्पादनमुलक क्षेत्रमा व्यवसाय गरी रोजगारी सृजना गर्न चाहने हामी जस्ता व्यवसायीलाई शुरुका केही वर्ष कर छुट नीति अख्तियार गरेमा धेरै व्यक्तिले नेपालमा रोजगारी सृजना गर्न सक्ने थिए भन्ने लाग्छ । 

व्यवसाय शुरू गर्दा केही वर्ष सुखद क्षण भन्दा नमीठा अनुभवहरु धेरै भए । बिजुली, पानी, मेसिन, कच्चा पदार्थ आयात गर्दा सरकारी पक्षबाट थोरै भने पनि सहुलियत मिलेको भए अझै केही गर्न सकिन्थ्यो भन्ने बुझाई रह्यो । 

हामीलाई कुनै पनि किसिमको सहजीकरण तथा सहुलियत भएन । हामीले कम्पनीमा ५ करोड भन्दा बढी लगानी गरिसकेका छौँ । कम्पनीले ५ वटा बोतल बनाउने मेसिन र एक प्रिफम बनाउने मेसिनबाट सामान उत्पादन गरिरहेका छौँ । 

कम्पनीबाट उत्पादित प्लास्टिकजन्य बस्तुहरु पानीको बोटल, जार आदि उत्पादन भइ नेपालको सबै क्षेत्रमा माग अनुसार वितरण गर्दै आएका छौँ । हाम्रो उद्योगमा हाल २० जना भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आजसम्म उद्योग सञ्चालन गर्दा राज्यबाट कुनै किसिमको सुविधा मिलेको छैन । कम्पनीका कामदार साथीहरू र उनीहरुको परिवारसँग बाँड्दै आएको खुशी नै आफ्नो खुशीको रुपमा लिएर व्यवसाय गरिरहेका छौँ ।

आजसम्मको बुझाइमा नेपालमा उद्योग सञ्चालन गर्नका लागि दक्ष जनशक्तिको अभाव, सबै क्षेत्रलाई गिजोलेको राजनीति, छोटो अवधिमा सजिलै धनी हुनुपर्छ भन्ने सोचाइ, वित्तीय संस्थाको चर्को व्याजदर आदिले व्यवसाय गर्नका लागि असहज पक्षहरु धेरै रहेका छन् भन्ने लाग्छ । 

देश विकास भनेको नै रोजगारी सृजना हो । रोजगारी सृजना गर्नका लागि कोरिया जस्ता मुलुकमा अनुभव भएका लाखौँ व्यक्तिमध्ये ५ हजार जनाले नेपालमा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलेमा १० जनाको दरले रोजगारी सृजना हुँदा पनि ५० हजार जनाले रोजगारी पाउने थिए भन्ने लाग्छ । त्यस्तै अन्य मुलुकमा रोजगारीको अनुभव भएका व्यक्तिले पनि नेपालमा रोजगार गर्ने वातावरण सृजना गर्न सक्ने अवस्था प्रचुर मात्रामा देख्न सकिन्छ ।

अन्त्यमा सरकारले देश विकास गर्नका लागि स्वदेशमा रोजगारी सृजना गर्ने वातावरण मिलाएमा धेरै व्यक्तिले रोजगारको खोजीमा विदेशिनु पर्ने थिएन् भन्ने लाग्छ। सरकारको ध्यान नेपालमा व्यवसाय गर्नका लागि केन्द्रित गरेमा उपलब्धि हासिल गर्न सकिन्छ भन्ने लाग्छ । 

सहज रुपमा रोजगार प्राप्त भएमा मानिसहरु खाली बस्नु पर्दैन, रोजगारीमा तल्लीन मानिसहरुले अनावश्यक रुपमा समय बिताउनु पर्दैन र देशप्रतिको माया बढ्दै जान्छ भन्ने लाग्छ ।

नेपालमा जन्मिएर रोजगारको अवसरको खोजीमा विदेश भौँतारिनु पर्ने बिडम्बनाले धेरै युवा पुस्तामा देशप्रतिको माया घट्दै गएको छ । नेपालको विद्यमान राजनीतिलाई सकारात्मक रुपमा लिने व्यक्तिहरुको कमी हुँदै गएको छ । 

हामी अझै अनावश्यक बहस गर्दैछौँ । हाम्रो बहस हालको अवस्था भन्दा ३० वर्ष अगाडिको व्यवस्था ठीक, १०० वर्ष अगाडिको पनि ठीकै हो भन्दै चिया पसलमा गफ गरेर समय बिताउने गरिरहेका छौँ । 

नेपालमा उद्योग गर्ने वातावरण सहज गर्नका लागि सरकारसँग पुनः आग्रह गर्दछु । व्यवसाय गर्ने व्यवसायीलाई प्रशासनिक प्रक्रियामात्र भने पनि सहज होस् । देशमा रोजगारी सहितको खुशी हामी बाँड्ने छौँ । (‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकबाट । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको अवसरमा नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले कोरियामा रोजगारको अनुभवमा आधारित २६ वटा व्यवसायिक कथाहरु समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशन गरेको हो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ