arrow

पोखरामा उत्पादित जेठोबूढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
jethobudho-dhan-kaski-rss.jpg

पोखरा । पोखरामा उत्पादन हुने कृषि उपज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने भएको छ । यसका लागि पोखरा महानगरपालिका र कम्पनीबीच खरिद सम्बन्धमा सम्झौता गरिएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना केसीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार कम्पनीले पोखराका कृषकले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबूढो खरिद समितिले तोकेको खरिद मूल्यमा खरिद गर्नेछ । यसका लागि महानगरले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकलाई कुपन उपलब्ध गराउनेछ ।

२०८२ असार मसान्तसम्मका लागि गरिएको यो सम्झौताअनुसार तत्काललाई स्थानीय रैथाने धान बाली जेठोबूढोको खरिद हुनेछ भने आवश्यकता अनुसार अन्य रैथाने उत्पादनको समेत खरिद गर्न सकिनेमा दुवै पक्ष सहमत छन् ।

कृषकले आफ्नो खेतमा उत्पादन भएको धान महानगरले तोकेको स्थान वा कम्पनीको बिरौटा र पृथ्वीचोकमा रहेको गोदामसम्म आँफैले ढुवानी गर्नुपर्नेछ । सम्झौताले कृषकको उत्पादनको बजारीकरण सुनिश्चित भएको नगर प्रमुख आचार्यले बताए ।

‘कृषकले उत्पादन गरेको धान बजारमा नबिक्ने हो कि भन्ने चिन्ताको यसले अन्त्य गरिदिएको छ’, महानगर प्रमुख आचार्यले भने, ‘महानगर क्षेत्रमा उत्पादित रैथाने धान बाली जेठोबूढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत देशभरिका नागरिकको चुलोमा पुग्ने अवस्था सुनिश्चित भएको छ ।’

यसअघि महानगरले जेठोबूढो धानलाई पोखराको पहिचानको रूपमा ब्राण्डिङ् गरी समर्थन मूल्यसमेत तोकेर बजारीकरण गरिसकेको थियो ।

जेठोबूढोसहित अन्य ३५ प्रकारका कृषि उपजको पनि समर्थन मूल्य तोकेर महानगरपालिकाले कृषकका लागि न्यूनतम् मुनाफासमेतको मूल्य सुनिश्चित गरेको छ ।

स्थानीय उत्पादन प्रवर्द्धन अभियानअन्तर्गत कृषि उपजको ब्राण्डिङ तथा बजारीकरण र रैथाने हाटबजार पनि सञ्चालन सञ्चालन गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताए ।

उनका अनुसार पोखरा महानगर क्षेत्रको करिब चार हजार हेक्टर क्षेत्रफलमा जेठोबूढो लगाइएको छ भने करिब १४ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

महानगरले तोकेको समर्थन मूल्यका आधारमा जेठोबूढो धान प्रतिक्विन्टल नाै हजार पाँच सय रुपैयाँ र नेपाल खाद्य संस्थानले भने ११ हजार रुपैयाँ प्रतिक्विन्टलमा खरिद गर्दै आइरहेको छ ।

जेठोबूढो धानको स्वाद नै अन्य धानको भन्दा धेरै स्वादिलो हुने, उत्पादनको समय अन्य धानको भन्दा तुलनात्मक बढी लाग्ने, धान उत्पादन आधा कम हुनेलगायतका कारणले उत्पादन लागत नै बढी पर्ने भएकाले यस प्रजातिको धानको मूल्य बढी पर्न गएको कडरियाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ