arrow

सफलताको कथा

दैनिक हजारौँ बेरोजगार युवा देश छोडिरहेछन्, नेपाललाई उद्योग गर्ने व्यक्तिको खाँचो छ

logo
हिरामणि भट्टराई, 
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
hiramani-bhattarai-korea-ne.jpg

५५ वर्ष अगाडि गुल्मी जिल्लामा जन्मिएर विद्यालय तहको अध्ययन पश्चात् सानो व्यवसाय शुरुआत गरेँ । त्यतिबेला मानिसहरु वैदेशिक रोजगारीका लागि विदेश गएमा ठूलो रकम आर्जन गर्न सकिन्छ भन्ने सुनेँ ।

मैले पनि रोजगारीका लागि विदेश जाने योजना बनाएँ । साथीभाइ तथा आफन्तहरुले प्रशिक्षण भिसामार्फत कोरिया जान पाइन्छ भन्ने जानकारी मिल्यो । 

कोरियामा गएर राम्रो आम्दानी गर्ने उद्धेश्यअनुसार सन् १९९४ मा दक्षिण कोरिया पुगेँ । कोरियामा झण्डै १२ वर्षको बसाईमा सुखद क्षण,राम्रो आम्दानीसहित सकारात्मक सोचाइ र नयाँ ऊर्जा लिएर नेपाल फर्किएँ । कोरियाबाट नै नेपालमा फर्किए पश्चात व्यवसाय गर्ने सोचाइका साथ फर्किएको थिएँ ।

सन् २००९ बाट रुपन्देही जिल्लामा रहेको बुटवल औद्योगिक क्षेत्रमा मनकामना हाइड्रो एलेक्ट्रिक नामक कम्पनी दर्ता गरेर व्यवसाय शुरु गरेँ । कम्पनीको शुरुआती चरणमा विभिन्न समस्याहरु आए । तथापि कोरियामा सिकेको सिकाई, परिश्रम गर्ने बानी,नतिजा नआएसम्म निरन्तरको खटाईले व्यवसायमा टिक्नका लागि ठूलो सहयोग मिल्यो । 

कम्पनीमा उत्पादित प्लास्टिकका सामानहरु पाइप, पीभीसी पाइपलगायत भवन निर्माणका लागि आवश्यक सामग्रीहरु उत्पादन हुनु आफैँमा सफल व्यवसाय हो भन्ने सोचेर नै उक्त व्यवसाय मेरो रोजाइमा परेको थियो । उत्पादित सामानको बजार व्यवस्थापन भए पश्चात व्यवसायले पछाडि फर्कनु परेको छैन । हाम्रो उद्योगबाट उत्पादित सामानहरु नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण भैरहेको छ।
 
कोरियामा भोगेको भोगाइ, अनुभवअनुसार कम्पनीको मालिक र कामदारबीचमा हुने भेदभावरहित व्यवहारलाई आज मेरो कम्पनीमा प्रत्यक्ष रोजगारी पाइरहेका २९ जना कर्मचारी तथा अन्य अप्रत्यक्ष रोजगारीमा जोडिएका सबै जनासँग समान रुपमा लागू गरिरहेको छु । 

हाल कम्पनीमा ७ ओटा मेशिनरु दिवा-रात्री दुई सिफ्टमा सञ्चालन भैरहेको छ । विकसित देश कोरियामा जस्तै व्यवसाय सञ्चालन गर्न सहज नभए तापनि नेपालमा पनि व्यवसाय गर्न सकिने उदाहरण पेश गर्न पाउँदा खुशी मिलेको छ ।
  
नेपालमा उद्योग सञ्चालन गर्नका लागि केही कठिन पक्षहरु रहेका छन् । उद्योग सञ्चालनका लागि आवश्यक पूँजी सबै व्यवसायीले लगानी जुटाउन सक्दैनन् । लगानी व्यवस्थापनका लागि बैंकबाट ऋण लिनु पर्ने हुन्छ । तर हाम्रो देशमा ऋणको व्याजदर निकै उच्च रहेको छ । 

अर्कोतर्फ देशलाई औद्योगीकरण गर्नका लागि आवश्यक ऐन नियमहरु समय सापेक्ष हुनुपर्छ भन्ने लाग्छ । त्यसैगरी दक्ष कामदारको संख्या पर्याप्त नभएसम्म उद्योग सञ्चालन गर्न सहज हुँदैन भन्ने लाग्छ। सीपमूलक तालिमको सहजीकरण  भएमा  कामदारको कमी हुने थिएन र धेरै रोजगारी सृजना गर्न सकिन्छ भन्ने लाग्छ । 

व्यवसाय गर्ने सिलसिलामा सन् २०११ मा औद्योगिक क्षेत्र व्यवस्थापन विभागबाट सफल उद्योगीको रुपमा छनोट भएर उत्कृष्ट व्यवसाय सञ्चालन गरे बापत कदरपत्रका साथै उत्कृष्ट पुरस्कार प्राप्त गरेँ । 

त्यसैगरी सन् २०१६ मा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट वैदेशिक रोजगारीको अनुभव भई स्वदेशमा उद्योग खोली रोजगारी सृजना गर्ने व्यवसायीलाई कदर गर्दै सम्मान पत्र प्राप्त गर्ने अवसर मिल्यो । 

सानो जस्तै देखिने सम्मानले पनि उद्योग गर्नका लागि सकारात्मक ऊर्जा मिलेको छ । सरकारले हामी जस्ता उद्योगीलाई स-साना प्रशासनिक पक्षहरुको सहजीकरण गरिदिएमा ठूलो मद्दत पुग्ने थियो । 

नेपाललाई उद्योग गर्ने व्यक्तिको खाँचो छ । बेरोजगारीले दैनिक हजारौँको संख्यामा युवाहरुले देश छोडिरहेका छन् । स्वदेशमा नै रहेर हामी जस्तै उद्योग गर्न चाहने व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने लाग्छ । (‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकबाट । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको अवसरमा नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले कोरियामा रोजगारको अनुभवमा आधारित २६ वटा व्यवसायिक कथाहरु समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशन गरेको हो ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ