arrow

बाढी पसेर पाकेको धानबाली सखाप, किसानलाई भोक न निद्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
dhanbali-badhi-sindhuli.jpg

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका पडा नं. १ नेपालथोकस्थित पाकेको धानखेती बाढीले सखाप बनाएको बनाएको छ ।

लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका अवस्थामा बाढी पसेर सखाप पारिदिएको हो ।

बाढीसँगै आएको लेदो माटो र गेग्रानले खेतै बगर बनाइदिएको किसान केशवसिंह श्रेष्ठले बताए । उनले भने, ‘दसैँअघि नै थन्क्याउने तयारी थियो, धानबालीसहित खेत नै बगरमा परिणत भएको छ ।’

जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको उनको दुःखेसो छ ।

उनले गत जेठ २९ गते ८० हजार रुपैयाँ खर्च गरेर धान रोपेका थिए । ‘पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ, सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने, चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन’, उनले भने ।

श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गरेका थिए । यसवर्ष एकदानो भित्र्याउन नपाई बाढीले सखाप बनाएको उनको गुनासो ।

यता, सुनकोशी-१ गोइरीकी कृष्णमाया तोलङ्गेको पनि अवस्था उस्तै छ । खेतमा बाढी पसेपछि एक दानो धान भित्र्याउने अवस्था छैन । रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उनले सुनाइन् ।

बाढीले पुरेको धान खेत हेर्दै अर्का किसान गणेश श्रेष्ठ भक्कानिए । गजुलीदहका श्रेष्ठको मुख्य पेसा कृषि नै हो । पाँच जना परिवारलाई यसैबाट निर्वाह गर्नुपर्ने थियो । उनको पाकेको धानसहित पाँच रोपनी खेत बगर बनेको छ ।

नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ । कतै धान ढालेर सोतर बनाएको छ । कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ ।

सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए ।

गोलञ्जोर गाउँपालिका क्षेत्रमा पनि भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ ।

सुनकोशीमा आएको बाढीले विशेषगरी गोलञ्जोर-७ को बेसीँफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उनले बताए ।

हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ ।

हरिहरपुरगढी-१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ ।

भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन ।

जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताइन् ।

कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण सङ्कलन भइरहेको उनले बताइन् ।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ