arrow

घरको एउटा खम्बा झ्याप्ले खोलामा अस्ताए, आशाको दियो पहिरोको लेदोमा हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
jhaplekhola-dhading-81-6-13.jpg

सर्लाही । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए । 

आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त । त्यही दिनबाट यो परिवारले सधैका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको सहरा पनि गुमायो । घरको जेठोबाठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए । ‘‘परिवारको दुःख हटाउछु चिन्ता नगर्नु भनेर सधैँ मलाई सम्झाउँथ्यो”, बुबा भरत साहले भक्कानिँदै भने, ‘‘धेरै पढेर ठूलो मान्छे बन्ने, दुई जना दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो । त्यो पूरा नहुँदै अस्तायो ।” 

छोराको शोक बारेर बसेका भरतले छोराको मृत्युसँगै आफ्नो परिवारको बिचल्ली भएको बताए । “घरको एउटा खम्बा ढल्यो, अब कसले यो घरको काँध थाम्छ ?’’, गहभरि आँसु पार्दै भरतले भने । 

४५ वर्षीय बुबा भरत सामान्य किराना पसल चलाउँछन् । परिवारको लालनपालन तथा छोराछोरीको शिक्षादीक्षाको एकमात्र आधार यही किरान पसल हो । थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्छ । ‘‘छोराले राम्रो पढ्दै गएकाले अब दुःखको दिन गयो भन्ने लागेको थियो तर एकाएक बज्रपात पर्यो । घटना भएको दिनदेखि घरमात्र होइन, गाउँ नै शोकमा छ । परिवारमा पूरै अन्धकार छाएको छ । आमाको राम्रोसँग होस आएको छैन”, उनले सुनाए । 

वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए । कक्षा ६ देखि एसइईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गरे । गत शैक्षिकसत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११–१२ पढ्न उन काठमाडौँ जाए । दिदी विभाकुमारी साहसँगै बसेर उनले काठमाडौँको नयाँबानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका थिए । 

क्याम्पसले उनलाई एसइईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र चितवन आएर फर्कँदै थिए । शुक्रबार बिहान विद्यालय पुगेर कागजात सङ्कलन गरेपछि साँझ माइक्रोबसमार्फत काठमाडौँ फर्कँने क्रममा राति १ः२५ बजेको समयमा काठमाडौँमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उनी त्यसपछि भने सधैँका लागि सम्पर्कविहीन भए । 

‘‘फोनमा भाइलाई कहाँ आइपुग्यौँ भनेर सोधेको थिएँ । दिदी म आउँदै छु, रातको समय जङ्गलको बीचमा जाममा परेको छु । जाम खुल्यो भने छिट्टै आइपुग्छु, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो । किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजे तर, फोन लाग्दै लागेन”, दिदी विभाले भनिन्,“कुनै कारणले फोन बन्द भयो कि ? भन्ने लाग्यो । भोलिपल्ट बिहानसम्म भाइको कुनै अत्तोपत्तो भएन । लगातार पानी परिरहेका थियो । बाढी र पहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्यो कि भन्ने आसमा खोजी सुरु गर्यौँ । बुबाआमालाई पनि सबै कुरा खबर गरिदिए । दिउँसोबाट झयाप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियौँ । सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले ।”

आइतबारबाट वसन्तका बुबा र भिनाजु पनि खोजीमा निस्किए । चितवनदेखि नै पहिरो खसेको ठाउँमा सोधीखोजी गर्दै जाँदा झयाप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौँ लगेकाले उतै जान सल्लाह दिए । बुबा भरतले सुनाए,“पहिराले बाटो क्षतविक्षत भएकाले तत्काल जान सकिएन । काठमाडौँमा भएका आफन्तलाई पठायौँ । सोमबार बिहान छोराको शव पहिचान भयो । उफ!”

एकछिन निशब्द हुनुभएका उनले आँसु पुछ्दै उनले भने,“त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगँे कुनै होस छैन । मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो । बाबा इन्जिनियर बनेर सरकारी सेवा गर्छु, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो ।” 



नयाँ