arrow

सफलताको कथाः बुद्धभूमिमा सपना सजाउँदै छु

logo
सूर्यप्रसाद न्यौपाने, 
प्रकाशित २०८१ भदौ १ शनिबार
suryaprasad-neupane1.jpg

गण्डकी प्रदेशको पर्वत जिल्लामा सामान्य कृषक परिवारमा जन्मिएको म, जन्मस्थल नजिकै रहेको विद्यालयबाट अध्ययन सकेपश्चात उच्च शिक्षाको लागि रुपन्देही जिल्ला बुटवलमा बस्दै गर्दा त्यस भेगका मानिसहरु राम्रो आय आर्जनका लागि विदेश गएको र राम्रो आम्दानी गरेको बारेमा नजिकबाट नियाल्ने मौका मिल्यो। 

गाउँले परिवेशमा हुर्किएको र दैनिक खर्च चलाउन पनि मुश्किल भएकोले राम्रो कमाउने ईच्छा र परिवारलाई गरिबीको समस्याबाट छुट्करा दिलाउनका लागि काठमाण्डौमा रहेको वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनीको माध्यमबाट सन् १९९९मा दक्षिण कोरिया जाने अवसर मिल्यो। जाँदा लाग्ने खर्च व्यवस्थापनका लागि परिवारका सदस्यले विभिन्न व्यक्तिसंग ऋण सापटी लिनुभयो। कोरियामा प्रवेश गर्नु अगाडि नै सुने अनुसार कोरियामा राम्रो पैसा आर्जन गर्न सकिन्छ तर काम भने निकै गाह्रो (थ्रिडी) डर्टी, डेन्जर र डिफिकल्ट हुन्छ भन्ने सुनेकोले प्रवेश गर्नु अगाडीनै दरो आत्मविश्वासका साथ कोरिया पुगेँ । 

कोरियामा प्रवेश गरेको दोश्रो दिनबाट काम शुरुआत गर्नु पर्ने थियो तर भाषा सम्बन्धी ज्ञान नभएकोले शुरुआतका दिनहरु निकै असहज रुपमा व्यतित भए। हातको ईसाराले काम गर्नु पर्दा कम्पनीका सहकर्मीले यसो गर भन्दा म उसो गर्दथेँ, उसो गर भन्दा म यसो गर्दथेँ। मैले शुरुवाती चरणमा पाएका गालीका वर्षाहरु आज पनि कानमा गुञ्जिरहेका छन्।

नेपालमा रहँदा सबै कुरा सजिलो मात्र सोच्ने मलाई कोरिया गए पश्चात पैसा कमाउनका लागि सजिलो रहेनछ भन्ने बारेमा थाहा भयो। जस्ले मेहनेत गर्छ, अनुसाशनको पालना गर्छ, समयको महत्व बुझ्छ र लगनशिल तथा धैर्य गर्न सक्नेले मात्र पैसा कमाउन सक्ने रहेछ भन्ने ठूलो शिक्षा पाएँ । शुरुका एक दुई महिनामै  घरमा फर्कन पाए हुन्थ्यो जस्तो पनि लागेको थियो तर कोरिया जांदा लागेको ऋण र परिवारको सदस्यलाई खुशी दिलाउने मेरो योजनाले जस्तो सुकै अवस्थामा पनि कोरियामा कामलाई निरन्तरता दिनु पर्ने बाध्यता थियो।  

दिनहरु बित्दै गए, सँगै काम गर्ने सहपाठी, साहुजी सबैले कठोर मेहनेत गरेको देख्दा म पनि गर्न सक्छु भन्ने सोचाइका साथ काम गरेँ । महिना दिन बिते पश्चात प्राप्त हुने पारिश्रमिकले सन्तुष्टि मिल्दै गयो। आधा वर्ष बिते पश्चात भाषाको ज्ञानले काम गर्न सहज हुँदै गयो। त्यस पश्चातका दिनहरु, कम्पनीमा अतिरिक्त काम गर्ने अवसर मिलेमा थप पैसा कमाउन सकिन्छ भन्ने लाग्न थाल्यो र मिले सम्म अवसरको सदुपयोग गर्दै गएँ । परिवारका सदस्यहरुको सकारात्मक सुझावले पनि कोरियाको बसाईलाई मद्दत पुग्यो। ३ वर्षको भिषा अवधि पश्चात स्वदेश फर्कनु पर्छ भन्ने नियमको पालना गर्दै सन् २००३ मा नेपाल फर्कने निश्चय गरेँ ।

नेपाल फर्किए पश्चात कोरियामा आर्जन गरेको पूँजी, सीप, मेहनेत गर्ने बानी, ईमान्दारिता, अनुशासन, धैर्यता आदिको उर्जा नेपालमा पनि लागू गर्नु पर्छ भन्ने सोचाइका साथ व्यवसाय गर्ने निर्णयमा पुगें। अनुभवी साथीभाइसँग सल्लाह गरेर व्यवसायमा जोडिने अवसर मिल्यो। कोरियाले मलाई जुन सुकै काम गर्न सम्भव हुन्छ भन्ने शिक्षा दिएकोले गर्दा हाल बसोबास रहेको स्थान बुद्धभूमि, रुपन्देहीमा उद्योग खोल्नका लागि प्रेरणा मिल्यो। यस क्षेत्रमा उद्योग खोल्ने सकारात्मक पक्ष भनेको नेपाल र भारतको सीमाना नजिकै भएको हुँदा उद्योग सञ्चालनमा आवश्यक पर्ने  कच्चा पदार्थ, मेसिन लगायतका वस्तु आयात गर्न सहज हुन्छ भन्ने लागेर उक्त स्थान छनौट गरेँ । 
 
म लगायत मेरो परिवारलाई कोरियाले खुशी दियो। म पनि आफूले सिकेको सीप र क्षमताको प्रयोग गरेर केही व्यक्तिलाई रोजगारी सृजना गर्ने मेरो विगत देखिको मेरो योजनाले सार्थकता पायो। रोजगारमा आश्रित परिवारका सदस्यको आर्शिवाद मिल्नेछ भन्ने सकारात्मक सोचाईका साथ व्यवसाय सञ्चालन गरिरहेको छु।

सन् २०१२बाट काजगबाट बन्ने काडबोर्ड बक्स, कार्टुन बक्स उद्योग स्थापना पश्चात कहिल्यै पछुताउनु परेको छैन । शुरुआती चरणमा २ करोड ५० लाख लगानी भएको यस उद्योगमा हाल झण्डै १० करोड बराबरको लगानी रहेको छ। आफूसँग भएको पूँजी र वित्तीय संस्थाबाट ऋण लिएर श्रीमनकामना कार्डबोर्डले दशकौंको यात्रा पूरा गरिसकेको छ। यात्राको क्रममा सुखद क्षणको मात्र स्मरण गराउन चाहन्छु। 

परिवारका सदस्यहरुको सक्रिय सहयोगले पनि कम्पनीलाई गति दिन भूमिका खेलेकोछ। कम्पनीमा पिछडिएका समुदाय लगायत महिलाहरुलाई रोजगारीका लागि प्राथमिकता दिएको छु। कम्पनी स्थापना कालमा १६ जनालाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीले हाल ३२ जना भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगार दिएको छ। नियमित रोजगारीमा रहेका व्यक्तिको परिवारका सदस्यलाई जीउने आधार मिलेकोमा मलाई सबैभन्दा ठूलो खुशी मिलेको छ।
 
हाम्रो उद्योगले नेपाल सरकारको आयातमा निर्भर अर्थतन्त्रलाई केहि हदसम्म स्वदेशी उत्पादनले टेवा पुगेको छ भन्ने लाग्छ। हाल कम्पनीले वार्षिक ६ कारोड रुपैयाँ बराबरको कारोबार गरिरहेको छ। त्यसैगरी वार्षिक ३० देखि ३५ लाख सम्मको आम्दानी गरिरहेको छ। 

हाम्रो कम्पनीले हाल ३५लाख पिस कार्टुन बक्स उत्पादन गरिरहेको छ। नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर सफल व्यवसाय सञ्चालन तथा रोजगार सृजनामा भूमिका खेलेको र आयात विस्थापनमा सकारात्मक भूमिका खेलेको बारेमा मूल्याङकन गरेर सम्मान पत्रसहित एक लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेँ ।  

नेपाल सरकारको यस्तो किसिमको सम्मानले व्यवसाय गर्नका लागि सकारात्मक उर्जा मिलेको छ। बुद्धभूमिमा म जस्ता धेरै व्यवसायीको व्यवसायले रोजगारी सृजनामा ठूलो भूमिका खेलेको छ। 

मेरो विचारमा वैदेशिक रोजगारीको अनुभव, सीप, पूँजी तथा अन्य ज्ञानलाई स्वदेशमा सदुपयोग गर्न सकेमा देश विकासमा मद्दत पुग्छ भन्ने लाग्छ। हाम्रो पुस्ताले देशलाई यही अवस्थामा छोड्यौँ भने भावी पुस्ताले हामीलाई धिक्कार्ने छन् भन्ने लाग्छ। हाल विदेशमा रहेका हाम्रा दाजुभाइ नेपालमा फर्किएर स-साना व्यवसायको थालनी गरेमा विद्यमान बेरोजगार समस्या समाधानमा टेवा मिल्ने छ भन्ने लाग्छ। 

अन्त्यमा, सरकारका तर्फबाट हाम्रो देशमा उपलब्ध हुने श्रोत साधनको अधिकतम प्रयोग गरी हामी जस्ता उद्यमशील व्यक्तिको सहयोग लिएमा अन्य विकसित देश जस्तै द्रुत विकासमा मद्दत पुग्छ भन्ने लागेको छ। त्यसैगरी सरकारका तर्फबाट योजना सहित वैदेशिक रोजगारीमा गएका अनुभवी व्यक्तिहरुलाई नेपालमा फर्कन आह्वान गर्ने बारेमा कदम चाल्नु पर्छ भन्ने लागेको छ। वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा व्यवसाय गर्न ईच्छुक साथीहरुले हामी जस्ता व्यवसायीलाई सम्पर्क गरेर सल्लाह लिनु हुनका लागि पनि अनुरोध गर्दछु। (‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकबाट । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको अवसरमा नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले कोरियामा रोजगारको अनुभवमा आधारित २६ वटा व्यवसायिक कथाहरु समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशन गरेको हो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ