arrow

विकास निर्माणमा योगदान दिएका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
kumar-khadka-kaski.jpg

पोखरा । पोखरामा पूर्वमन्त्री कुमार खड्कालाई नागरिक अभिनन्दन गरिएको छ । पार्टी र विचार भन्दा माथि उठेर नागरिकका प्रत्यक्ष सरोकार र विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पोखरा-१६, तुम्केस्थित नमुना क्लबले नेता खड्कालाई विशेष कार्यक्रमका बीच नागरिक अभिनन्दन गरेको हो ।

खड्कालाई विशेष प्रकारले सजाइएको गाडीमा राखेर केआईसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी र्यालीसहित नगर परिक्रमा गराइएको थियो । साथै महेन्द्र गुफादेखि तुम्केसम्म पैदल यात्रा गरिएको थियो ।

सडकका दायाँबायाँ रहेका सर्वसाधारण नागरिकले नेता खड्कालाई फूल, माला र अविर लगाएर सम्मान गरेका थिए भने सर्वसाधारणले आआफ्नो घर अगाडि र चोकचोकमा घडा राखी स्वागत गरेका थिए ।

कार्यक्रममा खड्कालाई, वयोवृद्घ समाजसेवी सोमबहादुर गुरुङ, मुक्तिप्रसाद भट्टराई, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र क्लब अध्यक्ष मीनबहादुर गुरुङले अभिनन्दनपत्र प्रदान गरी सम्मान गरे ।

सो अवसरमा पूर्वमन्त्री खड्काले जनताको मन जित्ने गरी आफूले कार्यकाल पुरा गरेको र अझै जनताको पक्षमा निरन्तर लागि रहने प्रेरणा प्राप्त भएको बताए ।

क्लब अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष एवं आजीवन सदस्य जीवन आचार्य, सहसचिव दिपकबहादुर केसी, हिमालय क्लब अध्यक्ष मोहनबहादुर थापालगायतले वडाको विकासमा खड्काले पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरुले अन्य नेतालाई खड्काको सिको गर्न र देश तथा नागरिकको पक्षमा काम गर्न सुझावसमेत दिएका थिए ।

वक्ताहरुले दावी गरेअनुसार मन्त्री खड्का संघीय सांसद, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री र पछि गण्डकी प्रदेश सरकारका भौतिक योजना, पूर्वाधार विकास र यातायात व्यवस्था मन्त्री हुँदा पोखरा १६, १९ र २० मा विकास निर्माण, खानेपानी, सामुदायिक भवन, महिला शसक्तीकरणका क्षेत्रमा निकै फड्को मारेको थियो ।

उनको कार्यकालमा २१ वटा पक्की पुल, १२ वटा झोलुङ्गे पुल, ५५ दशमलव २५ किमि सडक कालोपत्रे,४९ दशमलव २ किमी सडक ग्रावेल भएका थिए ।

साथै एक अर्ब २२ करोड राजश्व संकलन समेत भएको थियो । अमला बिसौनी-घामी-आलेवारी सडक, घार्मीखोला-अर्मलाकोट सडक, जुम्लेटी-हरिपाउँ सडकलगायतका अधिकांश ग्रामिण सडकको स्तरोन्नति तथा कालोपत्रे, ढलान गर्न खड्काको भूमिका रहेको बताइएको छ ।

पोखराको यातायात व्यवस्थामा समेत खड्काको कार्यकालमा सुधार आएको बताइएको छ । खड्काले पोखराका दुर्गम वडाको रुपमा परिभाषित भएका अधिकांश वडामा उनको कार्यकालमा भारी बजेट विनियोजन गरी विकासको नमुना प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ