arrow

‘भिजिट बन्दीपुर-२०२५’ घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
Bandipur-.jpg
फाइल तस्बिर

तनहुँ । तनहुँको बन्दीपुरलाई ‘भिजिट बन्दीपुर-२०२५’ घोषणा गरिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भिजिट बन्दीपुर घोषणा गरेको हो ।

गण्डकी प्रदेश कृषि भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले भिजिट बन्दीपुर घोषणा गरेका हुन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउने उद्देश्यले भ्रमण वर्षको लोगोसमेत सार्वजनिक गरिएको छ ।

उक्त अवसरमा मन्त्री जिसीले बन्दीपुर भ्रमण वर्षले बन्दीपुर समृद्ध बन्नका लागि थप टेवा पुग्ने दावी गरिन् ।

बन्दीपुरको सुन्दर पक्ष भनेको ऐतिहासिक र पुरातात्विक सम्पदा भएको भन्दै मन्त्री जिसीले मठ मन्दिर, गढीलगायतका क्षेत्रको प्रचार-प्रसार गर्न सके पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरिन् ।

कृषिमा लगानी बढाई किसानलाई प्रोत्साहन गरी आयआर्जनमा वृद्धि गर्न पर्यटकीय क्षेत्रले थप सहज बनाउने उनले बताइन् ।

गाउँपालिकाले बन्दीपुरका प्रमुख गन्तव्यलाई चिनाउनका लागि विभिन्न भाषामा प्रचार सामग्री तयार गरी क्युआर कोड स्क्यान गरी सजिलै पढ्न, हेर्न र सुन्न सकिने व्यवस्था गरिसकेको छ ।

गाउँपालिका अध्यक्ष थापाका अनुसार पर्यटकीय क्षेत्रको बारेमा पर्यटकले बुझ्ने गरी भिडियो डकुमेन्ट्रीसमेत निर्माण गरी प्रचारप्रसार गरिएको छ ।

बन्दीपुर पर्यटन विकास समिति अध्यक्ष किसान प्रधानले भिजिट बन्दीपुरमा वर्षभरी पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरिने बताए ।

बन्दीपुरको खड्देवी मन्दिर, बिन्दबासिनी, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, पातालीद्वार गुफा, मणि मुकुन्दसेन पदमार्ग (मिनी ग्रेटवाल), तीन धारा, टुँडिखेल, पहाड पानी, सहिद स्मारक, रानीवन, गुम्बा, मणि मुकुन्देश्वरी, पद्म पुस्तकालय, धरमपानी, कोरीखा हुस्लाङकोट चन्द्रकोट पर्यटकीय गन्तव्य हुन् ।

बन्दीपुरमा आन्तरिकसँगै चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । पर्यटक बन्दीपुरको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेका छन् ।

बन्दीपुरबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला सजिलै देख्न सकिन्छ ।

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ‘घुम्न जाउँ है बन्दीपुर’ अन्तर्गत अघिल्लो आर्थिक वर्ष देशका प्रमुख सहर पोखरा, काठमाडौँ, चितवन, बुटवल, भैरहवालगायतका स्थानमासँग अन्तरक्रिया गरिएको थियो ।

पछिल्लो समय बन्दीपुरमा केवलकार सञ्चालन भएसँगै पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायी बताउँछन् । पृथ्वीराजमार्गबाट केवलकार चढेर सिधै बन्दीपुर पुग्न सकिनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ