arrow

काभा महिला भलिबल क्लब च्याम्पियनको स्वागत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
kava-women-police.jpg

काठमाडौँ । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबको सोमबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काभा क्लब भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लबका खेलाडीको भव्य स्वागत गरिएको हो । 

नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, सङ्घका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए । टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा पुर्‍याइएको थियो । त्यहाँ सञ्चारकर्मी प्रवेशमा भने रोक लगाइएको थियो ।

नेपाल पुलिस क्लबले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस अपराजित रहँदै यो उचाल्न सफल भयो । मालदिभ्समा शनिबार सम्पन्न च्याम्पियनसिपमा नेपाल पुलिस क्लबसहित उज्बेकिस्तान, श्रीलङ्का, मालदिभ्स र ताजकिस्तानका ६ क्लबले प्रतिस्पर्धा गरेका थिए । लिग चरणामा नेपाल पुलिसले हुमोसँगै श्रीलङ्काको श्रीलङ्का एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले हराएको थियो । 

नेपाल पुलिसले मालदिभ्सका टोली वाम्को क्लबलाई ३–२ र मालदिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले आठौँ एनभिए महिला भलिबल लिग च्याम्पियनको हैसियतमा काभा महिला क्लब च्याम्पियनसिपमा चुनौती प्रस्तुत गरेको हो । यस च्याम्पियनसिपमा सहभागी हुन पुलिसले एपिएफ क्लबकी स्पाइक सरस्वती चौधरी र निरुता ठगुन्नाका साथै न्यु डायमण्ड स्पोटर्स क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ