arrow

चाडपर्वमा घुमौँ लुम्बिनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
Tourists-outside-Mayadevi-Temple-in-Lumbini.jpg
फाइल तस्बिर

लुम्बिनी । दशैँ, तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थल पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकले दशैँ तिहार, छठलगायतका पर्वमा बुद्ध शिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ । 

शान्ति, करुणा र सत्मार्गको प्रतीकका रूपमा बुद्धलाई विश्व समुदायले स्वीकार गरेको छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई तराईमा अहिले चर्को गर्मी सकिएर भरखरै शीतल मौसम भित्रिएको अवस्थामा लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त रहेको बताउँछन्। बुद्ध जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँको सङ्ख्यामा तीर्थालु, पर्यटक तथा अध्येताका लागि लुम्बिनी महत्त्वपूर्ण तीर्थस्थल हो ।

ईपू ६२३ मा यहाँको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म भएको थियो । यो महत्त्वपूर्ण पावनभूमि संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमीबीच विश्व शान्तिको मुहानका रूपमा प्रसिद्ध छ । बुद्ध धर्मप्रति आस्था राख्नेहरूका लागि बुद्ध जन्मस्थल यसै पनि पवित्र स्थल हो ।

भगवान् गौतम बुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर छ। लुम्बिनीमा मायादेवी मन्दिरलगायत, शान्तिदीप, विश्वशान्ति स्तूपलगायत दर्जन बढी गुम्बा र विहार घुम्नैपर्ने क्षेत्र हुन् ।

 

मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । र्चाँथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उनकी बहिनी प्रजापति र देवगण भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् । मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ ।

यस मन्दिरको अवलोकन गर्न र गौतमबुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटक लुम्बिनी भ्रमणमा आउने गर्छन् । मन्दिर परिसरमा उत्तर दिशातर्फ रहेको शान्तिदीप २४ घण्टा नै बलिरहन्छ । शान्तिदीप पानी पर्दासमेत ननिभ्ने हुँदा धेरैलाई अनौठो लाग्दछ ।

दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटक ढुंगा चढेर रमाउने गर्छन् । लुम्बिनी गुरुयोजनाअन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटरसम्म बनाइएको नहरमा ढुंगा चल्ने गर्दछ । 

जापानी प्राध्यापक केन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजनाले तीन वर्गमाइल क्षेत्र ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक एक वर्गमाइल क्षेत्र विभाजन गरी गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्रको निर्माण कार्य भइरहेको छ । गुरुयोजनाअनुसार तीन वटा क्षेत्र पवित्र उद्यान क्षेत्र, बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँको रूपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तूप बनाएका छन् ।

लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्यरुपमा आध्यात्मिक, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान् गौतम बुद्धका सन्देश प्रतिबिम्बित गर्नु हो ।

यस्तै बिहार क्षेत्रअन्तर्गत लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ वटा प्लट थेरवादीका लागि र पश्चिम क्षेत्रमा २९ वटा महायानी बौद्धमार्गीका लागि छुट्याइएका छन् ।

यस क्षेत्रमा विभिन्न देशका बौद्ध कला, संस्कृति झल्कने आकर्षक तथा कलात्मक बिहार निर्माण गरिएका छन् । लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तूपमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ ।

यस्तै गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रूपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकहरूका लागि यस क्षेत्रमा होटेल तथा रेस्टुरेन्टलगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन् । यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ ।

जापानको धार्मिक संगठनद्वारा स्थापित विश्व शान्ति स्तूप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा छन् । लुम्बिनी विश्वभरका लाखौँ मानिसको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्य रूपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रूपमा विकसित हुँदै गइरहेको छ ।

पर्यटकलाई राम्रोसँग गाइड गर्न सक्ने हो भने पर्यटकको बसाई अवधि समेत बढ्ने लुम्बिनी होटेल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् । लुम्बिनीसँगै सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष  बिताएको स्थान तिलौराकोट, देव दह र रामग्रामसमेत घुम्न सकिन्छ ।

तिलौराकोट : लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ ।

बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तिलौराकोट पुग्छन् । विश्व प्रसिद्ध ऐतिहासिक र पुरातात्त्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीबाट कपिलवस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट छ ।

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर बाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोटमा ई.पू. एघारौँ शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्त्विक भग्नावशेषका साथै प्राचीन दरवारको पूर्वी तथा पश्चिमी द्वार अवलोकन गर्न सकिन्छ । यहाँ पटक पटक विश्व प्रसिद्ध पुरातत्वविद्ले उत्खनन् गर्दा तीन हजार वर्षअघिका संरचना फेला परेका थिए ।

कुदान : कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एवं बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापति गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो ।

यहाँ पुरातात्त्विक एवं धार्मिक महत्वको यस स्थानमा हाल तीन वटा स्तूप, एक पोखरी र एउटा इनार छन् । बुद्धसँगै आएका तीन सय भिक्षुले यस बगैँचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिएको थियो भन्ने जनविश्वास छ । 

निग्लिहवा : कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर र तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ । यसलाई शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रूपमा लिइन्छ । यहाँ सम्राट् अशोकले ई.पू २४९ मा शिला निर्माण गरेका थिए । अहिले उक्त स्तम्भ ढलेको छ । 

गोटिहवा : क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात् पहिलो पटक बुबासँग भेट भएको पवित्र स्थलको रूपमा गोटिहवालाई लिइन्छ । इ.पू.को तेस्रो शताब्दीमा सम्राट् अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तूप निर्माण गरेका थिए । 

जगदीशपुर ताल : मानव निर्मित सबैभन्दा ठूलो जलाशय जगदीशपुर ताल हो । यो तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा रहेको छ । विश्व रामसार सूचीमा सूचीकृत यस तालमा एकै पटक हजारौँको सङ्ख्यामा विभिन्न जातका चराहरूको अवलोकन गर्न पाइन्छ । यसको नजिकै थारु बस्ती रहेको र परम्परागत जीवनशैली, थारु जातिको प्रयोग गर्ने भाँडाकुँडा र खानपान आकर्षण हुन् । 

देव दह : देवदह प्राचीन कोलीय राजधानी हो । यो बुद्ध जन्मस्थल लुम्बिनी देखि करिव ६७ किलोमिटर पूर्वमा छ । यस ठाउँमा शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छी आमा प्रजापति र श्रीमती यशोधराको माइती गाउँको रूपमा मानिन्छ । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय कान्छी आमाको साथमा यहाँ बिताएको मान्यता छ ।

बुद्धले आफ्नो ज्ञान प्राप्तिको सातौँ वर्षमा सहयोगीका साथमा देव दहको भ्रमण गरेको विभिन्न बौद्ध ग्रान्थमा लेखिएका छन् । यस क्षेत्रको भ्रमणबाट आध्यात्मिक पर्यटकका लागि भनानीपुर, कन्यामाई, बैरिमाइ मन्दिर तथा मायादेवी, प्रजापति र यशोधराको माइती क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ । प्राचीन कोलीय कालखण्डको पाकरी वृक्षको समेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ । 

रामग्राम : पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब तीन किलोमिटर दक्षिणबाट केही पूर्व झरही खोलाको किनारामा ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक रामग्राम स्तूप छ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तूप हो ।

सम्राट् अशोकले जम्बुदीपमा ८४ हजार स्तूप निर्माण गर्दा पनि रामग्रामको अस्तु लैजान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महत्त्व मानिन्छ । लुम्बिनी शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले अद्वितीय आध्यात्मिक तीर्थस्थल त हुँदै हो, यसको महत्त्व त्यतिमै सीमित हुँदैन ।

यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद्, वनस्पतिविद्, जीव शास्त्रीलाई पनि मोहनी लगाउँछ । लुम्बिनीमा करिव दुई सय ५० प्रजातिका चरा छन्, जसमध्ये सारसलगायतका कतिपय दुर्लभ प्रजाति पनि पर्दछन् । लुम्बिनीमा अजिंगर, नीलगाई जस्ता दुर्लभ जन्तु पाइन्छन् ।

लुम्बिनी सन् १९९७ देखि यो स्थत विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौँको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येता लुम्बिनीको भ्रमण गर्छन् । गत वर्ष सन् २०२३ मा आन्तरिक तथा बाह्य गरी १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । रासस



नयाँ