arrow

विजया दशमीका दिन पोखरामा निःशुल्क बस सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
pokhara-city.jpg
फाइल तस्बिर

पोखरा । विजया दशमीका दिन पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भए । विगत वर्षमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए । ती बस विजयादशीका दिन अपराह्न ४ः०० बजेसम्म सञ्चालन भएका थिए ।

पोखराका कोत्रे-पृथ्वीचोक-चिप्लेढुङ्गा हुँदै बागलुङ बसपार्कसम्म, फेदी-हेमजा-हरिचोक हुँदै पृथ्वीचोकसम्म, लामाचौर-बगर-महेन्द्रपुल-चिप्लेढुङ्गा-सृजनाचोक-विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा-बगर-महेन्द्रपुल-चिप्लेढुङ्गा-सृजनाचोक-विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा-बगर महेन्द्रपुल-पृथ्वीचोक-विरौटा-सहिदचोक हुँदै लेकसाइडसम्म बस सञ्चालन भएका थिए ।

यसैगरी लेखनाथ जनताको चौतारा-रुपाताल-सातमुहाने-खुदी-तालचोक-पृथ्वीचोक हुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला-महेन्द्रपुल-पृथ्वीचोक-जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल-तालचोक-पृथ्वीचोक-चिप्लेढुङ्गा हुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन भएका थिए ।

निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराइएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

उनले भने, “दशैँको टिका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ । तसर्थ दशैँको दिन सार्वजनिक यातायात सहजरूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो ।”

यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए ।

“जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौँ, त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौँ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ